१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २१ शुक्रबार
  • Friday, 03 May, 2024
रमेश सुवेदी काठमाडाैं
२o८१ बैशाख २१ शुक्रबार o६:२२:oo
Read Time : > 3 मिनेट
ad
ad
खेलकुद प्रिन्ट संस्करण

सर्वाधिक गोलको कीर्तिमाननजिक अञ्जन

राष्ट्रिय टोलीमा डेब्यु गरेको ९ वर्षपछि ९ खेलमा १२ गोल गर्दै अञ्जन विष्ट नेपाली फुटबलमा नीराजन रायमाझी र हरि खड्काको नाममा रहेको सर्वाधिक १३ अन्तर्राष्ट्रिय गोलको कीर्तिमाननजिक पुगेका छन्

Read Time : > 3 मिनेट
रमेश सुवेदी, काठमाडाैं
नयाँ पत्रिका
२o८१ बैशाख २१ शुक्रबार o६:२२:oo

नीराजन रायमाझी र हरि खड्काले संयुक्त रूपमा नेपाली राष्ट्रिय फुटबल टोलीबाट सर्वाधिक १३ अन्तर्राष्ट्रिय गोल गरेका छन् । नीराजन र हरिले कीर्तिमान राखेका लगभग डेढ दशक भइसकेको छ । अहिले अञ्जन विष्ट यी दुवै खेलाडीको रेकर्ड बराबरी गर्न निकै नजिक पुगेका छन् । १४औँ दक्षिण एसियाली (साफ) च्याम्पियनसिपमा कुवेतविरुद्ध एक गोल गरेसँगै अञ्जन हरि र नीराजनको कीर्तिमाननजिक पुगेका हुन् । अञ्जनको नाममा अहिले १२ अन्तर्राष्ट्रिय गोल पुगेको छ । 

अञ्जन आफ्नो ५४औँ अन्तर्राष्ट्रिय खेलमा कीर्तिमाननजिक पुगेका हुन् । कुनै समय जुमानु राई, भरत खवास र अनिल गुरुङ सर्वाधिक गोलको दौडमा उभिएका थिए । तर, चोट र राष्ट्रिय टोलीमा पर्न नसक्दा हरि र नीराजनको रेकर्ड यथावत् नै रहिरह्यो । अहिले अञ्जनले हरि र नीराजनको रेकर्ड बराबरी मात्र होइन, तोड्न पनि सक्ने अवस्थामा पुगेका छन् । यसपटक साफ च्याम्पियनसिपमा कुवेत आमन्त्रित टोलीका रूपमा पहिलोपटक प्रतिस्पर्धा गर्न आएको हो ।

पहिलोपटकको सहभागितामै कुवेतले साफको साबिक उपविजेता नेपाललाई ३–१ ले पराजित गर्न सफल भयो । हारसँगै नेपालको सेमिफाइनल समीकरण कमजोर बनेको छ । खेलको ६९औँ मिनेटमा अञ्जनले कुवेतविरुद्ध एक गोल फर्काएका हुन् । ५०औँ क्याप जितेका अनन्त तामाङको लामो क्रस कुवेतको रक्षकले क्लियर गर्न सकेनन् । अञ्जनले विपक्षी खेलाडीको गल्तीमा बक्सभित्रबाट सानदार गोल गर्दै एक दुर्लभ कीर्तिमानको बराबरीतर्फ अग्रसर भए । 

२५ वर्षीय युवा अट्याकर अञ्जनको गोलले नेपाली फुटबलकै पुरानो कीर्तिमान भेट्टाउने खेलाडीका रूपमा हेरिएको छ । अब नेपालले शनिबार भारत र मंगलबार पाकिस्तानसँग खेल्नेछ । दुई खेलमा एक मात्रै गोल गर्दा अञ्जनले खड्का र रायमाझीको कीर्तिमान बराबरी गर्नेछन् । यसमा थप एक गोल हुँदा अञ्जन नेपाली फुटबलकै सर्वाधिक अन्तर्राष्ट्रिय गोलकर्ता बन्नेछन् । खेलपछि अञ्जनले कुवेतविरुद्ध चाहेजस्तो खेल नभएको र आगामी खेलमा जितको प्रयास गर्ने बताएका छन् । ‘कुवेतविरुद्ध हामीले चाहेजस्तो भएन । हामीले जितका लागि खेल्न खोज्यौँ । निराश छौँ,’ अञ्जनले भने, ‘आगामी खेलमा जितका लागि प्रयास गर्छौं ।’ 

 ९ खेलमा १२ गोल
०७१ साल १४ कात्तिकमा अञ्जनले अन्तर्राष्ट्रिय फुटबलबाट डेब्यु गरेका थिए । प्रशिक्षक ज्याक स्टेफानोस्कीले फिलिपिन्सविरुद्ध अञ्जनलाई सन्दीप राईको स्थानमा ६१औँ मिनेटमा मैदान पठाएका थिए । कतारको दोहामा भएको मैत्रीपूर्ण खेलमा नेपालको त्यो एक सय ७२औँ खेल थियो । नेपाल फिलिपिन्ससँग ३–० ले पराजित भयो । डेब्युपछिका पाँच वर्ष अञ्जन अन्तर्राष्ट्रिय फुटबलमा गोलविहीन भए । उनले २८ खेलमा गोल गर्न सकेनन् ।

२४ भदौ ०७६ मा अञ्जनले चाइनिज ताइपेईविरुद्ध पहिलो अन्तर्राष्ट्रिय गोल गरे । उनले ताइपेईविरुद्ध आफ्नो पहिलो अन्तर्राष्ट्रिय गोल चौथो मिनेटमा गरे । योहान कालिनको प्रशिक्षणमा विश्वकप छनोटको सोही खेलको ६२औँ मिनेटमा दोस्रो गोल गर्दै अञ्जनले नेपाललाई २–० को जित दिलाएका हुन् ।

खेल अञ्जनका लागि २९औँ क्याप थियो । तेस्रो गोल गर्न अञ्जनलाई थप दुई वर्ष कुर्नुपर्‍यो । अब्दुल्लाह अल्मुताइरीको प्रशिक्षणमा नेपालले १५ जेठ ०७८ मा इराकविरुद्ध मैत्रीपूर्ण खेल खेल्यो । अञ्जनले आठौँ मिनेटमा गोल गर्दै आफ्नो अन्तर्राष्ट्रिय गोल संख्या तीन पुर्‍याए । यस खेलमा नेपाल ६–२ ले पराजित भयो । विश्वकप छनोटमै ताइपेईविरुद्ध अञ्जनले अर्काे गोल गरे । तीन महिनापछि भारतविरुद्ध दशरथ रंगशालामा एक गोल गर्दा अञ्जनले पाँचौँ गोल पूरा गरे । माल्दिभ्समा अघिल्लो साफमा उनले दुई गोल गरे । श्रीलंकाविरुद्धको ३–२ को जित र बंगलादेशलाई १–१ गोलको बराबरीमा रोक्दै फाइनल पुग्दा गोल गरेका हुन् । 

प्रशिक्षक अल्मुताइरीको कारबाहीमा अञ्जनसहित १० खेलाडी टोलीबाहिर भए । यसक्रममा नेपाली सिनियर खेलाडीले कारबाहीका कारण ६ खेल खेल्न पाएनन् । अब्दुल्लाह कुवेतमै रहँदा प्रदीप हुमागाईं नेपालको कार्यवाहक प्रशिक्षक बने । नेपालले दशरथ रंगशालामा बंगलादेशविरुद्ध मैत्रीपूर्ण खेल खेल्यो । ०७९ असोजमा नेपालले ३–१ को जित निकाल्दा अञ्जनले ह्याट्रिक गरे । पहिलो हाफमै बंगलादेशविरुद्ध अञ्जनले ह्याट्रिक पूरा गरे । नेपालको यो दुई सय २८औँ अन्तर्राष्ट्रिय खेल थियो । 

अञ्जन ह्याट्रिक गर्ने नेपालको छैटौँ खेलाडी हुन् । पूर्वकप्तान गणेश थापा, नरेश जोशी, नीराजन रायमाझी, भरत खवास र नवयुग श्रेष्ठले नेपालका लागि ह्याट्रिक गरेका छन् । बंगलादेशविरुद्धको खेलसँगै अञ्जनले आफ्नो अन्तर्राष्ट्रिय गोल संख्या १० पुर्‍याए । ०७९ कात्तिकमा पाकिस्तानविरुद्ध १–० को जितमा अञ्जनले निर्णायक गोल गरे । भारतको बेंग्लोरस्थित  श्री कांतिराव रंगशालामा अञ्जनले १२औँ अन्तर्राष्ट्रिय गोल पुर्‍याएका हुन् । 

 कुवेतविरुद्ध निरीह नेपाल
नेपाल कुवेतसँग नवौँपटक पराजित भएको छ । नेपाल कुवेतसँग ९ खेलसम्म जितविहीन छ । कुवेतविरुद्धको पहिलो हाफमा नेपाल खुलेर खेल्नै सकेन । दोस्रो हाफमा आयुष घलान, नवीन लामा, आशिष चौधरी मैदान प्रवेशपछि नेपाल सम्हालिएको थियो । पहिलो हाफमा नेपालले कुनै राम्रो मुभ बनाउन सकेन ।

कुवेतले ११ जुन २०२२ मा नेपालविरुद्ध खेलेका आठ खेलाडीलाई भारत भ्रमणमा ल्याएको छ । दोस्रो हाफमा एक गोलसहित दुई मौका बनाएको थियो । ‘पहिलो हाफमा हामीले सोचजस्तो खेल्न सकेनौँ । कर्नरमा गोल बेहोर्न पुग्यौँ,’ नेपाली टोलीका प्रशिक्षक भिसेन्जो अल्बेर्टाे एनेसले खेलपछि भने, ‘दोस्रो हाफमा खेलाडी परिवर्तनसँगै राम्रो भयो । गोल पनि निस्कियो । तर, अंक जोड्न सफल भएनौँ ।’ 

खेलको २३औँ मिनेटमा कुवेतले १–० को अग्रता लिएको थियो । कर्नरमा आएको बललाई नेपालका कप्तान किरणकुमार लिम्बू र रक्षक विमल पाण्डेले फुत्काएपछि डिबक्सभित्र अनमार्कमा रहेका कुवेतका कप्तान खालिद हाजिहले सहजै हेडिङ गोल गरे । खेलको ४२औँ मिनेटमा साबाइब अलखाल्दीले पेनाल्टी क्षेत्रबाट कुवेतलाई २–० को स्थितिमा राखे । मोहम्मद अब्दुल्लाहको काउन्टर पासमा अलखाल्दीले अनन्त तामाङ, विमल पाण्डे, रोहित चन्द र गोलरक्षक किरणलाई बिट गर्दै गोल गरे । खेलको ६५औँ मिनेटमा मोहम्मद अब्दुल्लाहले पेनाल्टीमा गोल गरे । 

रक्षक अनन्त तामाङले बक्सभित्र हातले बल छोएपछि कुवेतले पेनाल्टी अवसर पाएको थियो । खेलको ५६औँ मिनेटमा नेपाल गोलनजिक रह्यो । अञ्जनले गरेको क्रसलाई बक्सभित्रबाट अनमार्क रहेका सनिस श्रेष्ठले गोल गर्न चुके । सनिलको हेडिङ दोस्रो बारनजिकबाटै बाहिरिएको थियो । 

 

ad
ad