मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
भूपेन्द्रजंग शाही
२०८० जेठ १४ आइतबार ०६:४७:००
Read Time : > 5 मिनेट
दृष्टिकोण प्रिन्ट संस्करण

कांग्रेसमा यसकारण रूपान्तरण अभियान

Read Time : > 5 मिनेट
भूपेन्द्रजंग शाही
२०८० जेठ १४ आइतबार ०६:४७:००

नाम मात्रको नीति महाधिवेशन गर्ने कि साँच्चै परिवर्तनका लागि विशेष महाधिवेशनमा जाने भन्ने विषयमा कांग्रेसभित्र गम्भीर मन्थन जरुरी छ

नेपाली कांग्रेसभित्र यतिवेला केही बहस उठेका छन्, कांग्रेसको हिजोको इतिहास, गौरव र वैभव अहिलेकै सुस्त पारा र यथास्थितिमै रुमल्लिएर रहँदा के भोलिका दिनमा कांग्रेसको भविष्य सुरक्षित रहला ? कांग्रेसमा आबद्ध लाखौँ कार्यकर्ताको भविष्य कस्तो रहला ? पार्टीको आजकै अवस्थाले अगाडि देखिएका चुनौती चिरफार गरेर खरो उत्रिन सक्ला ? पार्टी यथास्थितिमै रमाउने कि व्यापक रूपमा परिवर्तन गर्ने, गल्तीहरूको पुनरावृत्ति गर्ने कि सुधारको यात्रा तय गर्ने ? सत्तास्वार्थमा मात्रै रोमाञ्चित हुने कि जनताका ससाना पीडामा मलम लगाउन अग्रसर हुने ? पार्टीलाई केही व्यक्ति, गुट, स्वार्थ समूहले परम्परावादी रूपमा सञ्चालन गर्ने कि कांग्रेसमा आमूल रुपान्तरण गर्ने ? यी प्रश्न अहिले कांग्रेसभित्र उठिरहेका छन् । अब कांग्रेस यथास्थिति, गुटबन्दी, परम्परावादी, व्यक्तिवादी र सत्तावादी भएर चल्न सक्दैन । पार्टीमा तत्काल परिवर्तन आवश्यक छ भनेर युवा नेताहरूको पहलमा कांग्रेस रुपान्तरण अभियान प्रारम्भ भएको छ । यही ११ जेठमा मधेस प्रदेशबाट सुरु भएको अभियान सातै प्रदेशमा बृहत् भेला र व्यापक अन्तत्र्रिmया गरेर पार्टीका जिल्ला र गाउँ तहका नेता तथा शुभेच्छुकको विचार, धारणा, सुझाबसँगै अघि बढ्नेछ ।

अहिले पार्टीभित्र समीक्षा गर्नुपर्ने धेरै विषय छन् । कांग्रेसलाई सशक्त, लोकप्रिय र गतिशील बनाउनु हामी सबैको दायित्व हो । यसैलाई आत्मसात् गर्दै हामीले गुट निरपेक्ष अभियान सुरु गरेका हौँ । यो कसैलाई कमजोर बनाउने र कसैको जयजयकार गर्ने तथा निश्चित समूहको स्वार्थ र हितमा काम गर्ने अभियान नभई सिंगो पार्टीलाई बलियो बनाउने अभियान हो । इतिहासको यो गम्भीर मोडमा कांग्रेसले आफैँतिर फर्किएर गत निर्वाचन, अपवित्र गठबन्धन, सरकार निर्माणको फोहोरी खेल, उपनिर्वाचनको नमिठो सन्देश, पार्टी पंक्ति परिचालनमा सुस्तता र हिजो सरकारमा हुँदा भएका कमी–कमजारीबारे गम्भीर समीक्षा गर्न जरुरी छ । वर्तमानमा देखिएका चुनौती चिरफार गर्दै पार्टी अब रुपान्तरित भएर अगाडि बढ्न सकेन भने भविष्यमा ठूलो क्षति व्यहोर्नुपर्नेछ । पार्टी केन्द्रीय समितिले अझै पूर्णता पाएको छैन, विभागहरू रिक्त छन् । ४८ विभागमा ५१ सदस्यका दरले झन्डै २५ सय नेताले पाउनुपर्ने जिम्मेवारी पाएका छैनन् । पार्टीमा बेरोजगार भएर बस्नुपर्ने अवस्था छ । पार्टीको मेरुदण्डका रूपमा रहेका भ्रातृसंस्था निष्प्रभावी छन् । हामीलाई लाखौँ युवाको मत चाहिएको छ, तर नेतृत्वले तरुण दल र नेविसंघलाई अध्यक्षमा मात्रै सीमित राखेर संगठनमा पसिना रगत बगाएका ऊर्जाशील युवाको अपमान गरिरहेको छ । यतिवेला पार्टीभित्र पूरै शून्यता, रिक्तता र सन्नाटा छाएको छ ।

कांग्रेसका संस्थापक बिपी कोइराला, गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई, सुवर्ण शमशेरसहित कांग्रेस भएबापत तत्कालीन सत्ताबाट प्रताडना झेल्नुभएका र विभिन्न कालखण्डमा कांग्रेसमा आस्था राखेबापत जीवन बलिदान गर्नुभएका, विस्थापित हुनुभएका सबैप्रति उच्च सम्मान अर्पण गर्दै देशका कुनाकन्दरामा बसेर कांग्रेसको संगठन विस्तारमा अहोरात्र खटिइरहनुभएका ती तमाम कांग्रेस नेता–कार्यकर्ताको भावनाको कदर गर्दै जनताका आधारभूत आवश्यकता पूर्तिका लागि पहल गर्ने र जनताको सुखदुःखमा साथ दिने पार्टी बनाउन जरुरी छ ।

सत्ताका लागि जायज–नाजायज सम्झौता, विचारविहीन गठबन्धन, जनताका आधारभूत आवश्यकतासँग बेखबर, भ्रष्टाचार नियन्त्रण र सुशासनको सवालमा सुस्त, नैतिकतापूर्ण राजनीतिको खडेरी, युवाको भविष्यप्रति बेवास्ता तथा जनताको आवाजको अपमान गरी पार्टीलाई केवल सत्ता, शक्ति र स्वार्थ प्राप्तिको भर्‍याङ मात्रै ठान्ने हो भने कांग्रेसको भविष्य के होला ?

बीपीको विचार, गणेशमानको दृढता, किसुनजीको त्याग, सुवर्ण शमशेरको उदारता, गिरिजाप्रसाद कोइरालाको साहस र सुशील कोइरालाको सरलताको बलियो जग हामी नयाँ पुस्ताका लागि प्रेरणाको विश्वविद्यालय हो । हामीले गर्व गर्ने हाम्रो आफ्नै विचार छ, नेताहरू हुनुहुन्छ । कम्युनिस्ट पार्टीजस्तो आयातीत तस्बिर अघिल्तिर उभिएर मुठी उचालेर कसम खानुपर्ने र संसारभरबाट विस्थापित भइसकेको थोत्रो विचारधाराको सहारा लिनुपर्ने बाध्यताबाट कांग्रेस मुक्त छ । तर, कांग्रेसले वर्तमानका चुनौतीलाई ध्यान नदिई तथा जनताका गुनासा र भावना नसुनी एकांगी ढंगले हिँड्न खोज्यो भने दुर्घटना निश्चित छ ।

कांग्रेसको राणा, पञ्चायत र राजा फ्याँकेको, पटक–पटक क्रान्तिको नेतृत्व गरेको सुनौलो विरासत छ । तर, सत्ताका लागि जायज–नाजायज सम्झौता, विचारविहीन गठबन्धन, जनताका आधारभूत आवश्यकतासँग बेखबर, भ्रष्टाचार नियन्त्रण र सुशासनको सवालमा सुस्त, नैतिकतापूर्ण राजनीतिको खडेरी, युवाको भविष्यप्रति बेवास्ता, जनताको आवाजको अपमान, सामाजिक सेवा र सुरक्षाको बेमतलव तथा पार्टीलाई केबल सत्ता, शक्ति र स्वार्थ प्राप्तिको भर्‍याङ मात्रै ठान्ने हो भने कांग्रेसको भविष्य के होला ? सामूहिकताको भावनाविपरीत व्यक्तिवाद, नातावाद, कृपावाद, परिवारवादका आधारमा पार्टी चलाउन खोज्ने हो भने भोलिका दिनमा पार्टी कस्तो संकटमा पर्ला ? गम्भीर भएर एकपटक सबैले सोच्नुपर्ने वेला आएको छ ।

कांग्रेसभित्र आपसी भ्रातृत्व र आत्मीयताको कमी देखिन थालेको छ । अब पार्टीमा गुटबन्दीको समूल अन्त्य गर्दैै सबैलाई एकढिक्का बनाउन जरुरी भएको छ । यसका लागि पार्टीमा गुट, नातावाद, चाकरीवाद र आर्थिक सम्पन्नताका आधारमा होइन, योगदान, समर्पण, सक्रियता, निरन्तरता, प्रतिबद्धता र क्षमताका आधारमा जिम्मेवारी र सबैलाई समान अवसर प्रदान गर्ने परिपाटीको विकास गर्नुपर्छ । कांग्रेसलाई गुटगत स्वार्थ पूरा गर्ने विभिन्न समूहको मोर्चा बन्न दिनु हुँदैन । सत्ताको भोगचलन र पदीय भागबन्डाको सधैँ किचलो गरिराख्ने पार्टी बन्न दिनु हुँदैन । सामूहिक हित, साझा भावना र जनसेवामा समर्पित पार्टी बनाउनुपर्छ ।

नेता र कार्यकर्ताबीच देखिएको अन्तर र बढेको दूरी घटाएर पार्टीभित्र सानो र ठूलो भन्ने मान्यता हटाएर हामी एउटै परिवार हौँ भन्ने भ्रातृत्वको भावना विकास गरी तल जनतासम्म सुमधुर सम्बन्ध कायम गर्न सबै नेता–कार्यकर्तामा नैतिकता, समानता रसरलतापूर्ण बोली व्यवहार जरुरी छ । व्यक्तिवादी चरित्र र अनुशासनहीनता अन्त्य हुनुपर्छ । लोकतन्त्रमा नेता शासक होइन, सेवक हो । गणतन्त्रमा नेता राजा भएर बलियो हुने होइन, जनता बलियो हुने हो । जनतालाई नोकर सम्झिने नेता र पार्टिको भविष्य सुरक्षित हुँदैन, जनताको सुखदुःखमा साथ नदिने र जनतालाई सम्मानका दृष्टिले नहेर्ने कुनै पनि राजनीतिक दलको आयु लामो हुँदैन । कांग्रेस जनताका मुद्दा र भावनासँग गहिरो गरी जोडिन जरुरी छ ।

पार्टीलाई शुद्धीकरण र सुदृढीकरण गर्न केन्द्र, जिल्ला र गाउँ तहसम्म विचार, सिद्धान्त र एजेन्डामा आधारित वैचारिक जागरण अभियान आवश्यक छ । कांग्रेसले चाँडै १६५ संघीय र ३३० प्रदेश निर्वाचन क्षेत्रमा केन्द्रीय प्रतिनिधि खटाएर ‘पिपुल टु पिपुल’ अभियान सञ्चालन गर्नुपर्छ । यसका लागि पार्टीका नेता र कार्यकर्ता सहरकेन्द्रित होइन, गाउँकेन्द्रित हुन जरुरी छ । गाउँकेन्द्रित भएर गाउँ–गाउँ र टोल–टोलमा पुगेर ‘जनजनमा कांग्रेस मनमनमा कांग्रेस’ अभियान चलाउनुपर्छ ।

सहिद परिवार तथा द्वन्द्वपीडित परिवारलाई उच्च सम्मान, पार्टीमा अवसर र उचित स्थानको ग्यारेन्टी गर्दै समानुपातिकबाट एकपटक सांसद बनेको व्यक्तिलाई कुनै हालतमा दोहोर्‍याउनु हुँदैन । दोहोर्‍याउनु समानुपातिक समावेशी सिद्धान्तविपरीत हुन्छ । पार्टीको आन्तरिक निर्वाचनमा पनि समावेशिताबाट प्रतिनिधित्व गर्ने पदमा एकपटकभन्दा बढी अवसर नपाउने व्यवस्था कडाइसाथ लागू गर्नुपर्छ । यसका साथै एउटै व्यक्ति बारम्बार एउटै पदमा दोहोरिने, तेहरिने अवस्था अन्त्य हुनुपर्छ । एउटै व्यक्तिलाई भएभरको जिम्मेवारी दिएर हुँदैन, कामको बाँडफाँड हुनुपर्छ । अब पार्टीमा ‘एक व्यक्ति ः एक जिम्मेवारी’ हुनुपर्छ ।

महाधिवेशनको मुखमा आएर मात्रै क्रियाशील सदस्यता वितरण गर्ने परम्परा अन्त्य गरी हरेक वर्ष पारदर्शी रूपमा क्रियाशील सदस्यता वितरण गर्नुपर्छ । महाधिवेशनको वर्ष क्रियाशील सदस्यता वितरण गर्न नपाउने नियम बनाउनुपर्छ । पार्टी महाधिवेशनका लागि मात्र गाउँ अधिवेशन गर्ने परम्परा अन्त्य गरी वडा तहको अधिवेशन हरेक दुई वर्षमा गर्ने व्यवस्था गर्नुपर्छ । पार्टीको राष्ट्रिय महाधिवेशन पनि आमनिर्वाचनको कम्तीमा दुई वर्ष अगाडि गरेर आन्तरिक झमेला सुल्झाई निर्वाचनको तयारीमा जुट्नुपर्छ । केन्द्रीय सभापतिको निर्वाचन सम्पूर्ण क्रियाशील सदस्यमार्फत प्रत्यक्ष निर्वाचित हुने व्यवस्था गर्नुपर्छ ।

गएको निर्वाचनमा पनि सिद्धान्तहीन, विचारहीन, गठबन्धन गर्नुहुन्न भन्ने आमकार्यकर्ताको आवाज हुदाँहुँदै पनि सत्तालाई मात्रै ध्यान दिएर बनेको बृहत् गठबन्धनले सोचेजस्तो परिणाम आएन । त्यसैले, निवार्चन समीक्षाका लागि टालटुले पारामा होइन, गहन छलफल गरेर अबका निर्र्वाचनमा कहिल्यै गठबन्धन नगर्ने प्रतिबद्धतासाथ अरूको बैसाखी टेकेर नभई आफ्नै संगठनको बलमा एक्लै निर्वाचन जित्ने तयारीमा लाग्नुपर्छ । अब पार्टी संगठनले मात्रै हुँदैन, जनतासँग नजोडिई अघि बढ्न सकिन्न । सरकारी काममा जतासुकै ढिलासुस्ती, सेवा प्रवाहमा असमानता छ । भनसुनको प्रभाव छ । सरकारी कार्यालयबाट सेवा लिन जनता अपमानित हुनुपर्ने अवस्था छ । सबै दलप्रति जनताको विश्वास घटिरहेको समयमा निर्वाचनमा मत परिवर्तनको संकेत देखिनु स्वाभाविक हो । यसैलाई मध्यनजर गरी कांग्रेसले सरकारलाई नागरिकका गुनासो र आक्रोशलाई सम्बोधन गर्न दबाब दिँदै आफ्ना मन्त्रीलाई प्रभावकारी परिणाम आउने गरी दिनरात खटेर काम गर्न निर्देशन दिनुपर्छ । देश विकासको बाधकका रूपमा रहेको भ्रष्टाचारलाई निर्मूल पार्न वाइडबडी काण्ड, एनसेल काण्ड, सुनकाण्ड, ललिता निवास काण्ड र अहिले लाजमर्दो रूपमा आएको पशुपतिनाथको जलहरी काण्डलगायत सबैको छानबिन गरी भ्रष्टाचारीलाई कडा कारबाही गराउने अभियान चलाउन कांग्रेसले विशेष अगुवाइ गर्दै ‘भ्रष्टाचारमुक्त नेपाल, सुशासनयुक्त नेपाल’ अभियान देशभर सञ्चालन गर्नुपर्छ ।

देशको जर्जर आर्थिक अवस्था र यसले ल्याउन सक्ने भयावह आर्थिक संकटबाट देशलाई जोगाउन अर्थतन्त्र सुधार गरी अर्थतन्त्रलाई मजबुत बनाउने विशेष कार्यक्रम सरकारले सञ्चालन गर्नुपर्छ । हरेक राजनीतिक परिवर्तनको नेतृत्व गर्दै आएको कांग्रेसले अब मुलुकको समुन्नति र समृद्धिका लागि आर्थिक क्रान्तिको थालनी गर्नुपर्छ । यसका लागि आर्थिक विकासको सम्भाव्यता पहिचान गरी आर्थिक विकासको सम्भाव्यता भएको क्षेत्र, पर्यटन, कृषि, जडीबुटी र जलस्रोतमा व्यापक लगानीको वातावरण सिर्जना गरी गाउँगाउँमा विकास र युवालाई स्वदेशमै रोजगारीको अवसर प्रदान गर्न कांग्रेसको नेतृत्वमा ‘सुन्दर नेपाल–समृद्ध नेपाल’ अभियान सुरु गर्नुपर्छ ।

समग्रमा यो रुपान्तरण अभियानमार्फत देशैभरि गाउँगाउँ र टोलटोलसम्म पुगेर आमपार्टीका नेता, समर्थक, शुभेच्छुक, सर्वसाधारण, बुद्धिजीवी र आमनागरिकको सल्लाह सुझाबलाई सुनेर अब कसरी अगाडि बढ्ने ? आगामी रणनीति के लिने ? परम्परावादी र यथास्थितिमा रुमल्लिने कि रुपान्तरणको यात्रा तय गर्ने ? अब नाम मात्रको नीति महाधिवेशन गर्ने कि साँच्चै परिवर्तनका लागि विशेष महाधिवेशनमा जाने ? यी विषयमा बहस गर्न अति जरुरी छ । व्यक्ति होइन विचार, पद होइन पद्धति, सत्ता होइन समाज, नेता होइन नीतिको मूल मर्म र आदर्शमा आधारित नैतिक मूल्य–मान्यतासहितको राजनीति सुरुवात गर्न कांग्रेसले ढिलो गर्नुहुन्न ।
अन्त्यमा, यो रुपान्तरण अभियानमार्फत कांग्रेसलाई ऊर्जाशील, गतिशील, क्रियाशील, सबल, सुदृढ, सशक्त र बलियो बनाउनु नै हो । यस अभियानमार्फत पार्टीमा नयाँ आशा, समर्थकमा नयाँ भरोसा र आमनागरिकमा नयाँ विश्वास जगाउनु नै हाम्रो मुख्य उद्देश्य हो ।

(शाही नेपाली कांग्रेसका युवानेता हुन्)