मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमाडौं
२०८० बैशाख १ शुक्रबार ०६:४९:००
Read Time : > 1 मिनेट
खेलकुद प्रिन्ट संस्करण

थ्री स्टारले पुलिसलाई हरायो

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०८० बैशाख १ शुक्रबार ०६:४९:००

थ्री स्टार क्लबले सहिद स्मारक ए डिभिजन लिग ०७९–८० मा विभागीय टोली नेपाल पुलिस क्लबलाई १–० ले पराजित गरेको छ । बिहीबार सातदोबाटोस्थित एन्फा मैदानमा विदेशी खेलाडी मार्टिन कायोडे अजाईले निर्णायक गोल गरेका थिए । जितपछि आठ खेलमा चार जित, दुई बराबर र दुई हारसहित १४ अंक जोडेको थ्री स्टार पाँचौँ स्थानमा उक्लिएको छ । पराजित पुलिस समान आठ खेलबाट चार अंक जोड्दै पुछारमा झरेको छ ।

 जितपछि थ्री स्टारका प्रशिक्षक मेघराज केसीले पुलिसविरुद्ध तीन अंकको लक्ष्य पूरा भए पनि फिनिसिङमा चुकेको बताए । ‘हाम्रो लक्ष्यअनुसार तीन अंक आएको छ । तर, हामी लगातार फिनिसिङमा चुकिरहेका छौँ,’ केसीले भने । केसीले आगामी दिनमा अग्रपंक्ति चुस्त रहने विश्वास व्यक्त गरे । हारपछि पुलिसका प्रशिक्षक चेतकुमार घिमिरे सन्तुष्ट देखिएनन् ।

उनी लगातार खेल्दा खेलाडी थकित भएको बताउँछन् । ‘आज हाम्रा कुनै पनि खेलाडी चल्न सकेनन् । सबै खेलाडी थकित देखिएका छन्,’ घिमिरेले भने । पुलिसले थ्री स्टारविरुद्ध दुई विदेशी खेलाडी मैदानमा उतारेको थियो । अघिल्लो खेलमा फ्रेन्ड्सविरुद्ध प्रभावकारी देखिएका मिडफिल्डर जोय आइडु र स्ट्राइकर मोसेज थ्री स्टारविरुद्ध भने फिक्का देखिएका थिए ।

 थ्री स्टार र पुलिसले पहिलो हाफमा १–१ गोलको बराबरी खेलेका थिए । दोस्रो हाफमा थ्री स्टारले अग्रता लियो । ६५औँ मिनेटमा कप्तान अशोक खवासको पासलाई बक्सभित्रबाट मार्टिन्सले सदुपयोग गरेका थिए । 


चर्च ब्वाइज र फ्रेन्ड्सले अंक बाँडे
एक गोलको अग्रता लिए पनि त्यसलाई जोगाउन नसक्दा उपाधि दाबेदार चर्च ब्वाइज युनाइटेडले रेलिगेसन क्षेत्रमा रहेको फ्रेन्ड्स क्लबसँग अंक बाँडेको छ । दशरथ रंगशालामा भएको खेलमा चर्च ब्वाइजले पहिलो हाफमा १–० को अग्रता लिएको थियो । दोस्रो हाफमा एक गोल बेहोर्न पुग्यो ।

आठ खेलबाट चर्च ब्वाइजले १४ अंक जोडेर तेस्रो स्थानमा रह्यो । प्रशिक्षक बालगोपाल महर्जन पहिलोपटक चर्च ब्वाइजको टेक्निकल क्षेत्रमा रहेका थिए । प्रदीप हुमागाईंले श्रम स्वीकृति नपाएपछि महर्जनले चर्च ब्वाइजको प्रशिक्षण जिम्मेवारी पाएका हुन् । जितबाट सुरुवात गर्ने महर्जनको योजना भने सफल भएन । फ्रेन्ड्सको समान खेलबाट पाँच अंक जोडेर १३औँ स्थानमा छ ।