
धनगढी नमुना माविले गत शैक्षिक सत्रभरि कक्षा १२ का विद्यार्थीलाई निर्धारितभन्दा फरक विषय पठनपाठन गराएको पाइएको छ । प्राविधिक तथा व्यावसायिक धारतर्फ सिभिल इन्जिनियरिङ अध्ययनरत विद्यार्थीले वार्षिक परीक्षा दिने क्रममा अध्ययन गरेकोभन्दा फरक विषयको प्रश्नपत्र पाएपछि विद्यालयले विषय छनोटमा गल्ती गरेको खुलेको हो ।
विद्यालयले विषय छनोटमा गल्ती गर्दा यो विद्यालयमा प्राविधिक तथा व्यावसायिक धारतर्फ कक्षा १२ मा अध्ययनरत ४८ जना विद्यार्थीको सामाजिक अध्ययन विषयको परीक्षा बिग्रिएको छ । पाठ्यक्रम विकास केन्द्रले कक्षा १२ मा प्राविधिक तथा व्यावसायिक धारतर्फ सामाजिक अध्ययन विषय निर्धारण गरेको छ । तर, धनगढी नमुना माविले भने यसको साटो साधारण धारतर्फको सामाजिक अध्ययन तथा जीवनोपयोगी शिक्षा विषय अध्यापन गराएको छ ।
वर्षभरि अध्ययन गरेको सामाजिक अध्ययन तथा जीवनोपयोगी शिक्षा विषयको परीक्षा दिन गएका विद्यार्थी आफूले पढ्दैनपढेको सामाजिक अध्ययन विषयको प्रश्नपत्र पाएपछि अलमलमा परेका थिए । ‘यो विषय हामीलाई पढाइएको थिएन, अधिकांश प्रश्न पढ्दैनपढेको विषयको आएपछि उत्तरपुस्तिका खाली छोडेर आएँ,’ एक विद्यार्थीले भने । आफू फेल हुने चिन्तामा रहेको उनले बताए । सरस्वती मावि मनेहरा परीक्षा केन्द्रमा गत शुक्रबार परीक्षा भएको थियो ।
विद्यार्थीका अनुसार विषय फरक परेको खुलेपछि परीक्षामा मोबाइल चलाउन दिइएको थियो । ‘कतिपय साथीहरूले मोबाइलमा उत्तर खोजेर केही लेखे,’ ती विद्यार्थीले भने, ‘मोबाइल नबोल्नेले खाली उत्तरपुस्तिका बुझाए ।’ फरक विषयको प्रश्नपत्र आएपछि विद्यार्थीहरू सामाजिक विषयमा फेल हुने भन्दै चिन्तामा छन् ।
अभिभावकले यसबारे छानबिन हुनुपर्ने माग गरेका छन् । ‘विद्यार्थीको भविष्यमाथि गम्भीर खेलबाड भएको छ । कसको कमजोरीले यस्तो भएको हो छानबिन गरेर दोषीलाई कारबाही गरिनुपर्छ,’ अभिभावक दीपकबहादुर ओलीले भने ।