मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० असोज ११ बिहीबार
  • Thursday, 28 September, 2023
जुली बिन्देल
२०८० जेठ ७ आइतबार ०९:३४:००
Read Time : > 3 मिनेट
दृष्टिकोण प्रिन्ट संस्करण

कस्तो देखिन्छ आजको नारीवाद ?

Read Time : > 3 मिनेट
जुली बिन्देल
२०८० जेठ ७ आइतबार ०९:३४:००

नारीवाद एउटा जनआन्दोलन हो, व्यक्तिगत दृष्टिकोण होइन । यो मुक्तिको लडाइँ हो । 

अहिलेका विश्वविद्यालय एवं अन्य ठालु संस्थाहरूमा जुन कुरालाई नारीवाद भनिन्छ, त्यो नारीवाद होइन । तपाईं क्याम्पस, अफिस र सहरका गल्लीवरपर नारीवादी देखिने पोसाक लगाएर उफ्रिँदै गरेका पुरुषहरूलाई हेर्नुहोस् त जसले महिला आन्दोलनको समर्थनमा एकपटक औँलासमेत उठाएका छैनन्, बरु सक्रिय रूपमा यसलाई हानि गरेका छन् । लाग्छ, बजारमा खरिद गरिएको कुनै एउटा कपडा लगाएकैभरमा सजिलै नारीवादी हुन सकिन्छ । र, केवल पुरुष मात्र होइनन् जसले नारीवादलाई आफूले चाहेको चिजको रूपमा परिचय स्थापित (रिब्रान्डिङ) गर्ने प्रयास गरिरहेका छन् । यसमा रूढीवादी धारका महिलाहरूको एउटा जमात पनि छ, जो आफूलाई नारीवादी भन्छन् । जब कि घरभित्र होस् या कार्यस्थलमा महिलाका लागि सन् १९५० को दशकको जस्तो प्रतिगामी भूमिकाको प्रचार गर्छन् । 

यस सन्दर्भमा मैले धेरै आदर गर्ने लेखिका मेरी ह्यारिङ्टनको कुरालाई नै लिन सकिन्छ । उनले आफ्नो नयाँ पुस्तक ‘फेमिनिज्म अगेन्स्ट प्रोग्रेस’मा वेश्यावृत्ति र सरोगेसीको माध्यमबाट महिलाको शरीरको व्यवसायीकरणलाई बढवा दिने उदारवादी नारीवादको शैलीको आलोचना गरेकी छिन् । समकालीन नारीवादले मातृत्वलाई स्वतन्त्रताको विकल्पको रूपमा हेयाउने उनको दाबी छ ।

यद्यपि, ह्यारिङ्टनले आफ्नो पुस्तकमा प्रस्ताव गरेका समाधान थोरै पनि नारीवादी लाग्दैनन् । उनी महिलाहरूको निरन्तर अमानवीयकरणलाई एक असल पुरुषसँगको विवाहका माध्यमबाट सामना गर्न सकिने सुझाव प्रस्तुत गर्छिन् । ह्यारिङ्टन गर्भनिरोधक चक्कीले पुरुषहरूलाई आकस्मिक यौनसम्बन्धको माग गर्न अनुमति दिन्छ भनेर यसको आलोचना गर्छिन् । तर, मलाई विश्वास छ कि यो पितृसत्ता र लिंगवादी कानुनी प्रणालीको उपज हो । उनी गर्भपतनको मुखरविरोधी नभए पनि उनलाई यसले विचलित गराएको स्पष्टै देखिन्छ । 

यी सबै नयाँ प्रकारका नारीवादमा स्त्रीद्वेषीबाट पिडित महिलाहरूलाई स्वतः उग्र नारीवादीको लेबल प्रदान गर्नुपर्छ भन्ने दृष्टिकोण पनि पाइन्छ । उदाहरणका लागि म्याडोनालाई र चाउरी हटाउन र शरीरको बनोटलाई सुन्दर देखाउन उनले गरेको बोटोक्स र कस्मेटिक सर्जरीको प्रयोगमाथिका कुरूप र घिनलाग्दा टिप्पणीलाई लिन सकिन्छ । के हामी सौन्दर्य उद्योग (जसले महिलालाई घृणा गर्नेहरूलाई प्रोत्साहन दिने खतरा छ)को निन्दा गर्छाैँ ? अथवा के हामी म्याडोना र उनको छनोटको प्रतिरक्षा गर्छौं त ? अनि के हामी उनका ती छनोटहरूलाई नारीवादीको पहिचान दिन र कस्मेटिक सर्जरीलाई मुक्तिको उपकरणको रूपमा वैधानिकता दिन्छौँ ?

फेब्रुअरीमा स्कटल्यान्डको ग्लास्गोमा महिला यौन अधिकार संरक्षणको माग गर्दै स्कटल्यान्डका नारीवादी । तस्बिर : जेफ जे मिटचेल/गेटी इमेज 

हामी यस्तो केही गर्दैनौँ, किनकि हामी म्याडोनाले सशक्त, नारीवादी छनोटको प्रयोग गरेकी हुन् भन्ने विचारसँग सहमत हुन सक्दैनौँ । म महिलाबारे के ठीक र के बेठीकको निर्णय गर्ने र महिलालाई बहिष्करण गर्ने नारीवादको वकालत गरिरहेकी छैन । किनकि, मेरो प्रकारको आन्दोलनले चाहे हामी उनीहरूलाई मन पराऔँ वा नपराऔँ, चाहे हामी उनीहरूसँग सहमत हौँ वा नहौँ सबै महिलाको उत्पीडन अन्त्य गर्ने प्रतिबद्धता व्यक्त गर्छ । पितृसत्ताको अधीनमा महिला उत्पीडनका विभिन्न रूप हुन्छन्, त्यसैले हामी सामूहिक रूपमा मात्र पुरुष हिंसाजस्ता अत्याचारको प्रतिरोध गर्न र तिनलाई परास्त गर्न सक्छौँ ।

नारीवाद एउटा जनआन्दोलन हो, व्यक्तिगत दृष्टिकोण होइन । यो मुक्तिको लडाइँ हो । महिलाका ‘अधिकार’का लागि लड्नु भनेको महिलामुक्तिका लागि लड्नुजस्तो होइन । म दशकौँदेखि यो परिभाषालाई कमजोर पार्ने, हलुका बनाउने र बदनाम गर्ने प्रयासको साक्षी बनिरहेको छु । यस्तो प्रयास पुरुष र महिला दुवैबाट भएका छन् । यी प्रयास सधैँ नै यथास्थितिलाई बलियो बनाउने, पितृसत्तालाई नचलाउने, पुरुषहरूलाई खुसी राख्ने र महिलाहरूलाई यथास्थानमा नै राखिराख्ने इच्छाबाट अभिप्रेरित रहिआएका छन् । महिलामुक्तिको लक्ष्यलाई सिँढीको सबैभन्दा तल रहेका महिलाहरूलाई बेवास्ता गर्दै समानताको लक्ष्यले प्रतिस्थापन गरेको देखिन्छ । नारीवादलाई यसको व्यापक आधारभूत लक्ष्य र उद्देश्यहरूलाई पूरै उल्ट्याउने गरी परिभाषित गर्नुलाई किन स्वीकार्य ठानिएको हो ? अन्य कुनै पनि राजनीतिक आन्दोलनको (त्यसका मूल लक्ष्य र उद्देश्यविरोधीद्वारा) उल्टो अर्थ लगाउने कोसिस गरिएको छैन । 

चाहे पोर्नले मुक्ति दिइरहेको छ भनेर महिलाहरूलाई बताउने विश्वविद्यालयहरूका ‘नारीवादी’ समाजहरूको नेतृत्व गर्ने ‘प्रगतिशील’ पुरुषहरूको जमात होस वा परम्परागत विवाह र बच्चाको लालनपालनमा फर्किएर यौनहिंसाबाट बच्न सकिने सुझाव दिने रूढीवादी महिला हुन् यी सबैलाई उनीहरूले नारीवादका रूपमा रिब्रान्डिङ गरिरहेका छन्, जब कि सत्य त्यसको उल्टो हो । 

बितेको दशक नारीवाद ‘पुरुष नारीवाद’ अर्थात् मनोरञ्जन नारीवादतर्फ मोडिएको साक्षी बन्यो । वेश्यावृत्ति र पोर्नाेग्राफीलाई ‘छनोट’ अनि ‘सशक्तीकरण’को रूपमा रिब्रान्डिङ गरिएको छ । हानिकारक, अपमानजनक यौन अभ्यासलाई अब ‘किंक (गैरपरम्परागत यौन अभ्यास)’ भनिन थालेको छ र महिलामुक्तिका कुरा मानिन लागेको छ ।

नारीवादलाई घृणा गर्नेमा लिंगवादी एवं स्त्रीद्वेषी पुरुष मात्रै छैनन्, महिलाका अधिकार एवं पोर्नाेग्राफी (यौन स्वच्छन्दता) उपयोगको अवधारणमाथि प्रश्न उठाउने महिलाहरूले पनि नारीवादलाई घृणा गर्छन् । नारीवादका विरुद्धमा चर्काे र निरन्तर आक्रमण चलिरहेको छ । बेलायतमा बलात्कारको दोषी ठहर हुने दर प्रहरीमा रिपोर्ट गरिएको एक प्रतिशत मात्र छ जब कि त्यहाँ पनि बलात्कारको झुटो आरोपका लागि महिलाहरूमाथि मुद्दा चलाइने गरिएको छ । सन् १९९२ यता इग्ल्यान्ड र वेल्समा फेमिली कोर्ट (पारिवारिक मामला हेर्ने अदालत)हरूले वैवाहिक बलात्कारलाई अपराधको रूपमा स्विकार्न सकिरहेका छन् । र, महिला भएकै कारण हरेक तीन दिनमा पुरुषबाट एक महिला मारिन्छिन् र अक्सर ती हिंस्रक पुरुष साथीबाटै मारिने गरेका छन् । 

नारीवादीहरूलाई धन्यवाद । हामी महिला र केटीहरूप्रति घरेलु र यौन हिंसा गर्ने पुरुषका बारेमा सुन्दा हरेकपटक कसैले ‘एक महिला बलात्कृत भइन्’ भनेको सुन्छु । तर, म ‘एउटा पुरुषले एउटी महिलालाई बलात्कार गर्‍यो’ भनेको सुन्न चाहन्छु । डरमा बाँचेर हामी आफ्नो फक्रिन सक्दैनौँ । युवतीमा उनीहरूको जीवनकालमै सडक र घर दुवै तिनका लागि सुरक्षित हुनेछन् भन्ने आशा जगाउनु जरुरी छ । नारीवादको लक्ष्य पुरुष हिंसाको अन्त्य गर्ने हुनुपर्छ ।

स्कट्ल्यान्डकी पूर्वप्रधानमन्त्री निकोला स्टर्जनले बलात्कारी र बाल यौन दुराचारीसमेतका पुरुषलाई आफूलाई महिलाका रूपमा पहिचान गर्न सक्ने र महिला मात्र राखिने जेल वा सुधारगृहमा प्रवेश गर्न सक्षम बनाउने विधेयक अघि बढाएकी थिइन् । एक तथाकथित नारीवादीले कसरी महिला र बालिकाहरूको सुरक्षाभन्दा पुरुषको आवश्यकता र ‘चाहना’लाई माथि राख्न सक्छ ? 

युवा नारीवादीहरूले शत्रुता र अपमानको सामना गर्नुपर्नेछ, मुख्यतः आफ्ना पुस्ताका तथाकथित प्रगतिवादीबाट । (सेक्स वर्कलाई रिब्रान्डिङ गरेर) वेश्यावृत्तिलाई बढवा दिएर, पारलैंगिक अधिकारलाई बढवा दिने बहानामा महिलाहरूले साह्रै मिहिनेतले हासिल गरेको यौन अधिकारको बर्खिलाप गरेर र खतरनाक यौन अभ्यासहरूलाई नारीवादीको मूल आधारका रूपमा प्रस्तुत गरेर चुनौती सिर्जना गरिएको छ । पोर्नलाई कसरी यौन उत्पीडनको रूपमा प्रयोग गरिन्छ र यौन आक्रमणको औचित्य साबित गर्न प्रयोग गरिन्छ भन्ने आजका युवतीहरूले बुझेका छन् । यीमध्ये धेरैजसो युवती इन्टरनेट युगअघिका अभियानतर्फ फर्किरहेका छन् । उनीहरू महिला र एकअर्कासँग भौतिक रूपमा नै संलग्न हुने र अधिक मुखर भएर अनलाइन फोरम (जसमध्ये धेरै महिलाविरोधी स्थल बनेका छन्) बाहिर अभियान चलाउने आवश्यकतालाई बुझ्दै छन् । यी महिलाहरूले मेरो आशा जगाएका छन् । नारीवाद सफल हुनका लागि हामीले आन्दोलनको चयन गर्दा आन्दोलनलाई हानि पुर्‍याउन चाहनेहरूप्रति सजग हुन आवश्यक छ । हामीमा भेडाको खोल ओडेको ब्वाँसो देख्दा, यो भेडा होइन ब्वाँसो हो भनेर भन्न सक्ने साहस हुनुपर्छ । 

(बिन्देल पत्रकार, लेखक एवं महिला अभियन्ता हुन्)
– अलजजिराबाट