मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ४ मंगलबार
  • Tuesday, 16 April, 2024
तत्कालीन गृहमन्त्री रामबहादुर थापा ‘बादल’का सुरक्षा सल्लाहकार डा. इन्द्रजित राई
टेकराज थामी काठमाडाैं
२०८० बैशाख २० बुधबार ०६:०७:००
Read Time : > 2 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

तत्कालीन गृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार राई पक्राउ 

भुटानी शरणार्थीका आवरणमा ठगी प्रकरण 

Read Time : > 2 मिनेट
टेकराज थामी, काठमाडाैं
२०८० बैशाख २० बुधबार ०६:०७:००

थापा गृहमन्त्री हुँदा डा. इन्द्रजित राई फागुन ०७४ देखि असार ०७८ सम्म सुरक्षा सल्लाहकारका रूपमा गृह मन्त्रालयमा कार्यरत थिए, त्यही अवधिमा ठगी गिरोहलाई सघाएको प्रहरी दाबी छ

भुटानी शरणार्थीको आवरणमा अमेरिका पठाउने भन्दै ठगी भएको घटनामा गृह मन्त्रालयको संलग्नता पुष्टि भएको छ । प्रहरीले तत्कालीन गृहमन्त्री रामबहादुर थापा ‘बादल’का सुरक्षा सल्लाहकार डा. इन्द्रजित राईलाई पक्राउ गरेको छ । यस प्रकरणमा अहिलेसम्म पक्राउ परेकामा राई सबैभन्दा उच्च तहका व्यक्ति हुन् । 

डा. राईविरुद्ध पीडितहरूले एक महिनाअघि नै जाहेरी दिए पनि अनुसन्धानका क्रममा उनको संलग्नता पुष्टि भएपछि मात्र प्रहरीले पक्राउ गरेको हो । जिल्ला प्रहरी परिसर काठमाडौंबाट खटिएको प्रहरी टोलीले उनलाई ललितपुरको सौखेलस्थित निवासबाटै पक्राउ गरेको हो । उनलाई काठमाडौं परिसरको टेकुस्थित हिरासतमा राखिएको छ । 

प्रहरीका अनुसार उनीविरुद्ध संगठित अपराध र ठगीसम्बन्धी कसुरमा कारबाही अघि बढाइएकोे छ । काठमाडौं परिसरका प्रवक्ता एसपी सीताराम रिजालले राईविरुद्ध संगठित अपराध र ठगी मुद्दाअन्तर्गत अनुसन्धान अघि बढेको बताए । 

‘इन्द्रजित राई पक्राउ परेका छन् । नक्कली भुटानी शरणार्थी बनाउने धन्दामा संलग्न हुनेविरुद्ध प्रहरीको अनुसन्धान जारी छ । यही क्रममा उनलाई पक्राउ गरिएको हो । उनीविरुद्ध संगठित अपराध र ठगी मुद्दाअन्तर्गत अनुसन्धान भइरहेको छ,’ उनले भने । 

यसअघि प्रहरीले सो मुद्दामा पाँचजनालाई पक्राउ गरिसकेको छ । पक्राउ परेकामध्ये सानु भण्डारीको डा. राईसँग निकटतम सम्बन्ध देखिएको थियो । भण्डारीले आफूले उठाएकोमध्ये केही पैसा उनलाई बुझाएको बयान दिएका छन् । ‘भण्डारीको बैंकिङ कारोबारबाट त्यो पुष्टि भएको छ,’ अनुसन्धानमा आबद्ध एक प्रहरी अधिकारीले भने, ‘गृह मन्त्रालयकै सहयोगमा यो ठगी भएको पुष्टि हुँदै गएको छ । राईसँग गृहका अन्य व्यक्तिहरूविरुद्ध पनि प्रमाण जुटेका छन् ।’ 

गृहका तत्कालीन अधिकारी तथा केही उच्चपदस्थ कर्मचारीउपर पनि छानबिन अघि बढेको प्रहरी अधिकारी बताउँछन् । डा. राई ०७४ को फागुनदेखि ०७८ को असारसम्म तत्कालीन गृहमन्त्री बादलको सुरक्षा सल्लाहकार थिए । 

सोही ठगीमा संलग्न भएको भन्दै डा. राईका छोरा नीरजविरुद्ध पक्राउ पुर्जी जारी गरिसकेको छ । घटनामा पूर्वगृहमन्त्री बादलका छोरा प्रतीक थापा पनि संलग्न रहेको अनुसन्धानबाट खुलेको प्रहरी स्रोत बताउँछ । 

परिसरका प्रवक्ता एसपी रिजालले नीरजविरुद्ध पक्राउ पुर्जी जारी भएको स्विकारे । उनले भने, ‘राईका छोरा नीरजविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । घटनामा संलग्न अन्यविरुद्ध पनि पक्राउ पुर्जी जारी हुन्छ । उनीहरूको नामावली अहिले सार्वजनिक गर्न जरुरी छैन ।’

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले ठगीमा संलग्न केशव दुलाल, सानु भण्डारी, सागर थुलुङ राई, सन्देश शर्मा र टंक गुरुङलाई पक्राउ गरिसकेको छ । पक्राउ परेकामध्ये दुलाल पूर्वपरराष्ट्रमन्त्री सुजाता कोइरालाका निजी सहायक थिए । शर्मा र भण्डारी पूर्वऊर्जामन्त्री टोपबहादुर रायमाझीका सहयोगी थिए ।

पीडितको उजुरी र उनीहरूमाथिको अनुसन्धानमा राईको संलग्नता पुष्टि भएपछि मात्र प्रहरीले उनलाई पक्राउ गरेको हो । उनीहरूले राईका छोरा नीरज र बादलका छोरा प्रतीक पनि धन्दामा संलग्न रहेको बयान दिएका छन् । साथै उच्चपदस्थ निजामती कर्मचारीले पनि गिरोहलाई सघाएका थिए । 

ठगीकै योजनाअन्तर्गत भुटानी समस्या स्थायी समाधानका लागि भन्दै ०७७ को जेठमा एक कार्यदल बनेको थियो । जसमा छुटेका शरणार्थीको नाममा नेपालीको नाम राखेर ठग्ने योजना बनेको थियो । सोहीअन्तर्गत प्रतिवेदनमा पैसा उठाइएका व्यक्तिहरूको नाम राखिएको थियो । यद्यपि, त्यो सूची सक्कली–नक्कली खुल्न सकेको छैन । गृहले प्रहरीलाई पठाएको प्रतिवेदनमा भने उनीहरूको सूची राखिएको छैन । 

पूर्वसहसचिव बालकृष्ण पन्थीको अध्यक्षतामा गठन भएको कार्यदलकै आडमा ठगी भएको प्रहरी अधिकारी बताउँछन् । ठगीमा संलग्नहरूको कार्यदलका सदस्यसँग पनि निकटता थियो । उनीहरूले पीडितहरूलाई तत्कालीन गृहमन्त्रीका सचिवालयका व्यक्ति तथा कर्मचारीलाई बारम्बार भेटाउने गर्दथे । 

तर, पछि अमेरिका पठाउन नसकेपछि पीडितहरू प्रहरीमा गएका थिए । ठीक एक वर्षअघि प्रहरीले ठगीमा संलग्न केहीलाई पक्राउसमेत गरेकामा दबाबको भरमा छुटेका थिए । उच्चपदस्थ व्यक्ति मुछिन सक्ने भएकाले त्यसवेला छाडिएको थियो । अहिले पनि सो मुद्दामा उच्चपदस्थलाई जोगाउन प्रयास भइरहेको स्रोत बताउँछ । त्यसरी उठाइएको पैसा उच्चपदस्थ व्यक्तिहरूसम्म पुगेकाले उनीहरूलाई जोगाउन प्रहरी र सरकारी वकिलमाथि दबाब परिरहेको छ । 

करिब नौ सय ठगिएकोमा एक सय ६० ले प्रहरीमा जाहेरी दिएका छन् । एकै परिवारसँग गिरोहले डेढ करोडसम्म उठाएको थियो । यो प्रकरणमा करिब एक अर्ब ठगी भएको प्रारम्भिक रिपोर्ट छ ।