
नयाँ पत्रिकाकर्मी मुना कुँवर श्रम रोजगार पत्रकारिता पुरस्कार, २०७९ बाट पुरस्कृत भएकी छिन् । श्रम विषयमा कलम चलाउने उत्कृष्ट तीन पत्रकारलाई श्रम रोजगार पत्रकार समूह र प्रवासी नेपाली समन्वय समितिले संयुक्त रूपमा हरेक वर्ष यस्तो पुरस्कार प्रदान गर्दै आएका छन् । त्यसमा वर्ष ०७९ को पुरस्कारबाट कुँवरलाई पनि पुरस्कृत गरिएको हो । उनलाई दोस्रो स्थानको पुरस्कार प्रदान गरिएको हो ।
शुक्रबार काठमाडौंमा आयोजना गरिएको एक कार्यक्रममा श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरत्सिंह भण्डारीबाट १५ हजार रुपैयाँसहित कुँवरलाई पुरस्कृत गरिएको हो । लामो समयदेखि पत्रकारितामा सक्रिय कुँवरले श्रमसहित बिमा, पुँजीबजारलगायत क्षेत्रमा रिपोर्टिङ गर्दै आएकी छिन् । यसको प्रथम पुरस्कार भने अन्नपूर्ण दैनिकका भूपराज बराल र तारा चापागाईंलाई प्रदान गरिएको छ ।
उनीहरूलाई जनही २० हजार रुपैयाँसहित पुरस्कार प्रदान गरिएको हो । त्यस्तै, तेस्रो स्थानको पुुरस्कारबाट मेघराज सापकोटा र पवन पाण्डेलाई सम्मान गरिएको छ । उनीहरूलाई जनही १० हजार रुपैयाँसहित पुरस्कार प्रदान गरिएको हो । पाण्डे काठमाडौं पोस्टमा कार्यरत छन् भने सापकोटा स्वतन्त्र पत्रकार हुन् ।