![](https://nayapatrika.blr1.cdn.digitaloceanspaces.com/news/images/television-industri2023-04-26-09-06-36.jpeg)
उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले कोरियाली लगानीकर्तालाई नेपालको औद्योगिक क्षेत्रमा लगानी गर्न आग्रह गरेका छन् ।
बुधबार नवलपरासीमा ल्यान्डमार्क टेलिभिजन कारखानाको उद्घाटन गर्दै मन्त्री रिजालले यस्तो आग्रह गरेका हुन् । उनले नेपालमा नियम कानुनमा कुनै बाधा अड्चन भए समाधान गरेर सरकारले लगानीको सहज वातावरण तयार गर्ने स्पष्ट पारे ।
त्यसअघि सामसङको यो नयाँ टेलिभिजन कारखानाको उद्घाटन मन्त्री रिजाल र सामसङ दक्षिण–पश्चिम एसियाका अध्यक्ष एवं प्रमुख कार्यकारी अधिकृत जेबी पार्कले संयुक्त रूपमा गरेका थिए ।
कारखाना स्थापना भएसँगै देशको अर्थतन्त्रमा ठूलो प्रभाव पार्ने विश्वास गरिएको छ । नेपालमा बहुराष्ट्रिय कम्पनीले इलेक्ट्रोनिक्स उत्पादन गर्न स्थापना गरेको यो नै पहिलो उदाहरण रहेको कम्पनीले जनाएको छ ।
उद्घाटन कार्यक्रममा बोल्दै गोल्छा समूहका अध्यक्ष एवं प्रबन्ध निर्देशक शेखर गोल्छाले विश्वकै सबैभन्दा बृहत् इलेक्ट्रोनिक्स कम्पनीले नेपाली बजारप्रति गहिरो अभिरुचि देखाएको बताए ।
नेपाल र नेपालीको लागि यो महत्वपूर्ण संकेत रहेको भन्दै उनले यस क्षेत्रलाई प्रवर्द्धन गर्ने उपयुक्त नीतिहरूसँगै देशको अर्थतन्त्रमा रोजगारी, मूल्य अभिवृद्धि र देशको सीमापारिका अवसरहरूका रूपमा धेरै सकारात्मक योगदानहरू देख्न सकिने बताए ।
उनले अन्य इलेक्ट्रोनिक्स समानहरू उत्पादन गर्न नेपालमा कारखाना स्थापना गर्न उपयुक्त रहेको बताए।
त्यस क्रममा गोल्छा समूहका अध्यक्ष शेखर गोल्छा, नेपालका लागि गणतन्त्र कोरियाका राजदूत पार्क चोङ सुक, सामसङ इलेक्ट्रोनिक्सका नेपाल प्रमुख सुङ जुनपार्कलगायत अन्य स्थानीय अधिकारीहरूको उपस्थिति रहेको थियो ।