
अभियानलाई गुटविशेषकोे भन्ने आरोप लाग्योे नि ?
‘युवा संकल्प यात्रा’ले १०बुँदे एजेन्डासहित मेची–महाकाली यात्रा गर्यो । २ कात्तिकमा मेचीनगरदेखि सुरु भएको यात्रा ४ मंसिरमा महेन्द्रनगरमा सम्पन्न भयो । हामीले सुरुमै प्रस्ट पारेका थियौँ, यो यात्रा गुटविशेषको होइन । अभियानको सुरुवातमा केहीले गुटविशेषको स्वार्थमा अभियान थालेकोे आरोप लगाउनुभएको थियो, तर पार्टीका निकायले अपनत्व लिएर कार्यक्रमलाई सहजीकरण गर्नुभयो । हामी केही युवाले थालेको अभियानमा सबैले सहयोग गर्नुभयो । सबै तहका नेता–कार्यकर्ताको साथ रह्यो । गुटगत गन्ध कहीँ पनि देखिएन । हामीले कांग्रेस मात्र होइन, जनस्तरमा समेत पुगेर संवाद गर्यौँ । अन्य राजनीतिक दलसँग पनि एजेन्डाकेन्द्रित छलफल गर्यौँ । कार्यक्रम अघि बढ्दै जाँदा अभियानलाई पार्टीले नै अपनत्व लिने अवस्था आयो ।
केका लागि युवा संकल्प यात्रा गर्नुभएको थियो ?
अभियानअन्तर्गत हामीले युवालाई रोजगारी, भ्रष्टाचार उन्मूलन र सुशासनलगायत विषयका एजेन्डा उठान र समाधानको उपायको खोजी गरेका छौँ । साथै, सहकारीपीडितका मुद्दासमेत अभियानमा समेटिए । अभियानअन्तर्गतका कार्यक्रम सकिए पनि हामी काठमाडौं फर्केर अभियानको उद्देश्य पूरा गर्न निरन्तर लागिरहेकै छौँ ।
अभियानको निष्कर्ष के रह्यो ?
हामीले युवा, बेरोजगार, सहकारीपीडित, महँगीको मारमा परेका आमजनता, किसान तथा मजदुरका पक्षमा आवाज उठाउनैपर्छ । युवाले त्यस्तो आवाज उठाउनु अस्वाभाविक पनि होइन । अभियानका क्रममा हामी देशभर हिँड्यौँ । युवा, किसान, मजदुर सबैका कुरा सुन्यौँ । बेरोजगारीको यस्तो विकराल अवस्थाका कारण देशका युवामा ठुलो आक्रोश छ । भ्रष्टाचार व्याप्त छ । यस्ता सबै समस्यालाई बुझेर निराकरणतर्फ नलागी नजरअन्दाज गरेर खालि सत्तामा मात्रै रमाइरहने हो भने भोलि ठुलो समस्या आउन सक्छ । यी विषय समयमै सम्बोधन गर्नुपर्छ ।