मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
निर्माणाधीन दमक–चिसापानी सडक। तस्बिर : चिरञ्जीवी घिमिरे/नयाँ पत्रिका
२०८० जेठ २१ आइतबार १६:४५:००
Read Time : > 2 मिनेट
समाचार डिजिटल संस्करण

दमक-चिसापानी ३३ किलोमिटर सडक कालोपत्रेको म्याद थपेको-थप्यै

Read Time : > 2 मिनेट
२०८० जेठ २१ आइतबार १६:४५:००

झापाको दमकदेखि इलाम र पाँचथरको सीमा रहेको चिसापानीसम्मको सडक तीन दशकअघि नै पहिल्याइयो। अहिले रतुवा नदीको तीरैतीर ट्र्याक खोलिएको छ । तर, सडक कालोपत्रे नहुँदा बर्खामा मुस्किलले दमक–चिसापानी सडक (फाल्गुनन्द मार्ग) को चिसापानीसम्मको ३३ किलोमिटर दूरी यात्रा गर्नुपर्ने बाध्यता छ। 

ट्र्याक चौडा र कालोपत्रे गर्ने गरी सडक डिभिजन कार्यालय दमकले तीन खण्डमा ठेक्का लगाएको छ। ठेक्काको म्याद सकिँदासम्म काम भने आधा मात्र भएको छ। 

दमकको जिरो प्वाइन्टदेखि सात किलोमिटर पहिलो प्याकेजका लागि तीनपटक म्याद थपिँदा पनि निर्माण सकिएको छैन। पछिल्लोपटक ०८० असारमा काम सक्ने गरी म्याद थपिएको छ। पहिलो खण्डअन्तर्गत सडक कालोपत्रे गर्ने ठेक्का महालक्ष्मी–किराँतेश्वर जेभीले ३० महिनाभित्र सक्ने गरी २९ साउन ०७५ मा २२ करोड ५९ लाख ६४ हजारमा ठेक्का लिएको थियो। 

रतुवा नदीको भित्ता काटेर ट्र्याक खोलिसकेको सडक कालोपत्रे मात्र गर्ने निर्माण कम्पनीको जिम्मा थियो । तर, झन्डै दुई किलोमिटर सडक मात्र कालोपत्रे भएको छ । पेटी ठेक्का दिँदा म्याद सकिएको २५ महिना बितिसक्दा पनि ६० प्रतिशत मात्र काम भएको सडक डिभिजन दमकका सूचना अधिकारी गौतमकुमार देवले जानकारी दिए। 

अहिले महालक्ष्मी–किराँतेश्वर जेभी आफैँले काम गरेको उनले बताए। अब असारभित्र काम सक्नुपर्ने हुन्छ। ‘पहिलो खण्डमा काम अलिक ढिला भएको हो। चारपटक म्याद थपिसकियो। अहिलेसम्म ६० प्रतिशत काम सकिएको छ। अब असारसम्म काम सक्नुपर्नेछ,’ उनले भने।

यस्तै, दुई खण्डको काम पनि सुस्त छ। समय सकिँदा झन्डै आधा मात्र काम सकिएको सडक डिभिजन कार्यालय दमकले जनाएको छ। दोस्रो खण्ड १५ किलोमिटर र तेस्रो खण्डको ११ किलोमिटर सडक चौडा गर्ने र कालोपत्रे गर्ने ठेक्का लुम्बिनी–गणपति जेभीले पाएको छ।

दोस्रो र तेस्रो खण्ड सडक कालोपत्रे गर्ने काम २ फागुन ०७६ मा ठेक्का लागेको हो । दोस्रो ५४ करोड ४४ लाख ८७ हजार र तेस्रो ५९ करोड १५ लाख ३५ हजारमा ठेक्का लागेको हो । यो दुई खण्डको म्याद २ फागुन ०७९ मै सकिएको छ । समय सकिँदा दोस्रो १५ किलोमिटरको काम ६० प्रतिशत भएको छ भने तेस्रो खण्डको ११ किलोमिटर सडकको काम २५ प्रतिशत मात्र भएको सडक डिभिजन कार्यालय दमकका सूचना अधिकारी देवले जानकारी दिए।

‘कोभिड, निर्वाचनले, बर्सातलगायत कारणले समयमा काम सकिएन । पहिलो र दोस्रो खण्ड १४ किलोमिटर ग्राभेलको काम पनि सकिएको छ,’ इन्जिनियर देवले भने, ‘तेस्रो खण्ड पहाडी भूभागमा भएका कारण भौगोलिक रूपमा पनि कठिन भएकाले कम काम भएको हो।’ दोस्रो र तेस्रो खण्डको म्याद ०८० फागुनसम्म थप्नका लागि प्रक्रिया अघि बढिसकेको उनले बताए। 

समयमा काम नसक्नुको कारण कोरोना महामारी र निर्वाचन रहेको लुम्बिनी–गणपति जेभीका इन्जिनियर वशिष्ठकुमार माझीले बताए। ‘बर्खाअघि कोरोना महामारीले समस्या बनायो,’ उनले भने, ‘बर्खामा निर्माण सामग्री लैजान सकिएन। फागुनसम्ममा काम सकिन्छ,’ उनले भने।

दमक–चिसापानी सडक (फाल्गुनन्द मार्ग) उपभोक्ता समिति अध्यक्ष गगन पुरीले भने अब थपिएको समयमा काम सक्नका लागि निर्माण व्यवसायीलाई दबाब दिइरहेको बताए। उनले केही समयभित्र नै कालोपत्रेको काम सुरु हुने जानकारी दिए। 

यो सडक पहिल्यो काम ०४९ मा डा. गोपाल कोइराला नेतृत्वको समितिले गरेको हो। ‘इलाम र पाँचथरका स्थानीयले नजिकको बजार दमक आउन हिँडेर यात्रा गर्नुपरेको देखेपछि यो सडक निर्माण गर्नुपर्छ भन्ने लाग्यो,’ त्यतिखेर सडक पहिल्याउने समितिका सदस्य रहेका र पछिल्लोपटक दमक–चिसापानी सडक उपभोक्ता समितिका अध्यक्ष पनि बनिसकेका सुरेश सुब्बा भन्छन्।

नागरिकलाई सास्ती 

समयमा काम नसकिँदा स्थानीयले भने सास्ती भोग्नुपरेको छ। सडक हिउँदमा धुलाम्मे र बर्खामा हिलाम्मे हुँदा यात्रा गर्न निकै कष्टकर भएको स्थानीय बताउँछन् । बर्खाको समयमा पहाडी क्षेत्रमा हिँडडुल गर्न नै समस्या हुने गरेको माङसेबुङ– ३ की मधुमाया राईले बताइन्। ‘यो सडक वर्षौँदेखि बनाइरहेका छन् । तर, समयमा काम नसकिँदा हामीलाई सास्ती भएको छ। हिउँदमा धुलोले सडकछेउमा बस्ने हामीलाई निकै समस्या हुन्छ। धुलोले बिरामी नै बनाइसक्यो,’ उनी भन्छिन्, ‘फेरि बर्खामा हिलोले हिँड्नसमेत सकिँदैन। चुनावमा सधैँ यही बाटोको कुरा गर्छन्। तर, अहिलेसम्म पक्की बनाउन सकेका छैनन्।’

दमक–चिसापानी सडकको चिसापानीसम्मको ३३ किलोमिटर सडक निर्माणको कामले गति लिन नसक्दा फेरि थपिएको समयमा पनि काम सकिनेमा स्थानीयको शंका छ ‘वर्षौँदेखि बन्छ मात्रै भन्छन्, तर अझै बनेन । पहिलाको भन्दा त राम्रो भएको छ। तर, कालोपत्रे नभएसम्म विश्वास गर्ने ठाउँ छैन। यसपटक हिउँदमा त राम्रै काम भयो । बर्खामा के हुने हो,’ माङसेबुङ– ६ चिसापानीकी शर्मिला राई भन्छिन्, ‘गत वर्षसम्म त पानीले बाटो बिगारेर बर्खामा हिँड्न सकिँदैन थियो । यसपटक हिँड्न पाइन्छ कि भन्ने आस छ । रतुवा खोला र बाटोमा पर्ने अरू खोलामा पुल बनिसकेकाले पनि आस लागेको छ।’