
यस वर्ष नेपालबाट झन्डै १२ सय हजयात्री साउदी अरबको मक्का मदिना जाने भएका छन् । नेपालबाट हजमा जान एक हजार १७० जनाले आवेदन दिएको हज समिति सदस्य तथा प्रवक्ता रासिद मिर्जाले बताए ।
उनका अनुसार साउदी सरकारले यस वर्ष एक हजार दुई सयजनाका लागि कोटा दिएको छ । हजयात्रीहरूलाई एयर अरेबियाका ११ वटा विभिन्न फ्लाइटमार्फत साउदी पुर्याइने सम्झौता भएको उनले बताए ।
मिर्जाका अनुसार हजयात्राका लागि काठमाडौंस्थित कस्मिरी मस्जिदमा प्रशिक्षण दिइनेछ । यस वर्ष प्रतिहजयात्री तीन लाख ७० हजार रुपैयाँ शुल्क लिइएको छ । गत वर्ष प्रतिहजयात्री चार लाख १५ हजार रुपैयाँ लिइएको थियो । हजयात्रा सम्पन्न गरी फर्किएपछि प्रत्येक यात्रीलाई २३ हजार ७०४ रुपैयाँको दरले हज कमिटीले फिर्ता दिइएको थियो ।