मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० असोज १३ शनिबार
  • Saturday, 30 September, 2023
२०८० बैशाख २५ सोमबार १६:५८:००
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

वनमा भवन निर्माण गर्न पछि हट्यो कांग्रेस कैलाली

Read Time : > 1 मिनेट
२०८० बैशाख २५ सोमबार १६:५८:००

गोदावरी सामुदायिक वनमा भवन निर्माण गर्ने कदमबाट कांग्रेस कैलाली पछि हटेको छ। गोदावरी नगरपालिका– १ स्थित सुरक्षा महिला सामुदायिक वन क्षेत्रभित्र पार्टी कार्यालय भवन निर्माणका लागि शिलान्यास गरेर प्रक्रिया अगाडि बढाएकामा चौतर्फी विरोध र आलोचना भएपछि पछि हटेको हो।

सामुदायिक वनमा सुकुमबासीका हटरा भत्काए पनि पार्टीको भवन निर्माण गर्न दिइएको भन्दै चौतर्फी विरोध र आलोचना भएपछि सब–डिभिजन वन कार्यालय गोदावरीको निर्देशनमा भवन निर्माणको काम रोकिएको हो।

कांग्रेस क्षेत्र नम्बर ४ का सभापति वसन्त रोकायाले वनछेउको खाली जमिनमा १५ लाख लागतमा बिपी स्मृति भवन बनाउन लाग्दा विपक्षीले राजनीतीकरण गरेको आरोप लगाए। ‘बिपी स्मृति भवन, मनमोहन स्मृति भवन, मदन स्मृति भवन अन्यत्र पनि बनेका छन्। यहाँ राजनीतीकरण गर्न खोजियो,’ रोकायाले भने, ‘हामी नियम–कानुन मान्ने पार्टी हो। विरोध आयो, भवन निर्माणको काम रोकेका छाैँ।’

कैलाली ४ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य एवं कांग्रेस प्रदेश सभापति वीरबहादुर बलायरले वनको क्षेत्रभित्र बन्न लागेको बिपी स्मृति भवनको गत बुधबार शिलान्यास गरेका थिए।

स्थानीय प्रशासन र गोदावरी नगरपालिकाको सहयोगमा डिभिजन वन कार्यालय धनगढीले गत सोमबार मात्रै गोदावरी– ३ वन क्षेत्रमा भूमिहीन र सुकुमबासीका नाममा बनाइएका साढे चार सय टहरा डोजर लगाएर भत्काएको थियो। सुकुमबासीका टहरा भत्काउने, तर पार्टीका नाममा वनभित्र पक्की संरचना बनाउन थालिएको भन्दै विरोध भएपछि सब–डिभिजन वन कार्यालयले आफ्नो क्षेत्रभित्र भवन निर्माणको काम रोक्न सामुदायिक वनलाई निर्देशन दिएको थियो।

वन क्षेत्रमा भवन निर्माणको काम रोक्न लगाइएको सब–डिभिजन प्रमुख नीराजन कडालले बताए। भवनको जग हाल्नका लागि खनिएका खाल्टो पुरेको उनले बताए। ‘वन क्षेत्रमा भवन नबनाउन भनेका छौँ,’ कडालले भने, ‘अटेर गरेर पुनः काम सुरु गरे पक्राउ गरेर मुद्दा चलाउँछौँ।’

वनबाट सुकुमबासी हटाएको नगरपालिका र वन उपभोक्ता समितिले पार्टी कार्यालय निर्माण गर्न दिएको भन्दै स्थानीय विरोधमा उत्रिएका थिए। गोदावरी नगरपालिकाको सहयोग र समन्वयमा डिभिजन वनले वनभित्रका सुकुमबासीका टहरा भत्काउँदा पार्टी कार्यालय भवन शिलान्यासमा भने कांग्रेसबाट निर्वाचित गोदावरीका मेयर वीरेन्द्र भट्ट पनि सहभागी थिए।