मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o असार १० आइतबार
  • Thursday, 19 December, 2024
२o८o असार १० आइतबार १२:५१:oo
Read Time : > 2 मिनेट
समाचार डिजिटल संस्करण

राक्सिराङले पालिकाभित्र बसाइँ आउनेलाई घर उपहार दिने

५७ करोड ८८ लाखको बजेट सार्वजनिक

Read Time : > 2 मिनेट
नयाँ पत्रिका
२o८o असार १० आइतबार १२:५१:oo

मकवानपुरको विकट राक्सिराङ गाउँपालिकाले पालिकाभित्र अन्यत्रबाट बसाइँ सरी आउनेलाई घर उपहार दिने भएको छ। शनिबार आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र अनुमानित बजेट सार्वजनिक गर्दै गाउँपालिकाको ‘सुन्दर समाज हाम्रो सार, बसाइँ सरी आउनेलाई घर उपहार’ कार्यक्रम घोषणा गरेको हो।

दुर्गम क्षेत्रबाट बसाइँ सरी सुगम र सहरी क्षेत्रमा जाने मानिसको संख्या बढेपछि त्यसलाई निरुत्साहित गर्न घर उपहार कार्यक्रम घोषणा गरिएको पालिकाका अध्यक्ष राजकुमार मल्लले बताए। ‘राक्सिराङ गाउँपालिका दुर्गम भएकाले बसाइँसराइ गरी सुगम ठाउँमा जाने क्रम बढ्न थालेपछि त्यसलाई रोक्न घर उपहार योजना ल्याएका हौँ,’ उनले भने।

अध्यक्ष मल्लले नीति तथा कार्यक्रम प्रस्तुत गर्दै दुर्गम वडाहरूमा विद्युतीकरण र काठेपोल विस्थापन कार्यलाई प्राथमिकता दिने बताए । यस्तै, सडक गुरुयोजना पुनरावलोकनमार्फत सडकको ‘राइट अफ वे’ निर्धारण गर्दै स्थानीय सडक सञ्चालन प्रणालीलाई व्यवस्थित र नियमित गरी विभिन्न रुटमा चल्ने सार्वजनिक सवारीसाधनको भाडा निर्धारण गर्न विशेष पहल गरिने भएको छ।

गाउँपालिकाको केन्द्रमा स्थापित आधारभूत अस्पताललाई सुविधासम्पन्न बनाई वडाहरूबाट अस्पतालसम्म निःशुल्क बससेवा सञ्चालन गरिने पनि योजना बनाइएको छ। स्थानीय रोजगार योजना तर्जुमा गरी बेरोजगार जनशक्तिको पहिचान, सीप विकास विधि र संस्थागत सुदृढीकरणका लागि काम थाल्ने नीति तथा कार्यक्रममा उल्लेख छ।

यसैगरी, समुदायमा आधारित समूहहरूको दिगो व्यवस्थापनमा ‘एक घर एक धारा’ कार्यक्रमलाई थप बस्तीहरूमा विस्तार गरिने नीति गाउँपालिकाको छ। पालिकाभित्रका बजारोन्मुख बस्तीहरू पलाँसे, चैनपुर, राक्सिराङ, अठारे, चौकीटार र सिलिंगेमा व्यवस्थित बस्ती विकास र नक्सापाससहितको पक्की भवन निर्माण गर्न सहरी विकास तथा एकीकृत बस्ती विकास मापदण्ड कार्यान्वयन गरिने नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ।

५७ करोड ८८ लाखको बजेट
गाउँपालिकाले आगामी आर्थिक वर्षका लागि ५७ करोड ८८ लाख ९७ हजार एक सय ९७ रुपैयाँको बजेट सार्वजनिक गरेको छ। चालू आवको तुलनामा आगामी आवको बजेट करिब १० करोड रुपैयाँले कम हो।

गाउँपालिका उपाध्यक्ष बनस्तम थिङले आगामी वर्षको आम्दानी र खर्चको अनुमान गाउँसभामा पेस गरेका हुन्। चालू वर्षमा ६६ करोड रुपैयाँको बजेट कार्यान्वयन गरिएको गाउँपालिकाले संघीय र प्रदेशबाट प्राप्त हुने अनुदानमा कटौती भएपछि आगामी वर्षको बजेट करिब १० करोडले घटाएको हो ।

गाउँपालिकाले आगामी आवमा पुँजीगततर्फ २४ करोड ५३ लाख ६५ हजार र चालूतर्फ ३५ करोड ४१ लाख ६० हजार रुपैयाँ छुट्याएको छ। गाउँपालिकाले सामाजिक विकासतर्फ २२ करोड ६७ लाख ७८ हजार रुपैयाँ विनियोजन गरेको छ।

शिक्षातर्फ १५ करोड ७२ लाख रुपैयाँ, सडक, पुल तथा झोलुंगे पुलका लागि चार करोड ९९ लाख रुपैयाँ, भवन तथा सहरी विकासतर्फ एक करोड ३० लाख र खानेपानीतर्फ एक करोड ६० लाख रुपैयाँ छुट्याइएको छ। स्वास्थ्यतर्फ चार करोड ७० लाख रुपैयाँ छुट्याएको गाउँपालिकाले कृषितर्फ एक करोड ७२ लाख रुपैयाँ विनियोजन गरेको छ। पूर्वाधार विकासतर्फ सात करोड ९० लाख रुपैयाँ खर्च गर्ने लक्ष्य राखिएको छ।

विपत् व्यवस्थापनतर्फ ४० लाख रुपैयाँ विनियोजन गरेको गाउँपालिकाले उद्योग, रोजगारी प्रवर्द्धन तथा गरिबी निवारणका लागि २५ लाख रुपैयाँ विनियोजन गरेको छ। सञ्चार तथा सूचनातर्फ ३३ लाख रुपैयाँ, महिला बालबालिका, ज्येष्ठ नागरिक, अपांगता भएका, दलित र पिछडिएका वर्गको उत्थान र प्रवर्द्धनात्मक कार्यक्रमका लागि २८ लाख रुपैयाँ छुट्याइएको छ।

खर्च व्यहोर्ने स्रोतमध्ये आन्तरिक स्रोतबाट पाँच करोड चार लाख ९५ हजार रुपैयाँ आम्दानी हुने अनुमान गरिएको छ। संघीय सरकारबाट जम्मा ४२ करोड ५९ लाख ७० हजार रुपैयाँ प्राप्त हुने अनुमान गरिएको छ भने प्रदेश सरकारबाट सात करोड ७९ लाख ३२ हजार रुपैयाँ प्राप्त हुने आकलन छ। स्थानीय राजस्व संकलनबाट दुई करोड ४५ लाख रुपैयाँ आम्दानी गर्ने गाउँपालिकाको लक्ष्य छ।