मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
मुना कुँवर काठमाडाैं
२०८० बैशाख ३ आइतबार ०९:०८:००
Read Time : > 2 मिनेट
अर्थ प्रिन्ट संस्करण

अब बिमा कम्पनीले  बिमा पोलिसी रद्द गर्न नपाउने

Read Time : > 2 मिनेट
मुना कुँवर, काठमाडाैं
२०८० बैशाख ३ आइतबार ०९:०८:००

बिमा कम्पनीले एकपटक बिमाशुल्क भुक्तानी गरिसकेका बिमितको बिमा पोलिसी रद्द गराउन नपाइने भएको छ । बिमितले बिमाशुल्कको किस्ता भुक्तानी गर्न बाँकी अवधिको एकैपटक विलम्ब शुल्कसहित भुक्तान गर्न आएमा अवधिभित्र जुनसुकै समयमा पनि बिमा कम्पनीले स्वीकार गर्नुपर्नेछ ।

नेपाल बिमा प्राधिकरणले जीवन बिमासम्बन्धी निर्देशिका, २०७९ जारी गर्दै बिमा कम्पनीहरूलाई विलम्ब शुल्क मिनाहा पनि गर्न सक्ने व्यवस्था पनि गरेको छ । बिमा पोलिसी पुनर्जागरण गर्दा बिमितको आवश्यक मेडिकल अन्डरराइटिङ भने गर्नुपर्नेछ । बिमा पोलिसी पुनर्जागरण गर्दा बिमा अवधिभर एकपटक मात्र बिमितले तिनुपर्ने विलम्ब शुल्कमा आंशिक वा पूर्ण छुट प्रदान गर्न सक्नेछ ।  

बिमा कम्पनीहरूमा बिमा पोलिसी व्यतीत हुने दर बढेपछि यस्तो खालको व्यवस्था गरिएको प्राधिकरण प्रवक्ता एवं कार्यकारी निर्देशक राजुरमण पौडेलले बताए । उनका अनुसार कतिपय बिमितले कुनै समयमा भुक्तानी गर्न नसके पनि निश्चित समयपछि त भुक्तानी गर्न सक्छन् भन्ने आकलनअनुसार यस्तो व्यवस्था गरिएको हो । सो समयमा बिमितले पुनर्जागरण गर्न पाउनुपर्छ । बिमितको अधिकार संरक्षण गर्न यस्तो व्यवस्था गरिएको उनले बताए । 

त्यस्तै, दुई वर्षको पूर्ण बिमाशुल्क भुक्तानी भइसकेको बिमालेखको कुनै बिमाशुल्क अवधिको अन्त्यसम्ममा भुक्तानी नभई बक्यौता रहेमा त्यस्तो बिमा पोलिसी चुक्ता बिमा पोलिसी स्वतः परिणत हुनेछ । चुक्ता बिमालेखको बिमांक रकम बिमालेखको अवधिभित्र बिमित जीवित रहेमा बिमालेख परिपक्व हुने वा बिमितको मृत्यु भएमा बिमितको कानुनी हकवालालाई भुक्तानी गर्नुपर्नेछ । 

स्वीकृत बिमालेख ६ महिनाभित्रमा प्रचलनमा नल्याए स्वतः रद्द हुने
बिमा कम्पनीहरूले नेपाल प्राधिकरणबाट स्वीकृत प्राप्त गरेका बिमा पोलिसी ६ महिनाभित्रमा प्रचलनमा नल्याए स्वतः निष्क्रिय हुनेछ । प्राधिकरणले जारी गरेको निर्देशिकाबमोजिम कम्पनीले बनाएको पोलिसी निष्क्रिय हुने व्यवस्था गरेको हो । 

बिमकले बिमा पोलिसी प्रचलनमा ल्याउनुअघि बिमालेखको मुद्रित प्रति, प्रस्ताव फाराम, प्रचारप्रसारसम्बन्धी कागजातलगायत बिमालेखसँग सम्बन्धित अन्य कागजपत्रहरू प्राधिकरणमा पेस गर्नुपर्नेछ । 

निष्क्रिय बिमा पोलिसी बिमकले प्रचलनमा ल्याउन चाहेमा कारणसहित प्राधिकरणसमक्ष निवेदन दिन सक्नेछ । प्राधिकरणले उपयुक्त ठानेमा ६ महिनाभित्र प्रचलनमा ल्याउन स्वीकृति प्रदान गर्न सक्नेछ । सो अवधिभित्र समेत बिमकले बिमा पोलिसी प्रचलनमा नल्याएमा सो पोलिसी पुनः प्रचलनमा ल्याउन पाइनेछैन । बिमकले स्वीकृत बिमालेखसम्बन्धी वार्षिक विवरण आर्थिक वर्ष समाप्त भएको एक महिनाभित्रमा प्राधिकरणमा पेस गर्नुपर्नेछ । 

बिमकले स्वीकृतिका लागि पेस गरेको बिमा पोलिसी सम्बन्धमा प्राधिकरणबाट पत्राचार भएको मितिले ६ महिनासम्म कुनै लिखित जवाफ नदिएमा सो बिमा पोलिसी तामेलीमा राखिनेछ । तामेलीमा रहेको बिमा पोलिसी पुनः स्वीकृतिका लागि पेस गर्नुपरेमा लिखित कारणसहित नयाँ बिमा पोलिसीसरह आवश्यक सम्पूर्ण प्रक्रिया पूरा गरी प्राधिकरणमा पेस गर्नुपर्नेछ । 

त्यस्तै, बिमकले स्वीकृत बिमा पोलिसी औचापरिक रूपमा बन्द गर्न चाहेमा कारणसहित प्राधिकरणमा लिखित जानकारी गराउनुपर्नेछ । प्रचलनमा रहेको कुनै पनि बिमा पोलिसी कुनै प्राविधिक त्रुटि भएको पाइएमा प्राधिकरणले आवश्यकताअनुसार उक्त बिमा पोलिसी संशोधन गर्न वा बन्द गराउन निर्देशन दिन सक्नेछ । 

बिमा पोलिसी बिक्री गर्दा आम्दानीको स्रोत अनिवार्य खुलाउनुपर्ने
बिमा कम्पनीहरूले बिमा पोलिसी बिक्री गर्दा आम्दानीको स्रोत अनिवार्य रूपमा खुलाउनुपर्नेछ । प्राधिकरणले जारी गरेको निर्देशिकाबमोजिम बिमितले वार्षिक पाँच लाखभन्दा बढी आम्दानी हुने गरी पोलिसी खरिद गरेमा वा एकल बिमाशुल्क भुक्तानी गर्ने गरी पोलिसी खरिद गरेमा अनिवार्य रूपमा आम्दानीको स्रोत देखाउनुपर्नेछ । 

त्यस्तै, बिमकले बिमा पोलिसीअन्तर्गत बिमादर निर्धारण गर्दा समावेश गरेको बोनस लोडको दरमा कम्तीमा फ्युचर बोनस रिजर्भको व्यवस्था गर्नुपर्नेछ । प्राधिकरणले प्रत्येक बिमकको स्वीकृत बिमा पोलिसीहरूको पहिचान कोड प्रदान गर्नेछ र बिमकले पहिचान कोड नभएका बिमा पोलिसीहरू बिक्री–वितरण गर्न पाउनेछैन । 

बिमा पोलिसी अन्यथा व्यवस्था भएको र अपवाद खण्डमा उल्लेख भएको अवस्थामा बाहेक बिमा पोलिसी जारी भएको वा पुनर्जारण भएको एक वर्षपछि बिमितले बिमा प्रस्ताव गर्दा कुनै कुरा नखुलाएको कारण देखाई बिमकले दाबी इन्कार गर्न सक्नेछैन । 

तीन वर्षपछि मात्रै कर्जा पोलिसी समर्पण र कर्जा दिन सकिने
बिमितले तीन वर्षको बिमाशुल्क भुक्तानी गरेपछि मात्रै पोलिसी समर्पण गर्न पाउने भएका छन् । प्राधिकरणले जारी गरेको निर्देशिकाबमोजिम बिमा कम्पनीले कर्जा प्रदान गर्दा पनि बिमितले लगातार तीन वर्षको किस्ता भुक्तानी गरेको हुनुपर्नेछ । त्यस्तै, एकल बिमाशुल्क भुक्तानी पोलिसीको हकमा पनि पोलिसी बिक्री गरेको तीन वर्ष पुगेपछि मात्रै पोलिसी धितो राखी कर्जा दिन पाइनेछ । 

बिमकले बिमालेख सुरक्षण राखी कर्जा प्रदान गर्दा बढीमा समर्पण मूल्यको ९० प्रतिशत र घटीमा एक हजारसम्म कायम गर्नुपर्नेछ । कर्जा प्रदान गर्दा बिमकले ब्याज लिन सक्नेछ र ब्याजदर बिमकको सञ्चालकले समय–समयमा निर्धारण गरेबमोजिम हुनेछ ।  बिमकले बिमा पोलिसी सुुरक्षणबमोजिम बिमितलाई कर्जा दिनबाहेक अन्य कुनै किसिमको कर्जा दिन पाइनेछैन । 

बालबालिकाको बिमा गर्दा बिमित बालबालिकाको जोखिम प्रारम्भ हुनुअगावै मृत्यु भएमा लिइएको बिमाशुल्क फिर्ता गर्नुपर्नेछ । जोखिम प्रारम्भ भएपछि बिमा अवधिभित्र बिमित बालबालिकाको मृत्यु भएमा बिमांक रकमको २५ प्रतिशत वा भुक्तानी भएको बिमाशुल्कमध्ये जुन रकम बढी हुन्छ, सो रकम भुक्तानी गर्नुपर्नेछ र बिमा पोलिसी स्वतः अन्त्य हुनेछ । 

प्रस्तावकको बिमा अवधिभित्र जुनसुकै समयमा मृत्यु भएमा बाँकी अवधिको बिमाशुल्क मिनाहा गरी बिमा पोलिसीलाई निरन्तरता दिनुपर्नेछ । मासिक आम्दानी सुविधा प्रदान गर्नुपर्नेछ ।