
दाङमा एक महिलाको हत्या गरी मलको थुप्रोमा गाडिएको अवस्थामा शव फेला परेको छ।
घोराही उपमहानगरपालिका– १२ हापुर बिजौरीनिवासी ४१ वर्षीया शारदा खत्रीको हत्या गरी घरअगाडिको मलको थुप्रोमा खाल्डो खनेर गाडिएको अवस्थामा शव फेला परेको हो। उनलाई बन्चरोले टाउको, घाँटी, अनुहारमा प्रहार गरी हत्या गरिएको प्रहरीले जनाएकाे छ।
१ वैशाखदेखि नै घरबाटै हराएकी खत्रीको खोजी गर्दा बुधबार दिउँसो १२ बजेतिर घरअगाडि मलको थुप्रोमा गाडिएको अवस्थामा शव फेला परेको हो।
स्थानीय महिला सुनिता विक घरमा आएर कटहर टिप्न गएको समयमा बाख्रा बाँध्ने स्थानमा शारदाको पाउजु देखिएपछि त्यहाँ शव भएको पत्ता लागेको हो । त्यसपछि प्रहरीलाई खबर गरी उनको शव निकालिएको हो।
उनका एक छोरी र दुई छोरा छन् । २१ वर्षकी छोरी दीपा, १९ वर्षका दीपेश र १४ वर्षका विवेश। जेठा छोरा वैदेशिक राेजगारीमा भारतमा छन्। छोरी दीपाको विवाह भइसकेको छ।
नयाँ वर्षको दिन दीपा र उनका कान्छा भाइ विवेश घोराही– १८ हेमन्तपुरस्थित मामाघर गएका थिए। मामा घरबाट ३ वैशाखमा घर फकिँदा उनीहरूका आमा–बुबा दुवै घरमा थिएनन्। आमाबुबाबारे हजुरआमा भुमाकुमारी खत्रीसँग सोधखोज गर्दा उनले दुवै घरमा नभएको जवाफ दिइन्। दीपा र विवेशले बुबाआमाकाे खाेजी कार्य जारी राखे।
उनी कान्छा छोरा, श्रीमान् मेघराज खत्री र सासू भुमाकुमारीसँग बस्दै आएकी थिइन्। आठ–नाै महिनाअघिदेखि सम्पर्कविहीन श्रीमान् चैते दशैँमा घर आएका थिए। त्यही क्रममा उनीहरूबीच सम्बन्धविच्छेद गर्ने कुरा चलिरहेको थियो। नयाँ वर्षदेखि उनी पनि सम्पर्कविहीन छन्। उनको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख प्रहरी उपरीक्षक वीरबहादुर वलीले बताए।
शारदाको शव परीक्षणका लागि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको छ। छोरी दीपाले बुबा र हजुरआमा मिलेर हत्या गरेको भन्दै प्रहरीमा किटानी जाहेरी दिएकी छिन्।