१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २१ शुक्रबार
  • Friday, 03 May, 2024
छांगरूमा सीमास्तम्भमा राखिएको चुच्चे नक्सा र भारतले अतिक्रमण गरेर गुञ्जी नावीमा राखेका सुरक्षा पोष्ट। तस्बिर : नरेन्द्रसिंह कार्की/नयाँ पत्रिका
२o८१ बैशाख २१ शुक्रबार १२:३२:oo
Read Time : > 2 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

‘चुच्चे’ नक्साले थपेकाे भूगोल खोज्दै व्याँस  

Read Time : > 2 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २१ शुक्रबार १२:३२:oo

७ जेठ ०७७ मा नेपाल सरकारले भारतद्वारा अतिक्रमित गरिएको लिपुलेक, लिम्पियाधुरा र कालापानीसहितको भूगोल समेटेर राजनीतिक तथा प्रशासनिक नक्सा जारी गर्‍यो। तर, अझै पनि व्याँसको गाउँपालिकाको भूगोलको चार किल्ला प्रमाणित भएको छैन।

स्थानीय सरकारले अहिलेसम्म आफ्नो जिरो प्वाइन्ट भूगोल कहाँबाट हो भनेर जानकारी नपाएपछि चार किल्लासहितको प्रमाणित नक्सा खोज्ने भएको छ। 

भारत र चीनसँग सीमा जोडिएको दार्चुलाको व्याँस गाउँपालिका सामरिक महत्व बोकेको क्षेत्र हो। तीन सय ३५ वर्गकिलोमिटर भूभाग समेटेर नयाँ ‘चुच्चे’ नक्सा जारी गरिएको भनिए पनि वास्तविक प्वाइन्ट कता हो भन्ने यकिन भएको छैन।

‘व्याँसको भूगोल बढेको भनिन्छ,’ गाउँपालिका प्रवक्ता उपेन्द्रसिंह धामीले भने, ‘तर, कति जमिन बढेको हो भन्ने हामीलाई अहिलेसम्म जानकारी छैन। पालिकाको वास्तविक भूगोलबारे जानकारी नहुँदा नेपाल सरकारसँग चार किल्लासहितको भौगोलिक सिमाना छुट्याउन माग गर्छौँ।’ 

२०औँ गाउँकार्यपालिका बैठक व्याँस गाउँपालिका– १ को तिंकरमा पहिलोपटक बसेको थियो। अहिलेसम्म सबै जनप्रतिनिधि, राजनीतिक दलका नेता नपुगेको तिंकरमा पहिलोपटक ऐतिहासिक कार्यपालिका बैठक बसेको हो। 

‘बैठकले आफ्नो भूगोलबारे जानकारी माग गर्ने निर्णयसमेत गर्‍यो,’ वडा नम्बर ३ का वडाध्यक्षसमेत रहेका प्रवक्ता धामीले भने, ‘भूगोलबारे जानकारी भए विकास गर्न हामीलाई पनि सहज हुन्छ।’

सरकारले नेपालको नयाँ राजनीतिक तथा प्रशासनिक नक्सा बाहिर ल्याए पनि वास्तविक सीमाक्षेत्र कति हो भन्ने जानकारी दिएको छैन। भारत ६० वर्षयता कालापानीलगायतको क्षेत्रमा अतिक्रमण गरेर बसेको छ।

सरकारले जारी गरेको ‘चुच्चे’ नक्सामा उत्तर–पश्चिम छेउको नाबी, कुटी, गुञ्जी नेपालको दार्चुला जिल्ला व्याँस गाउँपालिका– १ मा पर्छ। ०१५ सालमा भएको नेपालको पहिलो आमनिर्वाचनमा मतदान गरेका र ०१८ सालको राष्ट्रिय जनगणनामा समेटिएका नाबी, कुटी र गुञ्जीवासीले ०३५ सालमा दार्चुला जिल्ला मालपोत कार्यालयमा जग्गाको तिरो तिरेका रसिदहरू भेटिएका छन्। 

सुगौली सन्धि (सन् १८१६) अनुसार लिम्पियाधुरा मुहान भएको कालीनदी (महाकाली) पूर्वका सबै भूभाग नेपालको हो। तर, यो क्षेत्रमा भारतले पूरै भूमिमा सैन्य अखडा बनाएको छ। भारतले चीनसँग सीमा जोड्ने गरी दुई लेन सडक विस्तार गरिरहेको छ। 

तिंकर गाउँलाई अलग्गै वडा बनाउन माग

सदरमुकाम खलंगाबाट २८ कोस उत्तरमा रहेको व्याँस गाउँपालिका– १ को तिंकर गाउँपालाई अलग्गै वडा बनाउनुपर्ने माग उठेको छ  अहिले कायम रहेको छाँगरु र तिंकरमध्ये तिंकर गाउँ अलग्गै वडा बनाउनुपर्ने माग उठेको हो। 

छाँगरुबाट १२ किलोमिटर टाढा तिंकर पर्छ। चीनको सीमा नजिकरहेको तिंकर गाउँ भौगोलिक विकटता रहेको भन्दै अलग्गै वडा बनाउन पालिकासँग माग आएको गाउँपालिका प्रवक्ता उपेन्द्रसिंह धामीले बताए। 

तिंकर नाका खुलाउन माग

कोभिड सुरु भएयता बन्द रहेको तिंकर नाका खुलाउन व्याँस गाउँपालिले आग्रह गरेको छ। तिंकर नाका बन्द हुँदा चीनसँग हुने व्यापार ठप्प रहेको भन्दै नाका खुलाउन गाउँपालिकाले आग्रह गरेको हो।

छाँगरु र तिंकरका मात्रै दर्जनौँ व्यापारीले चीनसँगको व्यापार गर्न पाएका छैनन् । तिंकर नाका बन्द हुँदा रोजी–रोटी गुम्न लागेको भन्दै नाका खुलाउन स्थानीय सरकारले माग अघि सारेको छ। 

चीनसँग जोडिएको अन्य सीमानाका खुला हुँदा दार्चुलाको व्यासको तिंकर नाका मात्रै सञ्चालनमा आउन सकेको छैन। चीनसँग हुने परम्परागत व्यापार ठप्प भएको नाका खुलाउन पहल भइरहेको व्याँस गाउँपालिका– १ का वडाध्यक्ष अशोकसिंह बोहराले बताए। 

यसअघि नाका सुचारु गर्न प्रधानमन्त्री, परराष्ट्रमन्त्री, नेपालस्थित चिनियाँ राजदूतलाई भेटेरसमेत नाका खुलाउन आग्रह गरिएको छ। तैपनि अहिलेसम्म नाका सञ्चालन हुन नसकेपछि कार्यपालिका बैठकले पुनः सरकारसँग आग्रह गर्ने निर्णय गरेको बोहराले बताए।

बिओपी थप्न आग्रह

भारतसँग सीमा जोडिएको व्याँस गाउँपालिका– १ को कौवा र बुदीमा सशस्त्र प्रहरीको बोर्डर आउट पोस्ट (बिओपी) राख्न व्याँस गाउँपालिकाले आग्रह गरेको छ। 

व्याँस गाउँपालिका– १ छाँगरुको गागामा सशस्त्र प्रहरीको गुल्म छ। तर, गागाभन्दा माथि कौवा र बुदीमा पनि सशस्त्र प्रहरी राख्नु अनिवार्य रहेको वडाध्यक्ष अशोक बोहरा बताउँछन्।
 
यस्तै, तिंकरमा पनि सशस्त्र प्रहरीको बिओपी सञ्चालन गर्न स्थानीयले माग गरेका छन्। एक वर्षअघि नै भवन निर्माण भए पनि सशस्त्र तिंकरको छियालेक सरेको छैन।


 

ad
ad