मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o८o जेठ २३ मंगलबार
  • Thursday, 13 August, 2026
रमेश रावल सुर्खेत
२o८o जेठ २३ मंगलबार १९:५६:oo
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

कांग्रेस युवा नेता भन्छन्- सभापति देउवाकै कारण पार्टी संकटमा पर्‍यो

Read Time : > 1 मिनेट
रमेश रावल, सुर्खेत
नयाँ पत्रिका
२o८o जेठ २३ मंगलबार १९:५६:oo

कांग्रेसका युवा नेताहरूले पार्टी सभापति देउवाकै कारण नेपाली कांग्रेस पार्टीको भविष्य संकटमा परेको बताएका छन्। 

कांग्रेस रूपान्तरण अभियानले सुर्खेतमा आयोजना गरेको कार्यक्रममा युवा नेताहरूले कांग्रेसमा देउवाका कारणले संकट पैदा भएको बताएका हुन्।
कांग्रेस कमजोर हुनुमा नेतृत्व दोषी रहेको कार्यक्रममा कांग्रेस रूपान्तरण अभियानका अभियन्ता एवं युवा नेता जगदीश्वरनरसिंह केसीले बताए। 

‘कांग्रेस सभापति देउवाकै भूमिका गलत भएकाले पार्टी दिन प्रतिदिन अलोकप्रिय बन्दै गएको छ,’ उनले भने, ‘जसको परिमाण ०७४ सालमा पार्टीले प्राप्त गरेको समानुपातिक मतभन्दा ०७९ सालको निर्वाचनमा समानुपातिक मत घट्यो। यसको मुख्य दोष पार्टी सभापति र उनले टिकट दिएर उम्मेदवार बनेका अनुहारहरू हुन्।’ 

रूपान्तरण अभियान गुटरहित अभियान भएको केसीले बताए। ‘कांग्रेस पुरानो ढर्राले चल्दैन। त्यसका लागि गुटरहित अभियान हो,’ उनले भने, ‘कांग्रेसजनलाई उत्साहित बनाउने रूपान्तरण अभियान हो।’ 

कांग्रेस रूपान्तरण अभियानले पार्टीभित्रको फोहोर बढारिने कांग्रेसका अर्का युवा नेता गुरुराज घिमिरेले बताए। ‘पार्टीमा विधिभन्दा व्यक्ति हावी हुँदा समस्या आएको छ। कांग्रेस कांग्रेसजस्तो छैन। विधिभन्दा व्यक्ति प्रधान भएको छ,’ उनले भने। 

सभापतिले जे गरे पनि टुलुटुल हेर्न नसकेर रूपान्तरणको अभियानमा लागेकाे घिमिरेले बताए। ‘पार्टी रूपान्तरण गरेरै छोड्छौँ। यो हाम्रो संकल्प हो। पार्टीका भ्रातृ संस्थामा एकजना मात्र मनोनीत गरेर सभापति देउवाले तदर्थवादलाई बल पुर्‍याएको छ,’ उनले भने, ‘कांग्रेसमा कार्यकर्ताभन्दा नेताहरू नै रूपान्तरण हुनुपर्छ।’

कांग्रेसलाई सशक्त, लोकप्रिय र गतिशील पार्टी बनाउन यो अभियान थालिएको कांग्रेस रूपान्तरण अभियानका कर्णाली प्रदेश संयोजक एवं युवा नेता भूपेन्द्रजंग शाहीले बताए। 

उनले पार्टीमा बढ्दै गएको अराजकता, पक्षपात, नातावाद, धनवाद र डनवादको अन्त्य हुनुपर्ने बताए। ‘यो कसैलाई कमजोर बनाउने र कसैको जयजयकार गर्ने तथा निश्चित समूहको स्वार्थ र हितमा काम गर्ने अभियान होइन,’ उनले भने, ‘सिंगो पार्टीलाई बलियो बनाउने र पार्टीकै हितमा प्रारम्भ गरिएको अभियान हो।’