१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १९ बुधबार
  • Wednesday, 01 May, 2024
२o८१ बैशाख १९ बुधबार o६:२१:oo
Read Time : > 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

डुम्रे–बेँसीसहर सडकको उदीपुरखण्ड एक महिना दैनिक १२ घन्टा बन्द हुने

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख १९ बुधबार o६:२१:oo

लमजुङको सदरमुकाम बेँसीसहर जोड्ने एक मात्र डुम्रे–बेँसीसहर सडकखण्ड दैनिक १२ घन्टा बन्द हुने भएको छ । बेँसीसहर नगरपालिका– १ उदीपुरस्थित देउरालीडाँडामा सडक निर्माण कार्य गर्नुपर्ने भएकाले शुक्रबारबाट एक महिनाका लागि दैनिक १२ घन्टा सडक बन्द हुने भएको हो । 

पहिरो रोकथाम तथा सडक निर्माण कार्यअन्तर्गत स्लोप ट्रमिङ र टेवा पर्खाल निर्माण कार्य गर्नुपर्ने भएकाले शुक्रबारदेखि जेठको पहिलो सातासम्म उक्त सडक बन्द गर्न लागिएका डुम्रे–बेँसीसहर–चामे सडकका इन्जिनियर पुरुषोत्तम अधिकारीले बताए । उनका अनुसार उक्त अवधिमा यात्रुवाहक सवारीसाधनलाई उदीपुर–रिठ्ठेबगर जोड्ने बाटो हुँदै चण्डीप्रसाद गण डाइभर्सन बाटो प्रयोगमा ल्याइनेछ भने मालवाहक सवारीलाई भने उदीपुर बजारमै पूर्ण रूपमा रोक लगाइनेछ ।

बर्सातको समयमा लामो समय अवरुद्ध बनेको सो सडकमा अस्थायी व्यवस्थापन गरी यातायात सञ्चालन गरे पनि विगत केही महिनादेखि सुक्खा पहिरो खस्दा यातायात प्रभावित भएको हो । 

सुक्खा पहिरोका कारण दैनिकजसो अवरुद्ध हुँदै आएको उदीपुर पहिरो पछिल्लो समय थप जोखिम भएको छ । पहिरोका कारण दैनिकजसो यातायातसमेत अवरुद्ध हुने गरेको छ । बर्सातका वेला ठूलो पहिरोका कारण अवरुद्ध बनेको सडक यसअघि निर्वाचनका वेला अस्थायी व्यवस्थापन गरी यातायात सुचारु गरिएको थियो । निर्वाचनपछि पनि पुनः केही दिन यातायात बन्द गरी थप व्यवस्थित बनाइएको थियो । 

हाल सवारीसाधान आवातजावत गर्नका लागि सडक बने पनि सुक्खा पहिरो खस्ने भएकाले दैनिकजसो यातायात अवरुद्ध हुँदै आएको छ । उदीपुरमा पहिरोले सडक भत्किएसँगै ०७८ भदौदेखि नै यात्रुहरूले सास्ती पाएका छन् । वैकल्पिक सडक प्रयोगमा आए पनि जीर्ण सडकका कारण यात्रुहरूले निकै सास्ती भोग्नुपरेको छ । पहिरोले सडक भत्किएपछि लमजुङ सदरमुकाम बेँसीसहरसहित हिमाली जिल्ला मनाङसम्मको यातायात प्रभावित हुँदै आएको छ ।

भौगोलिक विकटता र बिग्रँदो सडकका कारण डुम्रे–बेँसीसहर हुँदै मनाङको चामेसम्म पुग्ने सडकमा सवारी दुर्घटनाको जोखिम उच्च हुँदै गएको छ । वर्षौँदेखि बिजोगसँग बिग्रिएको सडकले दुईपांग्रे तथा ठूला सवारीलाई निकै समस्या भएको छ। 


 

ad
ad