१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २२ शनिबार
  • Saturday, 04 May, 2024
२o८१ बैशाख २२ शनिबार १३:o३:oo
Read Time : > 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

ठेकेदारको लापरबाहीले दुनै-ल्यासिक्याप सडक अलपत्र

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २२ शनिबार १३:o३:oo

भेरी करिडोरअन्तर्गत पर्ने दुनै-ल्यासिक्याप सडकको काम अलपत्र परेको छ। निर्माण व्यवसायीको लापरबाहीले दुनै-ल्यासिक्याप सडकको काम अलपत्र परेको काइके गाउँपालिकाले जनाएको छ।

सडक निर्माणको जिम्मेवारी लिएको निर्माण व्यवसायीले काम नगर्दा आफूहरू हैरान भएको भन्दै गाउँपालिकाका अध्यक्ष अंगद रानाले पटक-पटक पत्र लेख्दै सहयोग गरिदिन आग्रह गरेका छन्। 

दुनैसम्म सडक सञ्जाल जोडिए पनि त्योभन्दा माथि जान समस्या भएको भन्दै अध्यक्ष रानाले तत्काल काम सुरु गर्न निर्माण व्यवसायीलाई पत्र लेखे। तर, निर्माण व्यवसायीले अटेरी गरेको उनले बताए। 

गाउँपालिकाले सडक निर्माण कार्य तत्काल सुरु गराउन आवश्यक सहयोग गरिदिन आग्रह गर्दै जिल्ला प्रशासन कार्यालयलाई पत्रसमेत लेखेको छ। 

२९ मंसिर ०७९ देखि बाटो पूर्ण रूपमा बन्द छ। उक्त सडक निर्माणको जिम्मा सूर्य श्रेया शान्तिदेवी जेभी काठमाडौंले १३ करोड ४२ लाखमा ठेक्का लिएको हाे। जेभीले १७ चैत ०७८ मा सम्झौता गरेर १६ पुस ०८२ सम्म  निर्माण कार्य पूरा गर्ने सहमति भएकाे सडक डिभिजन चौरजहारीका प्रमुख आशुतोष कर्णले बताए। 

‘तीनवटा डोजर सडक निर्माण गर्नका लागि भन्दै राखेको मात्र छ, काम गर्दैन, एक वर्ष भइसक्यो,’ गाउँपालिका अध्यक्ष रानाले बताए। उपल्लो डोल्पाका तीनवटा पालिका जोड्ने याे मुख्य सडक हाे। २५ किलोमिटर सडक निर्माण गर्नका लागि भएको ठेक्काको काम अहिलेसम्म दुई किलोमिटर पनि पूरा भएकाे छैन।

काइके, डोल्पोबुद्ध र छार्काताङसुङ गाउँपालिकामा जाने मुख्य बाटो भएकाले निर्माण कार्य अलपत्र पर्दा निर्माण सामग्रीदेखि दैनिक उपभोग्य सामग्री ढुवानी गर्न समस्या भएकाे गाउँपालिकाले जनाएको छ।

निर्माण व्यवसायी ध्रुव शाहीले गाउँपालिकाले भन्नेबित्तिकै बाटो खनिहाल्ने काम नहुने र आफ्नै तरिकाको काम गर्ने बताए। ‘उनीहरूको सजिलोका लागि हामीले काम गर्ने हो र ? हामीले आफ्नो अनुकूलतामा पो काम गर्ने हो। गाउँपालिकाले निहुँ खोजे काम नै गर्दैनाैँ। गाउँपालिकाका अध्यक्षले सिन्डिकेट गर्न खोजे स्वीकार गर्दैनाैँ,’ उनले भने, ‘लासिक्यापभन्दा माथिको बाटो खन्नका लागि ठेक्का गर्नुपर्ने भएकाले गाउँपालिकाले हामीलाई ताकेता गरिरहेको छ। ठेक्का जेसुकै होस् मलाई मतलब भएन, म काम नै गर्दिनँ।’  

उता सडक डिभिजन चौरजहारीका प्रमुख आशुतोष कर्णले सडक निर्माण गर्दा थोरै केही ढिला भएको बताए। उनका अनुसार एक वर्षमा सात किलोमिटर सडक खन्नुपर्नेमा त्यो नभएको उनले स्वीकार गरे। 

उनले अहिले भेरी करिडोर सडक डिभिजन चौरजहारीबाट छुट्याएर अलग बनाएर काम गर्न लागिएको बताए। उनका अनुसार जाजरकोटमा सम्पर्क कार्यालय र डोल्पामा कार्यालय स्थापना गर्न खोजिए पनि कार्यालय प्रमुख नहुँदा समस्या भएको छ।
 

ad
ad