मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
२०८० जेठ २५ बिहीबार ०६:२२:००
Read Time : > 2 मिनेट
अर्थ प्रिन्ट संस्करण

पोखरा विमानस्थलमा अन्तर्राष्ट्रिय उडान हुँदै

६ असारमा चीनबाट दुईवटा चार्टर विमानमा खेलाडीसहित तीन सय पर्यटक आउने

Read Time : > 2 मिनेट
२०८० जेठ २५ बिहीबार ०६:२२:००

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल (पिआइए)मा ६ असारमा पहिलो अन्तर्राष्ट्रिय उडान हुने भएको छ । चीनबाट दुईवटा चार्टर विमान पोखरामा अवतरण गर्ने तय भइसकेको विमानस्थल प्रमुख विक्रम गौतमले बताए ।विमानस्थल सञ्चालनमा आएको १७१औँ दिनमा अन्तर्राष्ट्रिय चार्टर उडान हुन लागेको हो ।

१७ माघ ०७९ मा प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ले विमानस्थल उद्घाटन गरेका थिए । विमानस्थलमा ११ फागुनदेखि इन्स्ट्रुमेन्ट फ्लाइट रुल (आइएफआर) प्रणाली सञ्चालनमा आएपछि अन्तर्राष्ट्रिय उडानका लागि बाटो खुला भएको थियो । आधुनिक प्रविधिको सहायताले जहाज उडान–अवतरण गर्न मिल्ने आइएफआर प्रणाली लागू भएपछि १८ फागुनदेखि रात्रीकालिन आन्तरिक उडान–अवतरण हुँदै आइरहेको छ । तर, नियमित अन्तर्राष्ट्रिय उडानहरू सुरु हुने कुनै अत्तोपत्तो छैन ।

‘चीनबाट दुईवटा चार्टर विमान पोखरा आउने पक्कापक्की भइसकेको छ’ विमानस्थल प्रमुख गौतमले भने, ‘अन्तर्राष्ट्रिय अपरेटरले आवश्यक तयारी र छलफल गरिरहेको छ ।’ चीनबाट दुईवटा विमान आउने पक्का भए पनि कुन एयरलाइन्सको भन्ने यकिन भइनसकेको उनले बताए । चार्टर विमानबाट खेलाडी, पर्यटक र दर्शक गरी तीन सयजना पोखरा उत्रिनेछन् । ८ र ९ असारमा पोखराको फेवातालमा हुने ‘नेपाल चाइना ड्र्यागन बोट रेस फेस्टिभल–२०२३’ मा सहभागी हुने खेलाडीसँगै पर्यटक दुई विमान चार्टर गरी चीनबाट सीधै पोखरा आउन लागेका हुन् । बोट रेससँगै फेस्टिभलमा अन्य मनोरञ्जनात्मक कार्यक्रमसमेत हुने बताइएको छ ।

पोखरा महानगर, पर्यटन बोर्ड, नेपालस्थित चिनियाँ दूतावासको संयुक्त आयोजनासँगै पोखरा पर्यटन परिषद् र चाइना ओभरसिज एसोसिएसन नेपालको सहआयोजनामा हुने फेस्टिभल सहभागी चिनियाँहरू आउन लागेका हुन् । 

यसअघि काठमाडौंबाट बनारसमा अन्तर्राष्ट्रिय उडान गरिरहेको बुद्ध एयरले पोखराबाट पनि उडान गर्ने योजना बनाएको थियो । विमानस्थल उद्घाटनकै दिन पोखरा–बनारस पहिलो उडान गर्ने बुद्धको तयारी थियो । बुद्धले पोखरा सातामा तीन दिन आइतबार, मंगलबार र बिहीबार पोखरा–बनारस उडान गर्ने तालिकासमेत बनाएको थियो । तर, भारतीय उड्डयन क्षेत्रको नियामकले अनुमति नदिँदा बुद्धले पोखराबाट बनारस उडान गर्न पाएन । यस्तै, बुद्धले भविष्यमै पोखरा–दिल्ली दैनिक र देहरादुन सातामा तीन दिन उडान गर्ने पनि तयारी गरेको थियो ।

पोखरा विमानस्थल चिनियाँ एक्स्पोर्ट–इम्पोर्ट बैंकबाट करिब २८ अर्ब रुपैयाँ ऋण लिएर निर्माण गरिएको हो । चिनियाँ ऋण लगानीमा निर्माण गरिएकै कारण भारतले पोखराबाट अन्तर्राष्ट्रिय उडानको स्वीकृति नदिएको विज्ञको बुझाइ छ । भारतले भैरहवाको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल (जिबिआइए)बाट पनि आफ्ना सहरमा उडान अनुमति दिएको छैन । नेपाल वायुसेवा निगम (नेवानि)ले भैरहवाबाट दिल्ली उडान गर्न प्रस्ताव गरे पनि कुनै प्रतिक्रिया नआएको बताइएको छ । भैरहवा विमानस्थल एसियाली विकास बैंक (एडिबी)को ऋण लगानीमा चिनियाँ ठेकेदार कम्पनीले निर्माण गरेको हो ।

पोखरा अरू अन्तर्राष्ट्रिय वायुसेवाले पनि उडानमा चासो देखाएका छैनन् । नयाँ विमानस्थलमा अन्तर्राष्ट्रिय वायुसेवा आकर्षित गर्न भनेर नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले पोखरा र भैरहवामा उडान गर्ने अन्तर्राष्ट्रिय वायुसेवालाई ल्यान्डिङ, पार्किङ, नेभिगेसन र सुरक्षा शुल्कमा शतप्रतिशत छुट दिएको छ भने निगमले ग्राउन्ड ह्यान्डलिङ ५० प्रतिशत छुट दिएको छ । 

गण्डकी क्षेत्र भारतीय र चिनियाँ पर्यटकको रोजाइको गन्तव्य हो । पोखराबाट भारत र चीनका विभिन्न सहरमा उडान गर्न सके पर्यटक आउने सम्भावना छ । भारतका विभिन्न सहरबाट धार्मिक एवं मनोरञ्जनका लागि थुप्रै भारतीय आउन सक्छन् । भारतले चिनियाँ लगानीमा बनेको एयरपोर्ट भन्दै उडान अनुमति दिएको छैन । जबकि, पोखरा विमानस्थल निर्माणका लागि लिइएको ऋणको २ प्रतिशतका दरले ब्याज बुझाउनुपर्ने सर्त छ । र, किस्ता बुझाउनसमेत सुरु भइसकेको छ । उता चीनले पनि पोखराबाट आफ्नो देशका सहरमा उडान गर्न चासो दिएको देखिँदैन ।

दुई करोड ४० लाखका आठवटा बोट पोखरामा  
फेस्टिभलका लागि चीनबाट आठबटा ड्र्यागन बोट पोखरा ल्याइसकेको छ । सहआयोजक परिषद्का अध्यक्ष पोमनारायण श्रेष्ठका अनुसार चाइना दूतावासको सहयोगमा आएका आठ बोटलाई करिब दुई करोड ४० लाख पर्ने जानकारी दिए । श्रेष्ठले भने ‘एउटा बोट चीनबाट पोखरा ल्याई पुर्‍याउँदा करिब ३० लाख पर्नेरहेछ ।’ चीनबाट आएका बोटको फेवातालमा बुधबार परीक्षणसमेत गरिएको र परीक्षण सफल भएको उनले जानकारी दिए । 

फेस्टिभलमा फेवातालमा पाँच सय र एक हजार मिटरका बोट रेस हुनेछन् । रेशमा चीनका चार र नेपाली चार गरी आठ टोलीले प्रतिस्पर्धा गर्ने र एउटा टोलीमा १२ जना खेलाडी रहनेछन् । कार्यक्रम सम्पन्न गर्न दुई करोड ५० लाख खर्च हुने र सो खर्च आयोजक र सहआयोजकले जुटाउने भएका हुन् । 

नेपालमै पहिलोपटक पोखरामा यस्तो फेस्टिभल हुन लागेको हो । पहिलो अनुभव हेरेर अर्को वर्षदेखि एसियन फेस्टिभल गर्ने तयारी आयोजकको छ । फेस्टिभलपछि बोटको जिम्मा र संरक्षण पोखरा महानगरपालिकाले गर्ने भएको छ । अर्को वर्ष हुने प्रतियोगिताका तीनै बोट प्रयोग गरिनेछ ।