
गोकर्णेश्वर नगरपालिकाले २३ वैशाख, शनिबार आयोजना गर्नेे गजल महोत्सवमा ४१ वटा गजल वाचन हुने भएको छ । चार सय ५६ गजलकारले पठाएका सिर्जनाहरूमध्येबाट अन्तिम प्रतिस्पर्धाका लागि ४१ गजल चयन गरिएको आयोजक कमिटीका संयोजक गोविन्द घिमिरे ‘वेदमणी’ ले जानकारी दिए ।
गोकर्णेश्वरलाई साहित्यको हब बनाउने उद्देश्यसहित प्रत्येक वर्ष कुनै न कुनै साहित्यिक विधाको प्रतियोगिता गराउँदै आएको नगरपालिकाले यस वर्ष गजल महोत्सव आयोजना गर्न लागेको हो । प्रतियोगितामा नेपालबाहेक दुई दर्जनभन्दा बढी देशबाट पनि गजलकारहरूले सहभागिता जनाएको नगरपालिकाले उल्लेख गरेको छ ।
नगरप्रमुख दीपककुमार रिसालले गोकर्णेश्वर चर्चित साहित्यकारहरूको भूमि रहेको बताए । उनले भने, ‘गोकर्णेश्वरले साहित्यको महत्व बुझेको छ । किनकि, हामीलाई रमेश विकल, भैरव अर्यालजस्ता चर्चित साहित्यकारहरूले यसको महत्व बुझाएर जानुभएको छ ।’
महोत्सवमा प्रथम पुरस्कार ६० हजार रुपैयाँ, दोस्रो पुरस्कार ४० हजार रुपैयाँ, तेस्रो पुरस्कार ३० हजार रुपैयाँ र पाँचजना प्रत्येकलाई २० हजार रुपैयाँ पुरस्कार र प्रमाणपत्र प्रदान गर्ने जनाइएको छ । कार्यक्रम आउँदो शनिबार गोकर्णेश्वर आरुबारीमा हुने भएको छ ।