१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १६ आइतबार
  • Sunday, 28 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०८० बैशाख ३१ आइतबार ०८:३०:००
Read Time : > 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

उदयपुर सिमेन्ट उद्योग नियमित चलाउन उद्योगमन्त्रीको निर्देशन

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०८० बैशाख ३१ आइतबार ०८:३०:००

उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले सरकारी स्वामित्वको उदयपुर सिमेन्ट उद्योग नियमित र पूर्ण क्षमतामा चलाउन निर्देशन दिएका छन् । जलजलेस्थित उदयपुर सिमेन्ट उद्योग लिमिटेडको शनिबार अनुगमन तथा निरीक्षण गर्दै मन्त्रीले यस्तो निर्देशन दिएका हुन् । मन्त्रीले आवश्यक सहयोग तथा बजेट उपलब्ध गराउन आफू तयार रहेको बताउँदै उद्योगलाई नियमित र पूर्ण क्षमतमा चलाउन कर्मचारीलाई निर्देशन दिएका हुन् । ‘मेसिनका पार्टपुर्जा फेर्नुपर्ने, नयाँ मेसिन जडान गर्नुपर्ने भए सोअनुसार व्यवस्था गरी उद्योग सञ्चालनलाई निरन्तरता दिनुहोस्,’ उनले भने, ‘उद्योग सञ्चालन र यसको निरन्तरताका निमित्त उद्योग मन्त्रालय गम्भीर रहेको छ, अपुग आवश्यक रकमका लागि प्रधानमन्त्री कार्यालय तथा अर्थ मन्त्रालयसँग आफूले कुरा गर्नेछु, तर उद्योग चाहिँ नियमित चलाउनुहोस् ।’

मन्त्री रिजालले उद्योगको प्लान्ट तथा खानी क्षेत्रको स्थलगत अनुगमन तथा निरीक्षण गरेका हुन् । उद्योगका महाप्रबन्धक गोपीकृष्ण न्यौपानेले मन्त्रीलगायतको टोलीलाई प्लान्ट तथा खानी क्षेत्रको स्थलगत जानकारी गराए । अनुगमनका क्रममा मन्त्री रिजालले उद्योगको खानी विभागमा कार्यरत कर्मचारीहरूसँग भेट गरे । कर्मचारीहरूले मन्त्री रिजालसमक्ष आ–आफ्ना समस्या तथा गुनासो राख्दै सम्बोधन गरिदिन आग्रह गरेका थिए । अनुगमन तथा निरीक्षणमा आफ्नो मुख्य उद्देश्य नै कर्मचारीहरूको भावना बुझ्ने रहेको बताउँदै मन्त्री रिजालले यथाशीघ्र सबै समस्याको समाधान गर्नेतर्फ आफू अग्रसर रहने बताए ।

उक्त अवसरमा उद्योगभित्रका चार युनियन (समग्र उद्योग ट्रेड युनियन नेपाल, नेपाल कारखाना श्रमिक संघ, अखिल नेपाल औद्योगिक मजदुर संघ र नेपाल औद्योगिक मजदुर संगठन)ले साझा धारणासहित मन्त्री रिजाललाई ज्ञापनपत्र बुझाए । वेला–वेलामा उद्योग बन्द हुने गरेकोलगायतका समस्या सम्बोधन गरिदिन आग्रह गर्दै चार युनियनले निरन्तर उद्योग चल्ने वातावरणको सिर्जना गरिदिन मन्त्री रिजाललाई आग्रह गरे । 

मन्त्री रिजालले सहज उपाय निकालेर देखिएका सबै समस्या समाधान गर्ने बताउँदै उद्योगलाई सबल बनाउन सबै तहका कर्मचारीहरू एकजुट हुनुपर्नेमा जोड दिए । ‘यो उद्योग तपाईंहरूकै हो, यसलाई आफ्नै सम्झेर काम गर्नुहोस्,’ उनले भने ।