१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १९ बुधबार
  • Wednesday, 01 May, 2024
टेकराज थामी काठमाडाैं
२o८१ बैशाख १९ बुधबार o७:१o:oo
Read Time : > 1 मिनेट
ad
ad
मुख्य समाचार प्रिन्ट संस्करण

‘हाई प्रोफाइल’ अभियुक्तको पक्षमा पूर्वमहान्यायाधिवक्तादेखि बार अध्यक्षसम्म बहसमा उत्रँदै

Read Time : > 1 मिनेट
टेकराज थामी, काठमाडाैं
नयाँ पत्रिका
२o८१ बैशाख १९ बुधबार o७:१o:oo

नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका ‘हाइप्रोफाइल’ अभियुक्तको पक्षबाट पूर्वमहान्यायाधिवक्तादेखि नेपाल बार एसोसिएसनका अध्यक्षसम्म बहसमा उत्रिने भएका छन् । जिल्ला अदालत काठमाडौंमा अभियुक्तविरुद्धको थुनछेक बहस आइतबारबाट सुरु हुँदै छ । थुनछेक बहस कुनै हालतमा कमजोर बनाउने पक्षमा अभियुक्त छैनन् । उनीहरूले पूर्वमहान्यायाधिवक्तादेखि बारका पूर्वअध्यक्षसम्मलाई बहसमा उतारेका छन् । 

पूर्वगृहमन्त्री बालकृष्ण खाणको पक्षमा बहसको नेतृत्व पूर्वमहान्यायाधिवक्ता खम्मबहादुर खातीले गर्दै छन् । खाण गृहमन्त्री हुँदा खाती महान्यायाधिवक्ता थिए । उनको पक्षमा बारका अध्यक्ष गोपालकृष्ण घिमिरे र पूर्वअध्यक्ष शेरबहादुर केसी पनि बहसमा उत्रिँदै छन् । त्यसबाहेक महादेवप्रसाद यादव, योगेन्द्र अधिकारी, प्रेमबहादुर खड्कासहित १८ जना अधिवक्ता उनको पक्षबाट बहसमा सहभागी हुँदै छन् । 

पूर्व महान्यायाधिवक्ता खातीले बहस गर्न चाहने अधिवक्ताको संख्या धेरै भए पनि काँटछाँट गरिने बताए । ‘खाणको पक्षबाट बहस गर्ने जिम्मा मैले पाएको छु । बहसमा चाहने अधिवक्ता धेरै छन् । जानकारीमा आएअनुसार १८ जनाभन्दा धेरै अधिवक्ता छन् । तर, सबै अधिवक्ता बहसमा उत्रिन सम्भव छैन । काँटछाँट हुन्छ,’ उनले भने ।

पूर्वउप्रधानमन्त्री टोपबहादुर रायमाझीको पक्षबाट बहसको नेतृत्व वरिष्ठ अधिवक्ता सुशील पन्तले गर्दै छन् । टोलीमा पूर्वमहान्यायाधिवक्ता रमेश बडाल, धर्मराज रेग्मी, पर्शुराम कोइराला, आकृति रायमाझीलगायत आठ अधिवक्ता छन् । पूर्वमहान्यायाधिक्ता बडालले सरकारी वकिल पक्षबाट सकिनासाथ रायमाझीको पक्षबाट बहस हुने जानकारी दिए । ‘रायमाझीको पक्षबाट म पनि बहसमा उत्रिँदै छु । टोलीमा अरू पनि अधिवक्ता सहभागी छन् । यसको नेतृत्व वरिष्ठ अधिवक्ता सुशील पन्तले गर्दै छन्,’ उनले भने ।

सचिव टेकनारायण पाण्डेको पक्षबाट बहसको नेतृत्व पूर्वमहान्यायाधिवक्ता रमण श्रेष्ठले गर्दै छन् । टोलीमा गणेश रेग्मी, राम घिमिरेलगायतका अधिवक्ता सहभागी छन् । रेग्मी नेपाल प्रहरीका पूर्वएसएसपी हुन् । अर्का हाइफ्रोफाइल अभियुक्त डा. इन्द्रजित राईको पक्षबाट बहस गर्ने अधिवक्ताको टुंगो भने लागिसकेको छैन । सरकारी वकिलको पक्षबाट बहसको नेतृत्व जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंका सहन्यायाक्तिवक्ता अच्युतमणि नेउपानेले गर्दै छन् । 

अदालतमा सबै अभियुक्तको इन्कारी बयान 

नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका १८ जनाको बयान सकिएको छ । आइतबारबाट थुनछेक बहस सुरु हुनेछ । सबै अभियुक्तले इन्कारी बयान दिएका छन् । हाइप्रोफाइलमध्येका पूर्वगृहमन्त्री खाणले टेकनारायण पाण्डे, नरेन्द्र केसी, टोपबहादुर रायमाझी, शमशेर मियाँ र आङटावा शेर्पाबाहेक कसैलाई नचिन्ने बताएका छन् । कुमारीगालस्थित घरबाट पक्राउ पर्दा खाणले पूर्वगृहसचिव पाण्डेले पठाएको पत्र च्यातेर फालेका थिए । पत्रमा पक्राउ परेका केशव दुलाल र सानु भण्डारीको बयान फेर्न भूमिका खेल्न उल्लेख थियो । उक्त पत्रका सम्बन्धमा आफूलाई कुनै जानकारी नभएको बताएका छन् । पीडितको उजुरीपछि घटनामा संलग्न धमाधम पक्राउ पर्न थालेपछि खाणले रकम फिर्ता गर्न भन्दै आङटावा शेर्पालाई एक करोड रुपैयाँ बुझाएका थिए । उक्त रकम पनि आफूले शेर्पालाई नदिएको अदालतमा भनेका छन् ।  

पूर्वगृहसचिव पाण्डेले पनि इन्कारी बयान दिएका छन् । उनलाई मुख्य बिचौलिया केशव दुलालले एक करोड २४ लाख रुपैयाँ कार्यकक्षमै पुगेर दिएको बताएका थिए । उनी र दुलालबीच पटकपटक एसएमएसमार्फत कुराकानी भएको भेटिएको छ । पाण्डेले दुलालसँग रकम नलिएको र सूचना संकलन गर्ने उद्देश्यले उनीहरूसँग एसएमएसमार्फत कुराकानी भएको बताएका छन् ।

भुटानी शरणार्थी नेता टेकनाथ रिजाल, डा. इन्द्रजित राईले पनि इन्कारी बयान दिएका छन् । रिजालले केशव दुलाल र सानु भण्डारीसँग भेटघाट भएको र उनीहरूकै माध्यमबाट तत्कालीन नेकपाका अध्यक्ष तथा हालका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग एकपटक भेटवार्ता भएको बताएका छन् । डा. राईले सानु भण्डारीसँग कुनै रकम लेनदेन नभएको र आफूले तत्कालीन गृहसचिव प्रेमकुमार राईले रकम दिन नभनेको बताएका छन् । 

ad
ad