१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ११ मंगलबार
  • Tuesday, 23 April, 2024
एजेन्सी
२०८० जेठ २१ आइतबार ११:३१:००
Read Time : > 2 मिनेट
विश्व प्रिन्ट संस्करण

चीनको अन्तरिक्ष सपना : पहिले चन्द्रमा, त्यसपछि मंगलग्रह 

Read Time : > 2 मिनेट
एजेन्सी
२०८० जेठ २१ आइतबार ११:३१:००

वर्षौंको प्रयासपछि चीनले अन्ततः अमेरिका र रुसलाई भेट्टाउन खोजेको देखिन्छ

चीनले यसै साता पहिलो गैरसैन्य अन्तरिक्षयात्रीको एक टोलीसहित आफ्नो तियाङगोङ अन्तरिक्ष स्टेसनतर्फ नयाँ अभियान सफलतापूर्वक प्रक्षेपण गरेको छ । संयुक्त राज्य अमेरिका र रुससँग बराबरी गर्ने यो पछिल्लो प्रक्षेपण अन्तरिक्ष अभियानमा चीनका लागि कोसेढुंगा सावित भएको छ । चीनको अन्तरिक्ष कार्यक्रम र त्यसका नेतृत्वकर्ताबारे यहाँ संक्षिप्त चर्चा गरिएको छ ।

माओको प्रतिज्ञा
सन् १९५७ मा सोभियत संघले स्पुतनिक प्रक्षेपण गरेलगत्तै चिनियाँ नेता माओत्सेतुङले भनेका थिए, ‘हामी पनि अन्तरिक्षयान बनाउनेछौँ ।’ यसका लागि चीनलाई एक दशकभन्दा बढी समय लाग्यो । तर, सन् १९७० मा चीनले ‘लङ मार्च’ रकेटबाट आफ्नो पहिलो भूउपग्रह प्रक्षेपण गर्‍यो । मानवयुक्त अन्तरिक्ष अभियानका लागि अझ दशकौँको समय लाग्यो । सन् २००३ मा यांग लिवेई पहिलो चिनियाँ अन्तरिक्षयात्री बनेसँग चीनको मानवसहितको अन्तरिक्ष अभियान सुरुवात भयो । 

प्रक्षेपणको समय नजिकिँदै गर्दा यो अभियान सफल हुन्छ कि हुँदैन भन्ने चिन्ताका कारण बेइजिङले अन्तिम मिनेटमा आएर प्रत्यक्ष टेलिभिजन प्रसारण रद्द गरेको थियो । तर, याङले २१ घन्टाको उडानमा १४ पटक पृथ्वीको परिक्रमा गरेर सफलताको इतिहास रचे ।

अन्तरिक्ष स्टेसन र ‘जेड र्‍याबिट’
अमेरिका र रुसको पदचाप पछ्याउँदै चीनले पृथ्वीको कक्षमा आफ्नै अन्तरिक्ष स्टेसन (केन्द्र) बनाउने योजनाको सुरुवात गर्‍यो । चीनले प्रयोगात्मक अन्तरिक्ष केन्द्र ‘तियाङगोङ–१’ सन् २०११ मा प्रक्षेपण गरेको थियो । सन् २०१३ मा दोस्रो चिनियाँ महिला अन्तरिक्षयात्री वाङ यापिङले देशभरका बालबालिकाका लागि उक्त अन्तरिक्षयानबाटै भिडियो कक्षा लिएकी थिइन् ।

तियाङगोङ–१ चिकित्सा प्रयोगका लागि पनि उपयोग गरिएको थियो र सबैभन्दा महत्वपूर्ण कुरा त यी परीक्षण मूलतः स्थायी अन्तरिक्ष केन्द्र निर्माणको तयारीका लागि लक्षित थिए । 

त्यसपछि सन् २०१३ मा ‘जेड र्‍याबिट’ नामक चन्द्रयान प्रक्षेपण गरियो । सुरुमा केही संकेत पठाइरहेको यो यान पछि निष्क्रिय भयो र पृथ्वीमा संकेत पठाउन छाडेको थियो । तर, नाटकीय रूपमा पुनर्जीवित हुँदै यो यानले ३१ महिना (जुन यसको अपेक्षित आयुभन्दा धेरै हो) सम्म चन्द्रमाको सतहको सर्वेक्षण गर्ने काम गर्‍यो । 

सन् २०१६ मा चीनले अन्तरिक्षको कक्षमा आफ्नो दोस्रो ‘अर्बिटल ल्याब’ तियाङगोंग–२ प्रक्षेपण गर्‍यो । यो अन्तरिक्ष प्रयोगशाला भ्रमण गरेका अन्तरिक्षयात्रीले त्यहाँ धान फलाउने र अन्य बोटबिरुवा हुर्काउने प्रयोग गरेका छन् ।

अन्तरिक्ष सपना
राष्ट्रपति सी जिनपिङको नेतृत्वमा चीनको ‘अन्तरिक्ष सपना’लाई साकारा पार्ने योजनाले तीव्रता पाएको छ । वर्षौंका कोसेढुंगापछि चीनले अन्ततः अमेरिका र रुसलाई भेट्याउन खोज्दै गरेकोजस्तो देखिन्छ । चीनले यसै साता अन्तरिक्ष स्टेसनबाहेक सन् २०३० सम्म मानिसलाई चन्द्रमामा अवतरण गर्ने आफ्नो लक्ष्य रहेको कुरा दोहोर्‍याउँदै चन्द्रमामा आधार शिविर नै निर्माण गर्ने योजना रहेको बताएको छ । सन् २०१७ मा सञ्चार उपग्रहलाई चन्द्रमाको कक्षामा स्थापना गर्ने यान लिएर जाने लङ मार्च–५वाई२ नामक शक्तिशाली रकेटको प्रक्षेपण असफल भएपछि चीनको चन्द्र अभियान स्थगित भएको थियो । । यसले सन् २०१७ कोे मध्यपछि चन्द्रमाबाट नमुना संकलन गर्ने योजनासहित प्रक्षेपणको मिति तय भएको चाङ–५को प्रक्षेपण स्थगित गर्न बाध्य पार्‍यो । अर्को रोबोट चाङ–४ सन् २०१९ को जनवरीमा चन्द्रमामा अवतरण गर्‍यो । जुन इतिहासमै पहिलो थियो । 

चाङ–५ अन्ततः २०२० मा चन्द्रमाको सतहमा चिनियाँ झन्डा फहरायो चन्द्रमामा अवतरण गर्‍यो, र अन्तरिक्ष अभियानको चार दशकमा पहिलोपटक चन्द्रमाको नमुना पृथ्वीमा लिएर फर्कियो । सन् २०२१ मा चीनको तियानवेन–१ अभियानले मंगलग्रहको सतहमा एउटा यान सफलतापूर्वक उतारेको थियो । 

अन्तरिक्षको दरबार
अन्तरिक्ष स्टेसन तियाङगोङ (जसको अर्थ स्वर्गजस्तो दरबार भन्ने हुन्छ)को अन्तिम भाग गत वर्ष नै मूल संरचनासँग सफलतापूर्वक जोडिएको छ । चिनियाँ समाचार संस्था सिन्ह्वाका अनुसार यस अन्तरिक्ष केन्द्रमा ‘विश्वको पहिलो अन्तरिक्षमा आधारित चिसो आणविक घडी प्रणाली’लगायत थुप्रै अत्याधुनिक वैज्ञानिक उपकरण पुर्‍याइएका छन् । अन्तरिक्षमा लामो समयसम्म मानव उपस्थिति कायम गर्ने चीनको महत्वाकांक्षालाई मनन गर्दै तियाङगोङ कम्तीमा १० वर्षसम्म तल्लो पृथ्वीको कक्षमा ४०० देखि ४५० किलोमिटर (२५०देखि २८० माइल)को बीचको रहने अपेक्षा गरिएको छ । 

यसलाई तीन अन्तरिक्षयात्रीको घुम्ती टोलीले सञ्चालन गर्नेछन् । यी अन्तरिक्षयात्रीले त्यहाँ नयाँ–नयाँ प्रविधिको परीक्षणमा सघाउ गर्ने विभिन्न वैज्ञानिक प्रयोग गर्नेछन् । मंगलबारको प्रक्षेपणपछि तियाङगोङको अर्को अभियान सेन्झाउ–१७ अक्टोबरमा प्रक्षेपण गर्ने अनुमान गरिएको छ ।