मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
श्रवण थापा सर्लाही
२०८० जेठ २२ सोमबार १७:२८:००
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

स्वयंसेवक शिक्षक भर्नामा जनप्रतिनिधिकै अवरोध, पठनपाठन प्रभावित

Read Time : > 1 मिनेट
श्रवण थापा, सर्लाही
२०८० जेठ २२ सोमबार १७:२८:००

सर्लाहीको चन्द्रनगर गाउँपालिकामा स्वयंसेवक शिक्षक तथा कर्मचारी भर्नाको विषयमा विवाद भएको छ। गाउँपालिकाले कार्यपालिका बैठकमार्फत स्वयंसेवक शिक्षक व्यवस्थापन कार्यविधि पारित गरेर भर्ना प्रक्रिया सुरु गरे पनि केही जनप्रतिनिधिहरूले नै अवरोध गरेका हुन्।

विवादका कारण शिक्षक भर्ना नहुँदा पठनपाठन प्रभावित भएको छ। पालिका क्षेत्रमा सञ्चालित सामुदायिक विद्यालयहरूको शैक्षिक गुणस्तर लगातार खस्कँदो अवस्थामा रहेकाले स्वयंसेवक शिक्षक व्यवस्थापनको कार्यविधि पारित गरिएको थियो।

गाउँपालिकाभित्रका विद्यालयको लागि आवश्यक शिक्षक भर्ना प्रक्रिया अन्तिम चरणमा पुगेको अवस्थामा पालिकाकी उपाध्यक्ष गीतादेवी महतो नेतृत्वका कार्यपालिका सदस्यहरूले काम गर्न नदिएको पालिका अध्यक्ष राजकुमार महतोले बताए।

उपाध्यक्ष महतोको नेतृत्वमा वडा नम्बर ३ का अध्यक्ष सीताराम महतो, वडा नम्बर ६ का अध्यक्ष रामस्वरुप राउत, वडा नम्बर ५ का अध्यक्ष सूर्यवंश राय, वडा नम्बर ७ का अध्यक्ष दीपेन्द्र चौधरी, वडा नम्बर ४ का अध्यक्ष राजीवसिंह दनुवार र कार्यपालिका सदस्यहरू गरी १२ जनाले  निवेदन नै लेखेर स्वयंसेवक शिक्षक भर्ना रोक्न चेतावनी दिएका छन्।

योसँगै स्वयंसेवक शिक्षक भर्ना अन्योलमा परेको छ। यस शैक्षिक सत्रमा चन्द्रनगर गाउँपालिका कार्यलयले ४४ जना स्वयंसेवक शिक्षक भर्ना गर्ने तयारी गरेको थियो। पालिकाका १२ जना कार्यपालिका सदस्यहरूले एक्कासि भर्ना प्रक्रिया रोकेपछि  समस्या भएको पालिका कार्यालयले जनाएको छ। 

शिक्षक भर्ना प्रक्रिया निष्पक्ष गर्न खोज्दा उपाध्यक्षसहित १२ जना कार्यपालिका सदस्य बहुमतको दम्भमा लागेको गाउँपालिका अध्यक्ष महतोको आरोप छ। शैक्षिक क्षेत्रमा भएको समस्या समाधानमा सहयोगको सट्टा अवरोध गर्नु दुःखद भएको उनी बताउँछन्। स्वयंसेवक शिक्षक भर्नामा भागबन्डालाई लिएर विवाद तथा आर्थिक चलखेलको प्रयास भएको उनको आरोप छ। कार्यपालिका सदस्यहरूले प्रस्ताव गरेको शिक्षक भर्ना भागबन्डा प्रस्ताव अस्वीकार गरेपछि असहयोग गरेको अध्यक्ष महतोको दाबी छ। ‘कार्यपालिका बैठकमा स्वयंसेवक शिक्षक व्यवस्थापन कार्यविधि २०७९ पास गरेका तिनै कार्यपालिका सदस्य भर्ना प्रक्रियाविरुद्ध लागे,’ उनले भने।

यता, पालिका उपाध्यक्ष महतोले अघिल्लो शैक्षिक सत्र अन्त्य भएकाले स्वयंसेवक शिक्षक भर्ना रोकेको स्वीकार गरिन्। नयाँ शैक्षिक सत्रको लागि भर्नामा आफ्नो कुनै अवरोध नरहेको उनको भनाइ छ। यस पालिकामा २२ वटा विद्यालय र ६ वटा मदरसा सञ्चालनमा छन्। प्रायः सबै शैक्षिक संस्था शिक्षक, शिक्षिकाको अभावमा नियमित पठनपाठन नहुने अवस्थामा छन्।

गाउँ कार्यपालिकामा नेकपा माओवादी केन्द्रबाट निर्वाचित जनप्रतिनिधिहरूको बहुुमत छ। कांग्रेसबाट निर्वाचित गाउँपालिका अध्यक्ष अल्पमतमा छन्। जनप्रतिनिधिको विवादका कारण आवेदन आह्वान गरेको दुई महिनासम्म पनि छनोट प्रक्रिया अघि नबढ्दा उम्मेदवारहरू अन्योलमा छन्। विद्यालयमा पठनपाठनसमेत राम्रोसँग अघि बढ्न सकेको छैन। गाउँपालिकामा शैक्षिक अवस्था अत्यन्त जर्जर बनेको अवस्थामा जनप्रतिनिधिको यस्तो रबैया खेदपूर्ण रहेको स्थानीयवासीको भनाइ छ।