१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
द इकोनोमिस्ट
२०८० जेठ ४ बिहीबार ०८:२७:००
Read Time : > 4 मिनेट
विश्व प्रिन्ट संस्करण

आपराधिक गिरोहको प्रभावमा मेक्सिको

स्थानीय प्रहरी, मेयर र राजनीतिज्ञसँग तिनको बलियो साँठगाँठ देखिन्छ 

Read Time : > 4 मिनेट
द इकोनोमिस्ट
२०८० जेठ ४ बिहीबार ०८:२७:००

३ मेमा मेक्सिकोले ड्रग्स कार्टेलले सिन्थेटिक ड्रग्स (लागुऔषध) बनाउन प्रयोग गर्ने रसायनको आयातमा कडा नियन्त्रण लागू गर्ने कानुन ल्यायो । यो कानुनलाई कठोर फौजदारी दण्ड संहिताको सहयोग छ । यसलाई मुलुकका आपराधिक गिरोहको सामना गर्न आलटाल गरिरहेका मेक्सिकोका पपुलिस्ट राष्ट्रपति आन्द्रेस म्यानुएल लोपेज ओब्रादोरको आश्चर्यजनक कदमका रूपमा हेरिएको छ । उनी देशमा व्याप्त पारिवारिक विघटन र गरिबीका लागि लागुऔषध र अव्यवस्थालाई दोष दिन रुचाउँछन् । वास्तवमा, उनको कार्यकालमा आपराधिक गिरोह थप शक्तिशाली मात्रै भएका छैनन्, उनीहरूको विविधीकरण पनि भएको छ । 

मेक्सिकोका तस्करले सधैँ नै आफूलाई परिस्थितिअनुसार ढाल्ने गरेका छन् । सन् १९८० को दशकमा तिनले कोलम्बियाबाट संयुक्त राज्य अमेरिकामा गाजा र त्यसपछि कोकिन तस्करी गरे । तर, गत दशकमा तिनले आफूहरूलाई विभिन्न समूहमा रूपान्तरित गरेका छन् । उनीहरूको जालो लागुपदार्थको व्यापारभन्दा बाहिर फिरौती, मानव तस्करी, हतियार–बिक्री र अवैध खननलगायत विस्तारित भएको छ । स्विट्जरल्यान्डस्थित गैरसरकारी संस्था ‘ग्लोबल इनिसियटिभ अगेन्स्ट ट्रान्सनेसनल अर्गनाइज्ड क्राइम’का रोमेन ले कोर ग्रान्डमाइसन भन्छन्, ‘हामी संगठित अपराधको प्रवृत्तिलाई लागुपदार्थ तस्करीको लेन्सबाट हेर्छाैँ, जबकि आज मेक्सिकोमा हामीमाझ माफियाजस्तो आपराधिक परिदृश्य विद्यमान छ ।’

तथापि, अमेरिकाको लागुऔषधविरुद्धको युद्धको दबाबले मात्र होइन, मेक्सिको सरकारले लागुपदार्थलाई नै केन्द्रमा राखेर प्रतिक्रिया जनाउन थालेको छ । सरकारमाथिको दबाब दुखाइ कम गर्ने औषधि ‘फेन्टानिल’को पछिल्लो संकटसँगै बढेको हो । अमेरिकी ड्रग इन्फोर्समेन्ट एडमिनिस्ट्रेसन (डिइए)का प्रमुखले गत महिना मेक्सिकोका दुई ठूला ड्रग्स तस्कर समूह ‘सिनालोआ कार्टेल‘ र ’जालिस्को न्यु जेनेरेसन कार्टेल (सिजेएनजी)’लाई ‘देशका सबैभन्दा ठूला लागुऔषध खतरा’का रूपमा वर्णन गरेका थिए ।

मुख्यतः यी दुई गिरोहको आम्दानीको सबैभन्दा ठूलो स्रोत लागुऔषध रहेको छ । संयुक्त राष्ट्रसंघको लागुऔषध तथा अपराधसम्बन्धी कार्यालयका अनुसार दक्षिण अमेरिकामा खेती गरिने र मेक्सिको हुँदै तस्करी हुने कोकिनको उत्पादन सन् २०१४ यता दोब्बरभन्दा बढीले वृद्धि भएको छ । स्थानीय बजारमा बिक्री हुने ‘मेथाम्फेटामाइन’ र अमेरिका तस्करी गरिने फेन्टानिलजस्ता लागुऔषधले यो व्यवसायलाई एकदमै आकर्षक बनाएको छ । ड्रग्स कार्टेल समूह ‘सिनालोआ कार्टेल’का प्रमुख ‘एल चापो’ भनेर चिनिने वाकिन गुज्मान अहिले कोलोराडोको जेलमा कैद छन् । गुज्मान पक्राउ परेपछि उन छोराहरूले उनको कार्टेलको नेतृत्व  गरे । गुज्मानका एक छोरासमेत पक्राउ परेपछि उनीविरुद्ध गत अप्रिलदेखि अमेरिकामा लागुऔषध तस्करीको मुद्दा दायर भएको छ । यसले पनि लागुऔषध व्यापारको फैलिँदो आकारबारे प्रकाश पार्छ । 

डिइएका अनुसार मेक्सिकोमा लागुऔषधको एक चक्की बनाउन १० सेन्ट लाग्छ, जुन थोक व्यापारीलाई ५० सेन्टमा बेच्न सकिन्छ । गाजा वा कोकिनको विपरीत विभिन्न रसायनको प्रयोग गरेर बनाइने यस्ता ड्रग्सको खेती गर्न विशाल जमिनको पनि आवश्यक पर्दैन । आवश्यक रसायन चीनबाट मेक्सिकन विमानस्थल वा बन्दरगाहमार्फत आयात गरिन्छ । चक्की बनाएर बजारमा पठाउनुअघि गिरोहहरूले ती रसायन प्रयोगशाला वा उत्तरी राज्यका परिवारका भान्सामा लगेर थन्क्याउँछन् । सिनालोआ कार्टेलको आम्दानीको ४० प्रतिशत हिस्सा ड्रग्सले ओगट्ने एक अधिकारीको अनुमान छ ।

गिरोहको विविधीकरण
विभिन्न कारणले गिरोहहरू विविधीकरण भएका छन् । ‘मेक्सिकनहरूले भनेजस्तै ‘एल नार्काे’ सबै थोक विनाश गरिदिने राक्षस नै हो,’ लेखक इआन ग्रिलोले भने । पहिलो त सरकारको आधिकारिक नीतिले नै यो समस्यालाई थप चर्कायो । तत्कालीन राष्ट्रपति फेलिपे काल्ड्रोनले सन् २००६ मा लागुऔषधविरुद्धको युद्ध सुरुआत गरेपछि आपराधिक गिरोहहरू विभिन्न समूहमा बाढिए र थप विस्तारित भए । ब्रसेल्सस्थित थिंक ट्यांक इन्टरनेसनल क्राइसिस ग्रुप (आइसिजी)का अनुसार मेक्सिकोमा सन् २०१० मा ७६ वटा आपराधिक गिरोह रहेकोमा सन् २०२० सम्ममा यो संख्या बढेर २०० भन्दा बढी पुगेको छ । तर, यी सबै समूहसँग तस्करी गर्ने र लागुपदार्थ बनाउने सामथ्र्य छैन । डिइएका अनुसार मेक्सिकोमा लागुऔषध–तस्करका नौवटा ठूला समूहसँग मात्र यस्तो क्षमता रहेको छ । 

मेक्सिकोको सुस्त आर्थिक वृद्धिपछाडि आपराधिक समूहको असुली धन्दाले पनि भूमिका खेलेको मानिन्छ । साना व्यवसाय गिरोहलाई पैसा बुझाउनुपर्ने भएकाले आफूलाई ठूलो हुने गरी विस्तार नै गर्न चाहँदैनन् ।

दोस्रो कारण हो लोपेज ओब्रादोरको सुरक्षा नीति । उनले गिरोहहरूलाई विस्तार हुन ठाउँ दिए । ‘अब्रजोस नो बालाजोस (गोली होइन, आलिंगन)’ भनिने उनको नीतिले विद्यमान गिरोहहरूको सामना गर्नै खोज्दैन । ‘यसले एक दशकअघि सुरु भएका आपराधिक समूहलाई औपचारिक अर्थ व्यवस्थाभित्र नै विस्तारित हुने ठाउँ दियो,’ अमेरिकी थिंक ट्यांक ब्रुकिंग्स इन्स्टिच्युसनकी भान्डा फेल्फाब–ब्राउन भन्छिन् । ‘आपराधिक गिरोहको लागुऔषधपछि आम्दानीको अर्काे ठूलो स्रोत निःसन्देह फिरौती असुली हो,’ लान्टिया इन्टेलिजेन्स नामक परामर्शदाता कम्पनीकी एडुआर्डाे गुरेरोले भने । यी समूहले सबैबाट पैसा असुल्छन्, चाहे ती ठेला व्यापारी हुन वा तीर्थयात्री । उनीहरूलाई हप्ता बुझाउन सबै बाध्य छन् । धार्मिक यात्रा इस्टरको जुलुसमा सहभागी हुनसमेत मानिसहरू पैसा दिन बाध्य भए । सन् २०२२ मा अवैध असुलीको गुनासो दर्ताको संख्या पाँच वर्षपहिलेको तुलनामा लगभग दोब्बरले बढी थियो ।

तथापि, सबैभन्दा ठूलो पैसा कृषि र खानीजस्ता क्षेत्रका व्यवसायको असुलीबाट आउँछ । मेक्सिकोको हरियो सुन भनिने एभोकाडो यसको राम्रो उदाहरण हो । मेक्सिकोले विश्वमा लगभग एकतिहाइ एभोकाडो आपूर्ति गर्छ, जसमध्ये अधिकांश एभोकाडोको खेती पश्चिमी राज्य मिचोआकानमा गरिन्छ । ‘यो गिरोह खेतको आकारको डेटासहित आउँछ र मूल्य बढाउनका लागि स्टक होल्ड गर्न अह्राउँछ,’ एक किसानले भने ।

मानव तस्करी आयको अर्काे क्षेत्र हो । सीमामा कडाइ हँुदै गर्दा सीमापार गर्न खोज्नेहरूको संख्यामा भने वृद्धि भयो । यसका लागि तिर्नुपर्ने पैसामा पनि भारी वृद्धि भयो । गिरोहहरूले आप्रवासीलाई अपहरण गरेर तिनका अमेरिका वा अन्यत्र रहेका नातेदारबाट पैसा असुल्ने धन्दा पनि चलाउने गरेका छन् । मेक्सिकोको अध्यागमन निकायले गत वर्ष अपहरणमा परेका दुई हजारभन्दा बढी आप्रवासीलाई मुक्त गरेको थियो । यसरी अपहरणमा पर्ने कैयाैँ त कहिल्यै भेटिँदैनन् ।

यसबीच, मेक्सिकोमा हरेक दिन हराउने २५ जनामध्ये १२ देखि १५ वर्षका किशोरीको संख्या बढ्दो छ, जसमध्ये धेरैलाई वेश्यावृत्तिमा लगाइने गरिएको छ । यसैगरी, मेक्सिकोमा बन्दुकमा कडाइ गरिएको भए पनि गिरोहहरूले अमेरिकाबाट बन्दुक तस्करी गर्ने गर्छन् । ग्लोबल इनिसियटिभ अगेन्स्ट ट्रान्सनेसनल अर्गनाइज्ड क्राइम प्राकृतिक स्रोतको ओसारपसार अर्काे आकर्षक क्षेत्र भएको बताउँछ । सन् २०१४ मा मेक्सिकोको सरकारले पहिलोपटक गिरोहहरूले मिचोआकानमा अवैध फलामखानीहरू सञ्चालन गरिरहेको र प्राकृतिक स्रोतहरूको तस्करी गर्ने गरेको स्विकारेको थियो । 

इलाका नै कब्जा गर्ने प्रवृत्तिका कारण हिंसामा वृद्धि भएको छ । ठूलो परिमाणमा लागुपदार्थको तस्करी गर्न गिरोहहरूले इलाका नै कब्जा गर्न खोज्दा देशभर हिंसात्मक झडप बढेका छन् । विशेषगरी मिचोआकानमा उनीहरू बढी नै उग्र छन्, जहाँ कम्तीमा ३५ समूह स्रोत–साधनमा कब्जाका लागि प्रतिस्पर्धा गर्छन् । अहिले उनीहरूले लागुपदार्थको व्यापारबाट प्राप्त आम्दानीबाट सेनासरह हतियार प्रयोग गर्न थालेका छन् । मेक्सिकोमा हत्याको आँकडा डरलाग्दो छ । सन् २०२१–२०२२ को बीचमा हत्याका घटनामा सात प्रतिशतले कमी आएको देखिन्छ । तर, यति हुँदा पनि सन् २०२२ मा ३१ हजारको हत्या भयो । बेपत्ता हुनेको संख्या भने बढेको छ, जसमध्ये अधिकांशलाई लाससमेत नभेट्टाउने गरी बेपत्ता बनाइएको छ । ‘विगतमा गिरोहहरू अवैध अर्थतन्त्रमा मात्र संलग्न हुने गर्थे, तर आज हरेक नागरिक र व्यवसाय उनीहरूको नियन्त्रणमा पुगेका छन्,’ फेलबाब–ब्राउन भन्छिन् ।

वर्तमान राष्ट्रपतिको कार्यकालमा सुरक्षा र भ्रष्टाचारप्रति सामान्यतः निष्क्रियता नै देखिएको छ । यसले दोस्रो परिणाम निम्त्याएको छ– राज्यभित्र भ्रष्टाचार गहिर्‍याएको छ । यसले गिरोहहरूलाई थप विविधीकरण हुन अनुमति दिएको छ । अधिकारीहरूले जहिले पनि संगठित अपराधसँग सम्झौता गरेका छन् ।

लोकतान्त्रीकरण र शक्तिको विकेन्द्रीकरणले शक्ति सन्तुलनलाई अपराधीहरूको पक्षमा झुकाएको छ । आपराधिक समूहहरूको स्थानीय प्रहरी, मेयर र राजनीतिज्ञहरूसँग बलियो साँठगाँठ देखिन्छ । यसले उनीहरूलाई सडक र अन्य पूर्वाधार निर्माणका सरकारी ठेक्काहरू हत्याउन सघाएको छ । चिन्ता त के भने गिरोहहरूले चुनावमा अभूतपूर्व प्रभाव देखाउन थालेका छन् । सन् २०२१ को मध्यावधि अघि करिब ४० उम्मेदवारलाई यी गिरोहले मारेका थिए ।

गिरोहले व्यवसाय र समाजमा पनि व्यापक प्रभाव पारिरहेका छन् । टेक डी मोन्टेरी विश्वविद्यालयकी टेरेसा मार्टिनेज केही फर्म आफ्नो सुरक्षाका लागि यी समूहको शरण लिनुको विकल्पै देख्दैनन् भन्छिन् । मेक्सिकोको सुस्त आर्थिक वृद्धिको एउटा कारण गिरोहहरूको असुली धन्दा पनि हो । साना व्यवसाय गिरोहहरूलाई पैसा बुझाउनुपर्ने भएकाले आफूलाई ठूलो हुने गरी विस्तार नै गर्न चाहँदैनन् ।

मेक्सिकोमा गिरोहहरूको यति विस्तार भएको छ कि यसलाई ‘आपत्काल’ नै भन्न थालिएको छ । निःसन्देह गिरोहहरूका उत्परिवर्तनले तिनको सामनालाई कठिन बनाउँछ । यसका लागि व्यापक राष्ट्रिय पहलको खाँचो छ । भ्रष्टाचारलाई निर्मूल पार्ने, क्रियाशील न्याय प्रणाली सिर्जना गर्ने अनि राज्यको आम्दानीलाई पुनः स्थापित गर्ने (साथै संयुक्त राज्य अमेरिकामा हुने लागुपदार्थको खपतलाई पनि सम्बोधन गर्ने) जस्ता पहलकदमीको खाँचो छ । तर, फेन्टानिलले पु¥याएको क्षतिसँगै अमेरिका र मेक्सिकोले लागुपदार्थ नियन्त्रणमा खासै ध्यान नदिइरहेकाले यसमा परिवर्तनको सम्भावना कम देखिन्छ ।