Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ६ बिहीबार
  • Thursday, 18 April, 2024
शिवहरि घिमिरे काठमाडाैं
२०७९ चैत २९ बुधबार ०६:५६:००
Read Time : > 3 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

काठमाडौं महानगरको कल सेन्टरमा ‘फेक कल’ले हैरानी

Read Time : > 3 मिनेट
शिवहरि घिमिरे, काठमाडाैं
२०७९ चैत २९ बुधबार ०६:५६:००

मंसिरसम्म दैनिक तीन सय फोन आउने गरेकामा अचेल ४० वटा मात्रै

आइतबार दिउँसो राष्ट्रिय सभागृहस्थित महानगरको कल सेन्टरमा रिसिभ कलको रिङटोन बजिरहेको छ । सेन्टरकी कल रिसिभर सरिता रिजालले एउटा फोन कल रेस्पोन्स गरिन्– हेलो महानगर कल सेन्टर । उनले फोन उठाएपछि उताबाट कल गर्नेको आवाज आएन । कसैले फोन गरेर होल्डमा राखिदिएको थियो । त्यसपछि रिजालले पनि फोन काटिन् । 

रिजालले फोन काट्नेबित्तिकै फेरि घन्टी बज्यो । एउटै नम्बरबाट फेरि फोन आयो । तर, यसपटक रिजालले त्यो कल काटिन् । फोन काट्नेबित्तिकै फेरि त्यही नम्बरबाट फोन आयो । काठमाडौं महानगरको कल सेन्टरमा अचेल चाहिनेभन्दा नचाहिने फोन कलले सताउँछ । ९७४९८१२९२२ नम्बरबाट त हैरानै पार्ने गरी फोन आउँछ । फोनमा न त कुनै गुनासो राख्छन्, न त समस्या नै । खालि फोन गरेर परिचय सोध्ने र होल्डमा राखिदिने गर्छन् ।

यो फोन कहाँबाट कसले गरेको हो भन्ने कल रिसिभर रिजाललाई थाहा छैन । कुनै–कुनै वेला फोन गरेर बोल्ने, तर कुनै वेला होल्डमा राखिदिँदा आफूहरूलाई फोन उठाउनको मात्रै सास्ती हुने गरेको उनको गुनासो छ । ‘एउटै नम्बरबाट बारम्बार फोन आएर हैरान हुन्छ, जिस्क्याउन र सताउन फोन गरिराख्छन्,’ रिजालले भनिन्, ‘अति सताएपछि नम्बर पत्ता लगाउन प्रहरीलाई जानकारी गराएका छौँ ।’ उनले चारवटा नम्बरबाट दैनिक २५ पटकभन्दा बढी फेक कल आउने गरेको सुनाइन् । 

काठमाडौं महानगरले गत असारदेखि सुरु गरेको कल सेन्टरमा अहिले फेक कलको बिगबिगी छ । कसैले अनावश्यक कुरा गर्न फोन गर्ने र कसैले अवरोध गर्न फोन गरेकाले कल रिसिभरहरूलाई समेत दिक्क लाग्न थालेको छ । महानगरको कल सेन्टरमा हाल तीनवटा ल्यान्डलाइन फोन छन् । हटलाइन नम्बर १६६००१०५५११ र ११८० महानगरले सेवाग्राहीको गुनासो र समस्या सुन्न २४ सै घन्टा खुला गर्छ । तर, सेवाग्राहीको गुनासो र समस्या सुन्न राखिएको फोनमा अचेल समस्या निकै कम आउने गरेका छन् । फाल्तु कलले हैरान पार्ने गरेको छ । 

कल सेन्टर शाखामा हाल दैनिक ४० वटासम्म कल आउँछन् । यो कल रिसिभ गर्न तीनजना कर्मचारीसमेत छन् । कल सेन्टर शाखाले अद्यावधिक गरेको तथ्यांकअनुसार हालसम्म दुई हजार २९ वटा फोन कल आएका छन् । यसमध्ये दुई हजार दुई सय २० वटाभन्दा बढी समस्या समाधान भएको कल सेन्टर शाखाको दाबी छ । कल सेन्टरले समस्या वा गुनासो लिइसकेपछि त्यसको रेस्पोन्स भए–नभएको समेत रेकर्ड राख्ने गरेको छ ।  

महानगरको कल सेन्टरमा झुक्याउने फोन कलको पनि बिगबिगी छ । कतिपयले सामान्य समस्याका लागि कल गर्ने गरे पनि कतिपयले भने गलत सूचना दिएर झुक्याउँछन् । शुक्रबार त्यस्तै भयो । चाबहिलका एक स्थानीयले फोन गरेर मेलम्चीको पाइप फुटेर सडक जलमग्न भएको जानकारी गराए । कललगत्तै महानगरको कल सेन्टर रेस्पोन्स टोली त्यहाँ पुग्यो । तर, त्यहाँ पुग्दा सडकमा पाइप नै फुटेको थिएन । यसरी नै कर्मचारीलाई दुःख दिने नियतले कल सेन्टरमा दिनहुँ फोन आउँछन् । यस्ता प्रकारका झुक्याउने फोन आउँदा कतिपय सत्य घटना र समस्यालाई पनि रेस्पोन्स गर्न चुनौती भइरहेको महानगरका प्रवक्ता नवीन मानन्धरले बताए । उनका अनुसार कतिपयले मेयरलाई भेट्न समय मिलाइदिन, कतिपयले मेयरलाई गाली गर्न, झुक्याउन पनि फोन गर्छन् भने कतिपयले वास्तविक समस्या राख्न फोन गर्छन् । 

कल सेन्टरमा मेलम्चीको पानी फुटेको, सडक धुलाम्य भएको, ठेलागाडा र पेटीमा व्यापार थापेर अवरोध गरेको, खानेपानीमा फोहोर आएकोलगायत समस्यासँग सम्बन्धित फोन आउने गर्छन् । आइतबार शंखमूलका शम्भु ढुंगानाले ढल फुटेर सडकमा फोहोर भएको भन्दै कल सेन्टरमा जानकारी गराएका थिए । त्यसलगत्तै महानगरको टोली त्यहाँ पुगेको थियो ।

त्यस्तै, गोंगबु क्षेत्रमा अलकत्रा पकाउन आगो बाल्दा त्यसको धुवाँ र गन्धले सास फेर्न गाह्रो भएको भन्दै गोंगबुका उमेशराज लवटले फोन गरेका थिए । उनको फोनका आधारमा महानगरको वातावरण विभागको टोली त्यहाँ पुगेको थियो । महानगरले कल सेन्टरमा आएको फोनको समस्या समाधान गर्न सफ्टवेयर सिस्टम नै बनाएको छ । त्यसमा आएको कलको आफैं रेकर्ड हुन्छ । रेकर्ड भएको अडियो र फोन गर्ने व्यक्तिको विवरण समस्यासँग सम्बन्धित शाखाको सफ्टवेयर सिस्टममा पठाइन्छ । सोही आधारमा समस्या समाधान हुने गर्छ । महानगरले समस्याका आधारमा सम्बन्धित विभागलाई समस्या समाधान गर्न तोकेको छ ।

फुटपाथ भए नगर प्रहरी, सडक पूर्वाधार भए पूर्वाधार विभाग, फोहोरसँग सम्बन्धित समस्या भए वातावरण विभाग, घर नक्सासँग सम्बन्धित समस्या भए नक्सा तथा सहरी विकास विभाग, शिक्षा र स्वास्थ्यसँग सम्बन्धित समस्या भए सोही विभागलाई समस्या समाधान गर्न जिम्मेवारी तोकिएको छ । यदि वास्तविक समस्या छ भने कल गर्ने व्यक्तिको विवरण मागेर उसलाई फोन गरेर महानगरको टोली समस्या भएको ठाउँमा पुग्ने गरेको प्रवक्ता मानन्धरको भनाइ छ । ‘कल सेन्टरमा थरीथरीका फोन आउँछन्, कतिपयले वास्तविक समस्या राख्न फोन गर्छन् भने कतिपयले दुःख दिन र झुटो सूचना दिन पनि फोन गर्ने गरेका छन्,’ उनले भने, ‘सूचनाको गम्भीरताका आधारमा हामी रेस्पोन्स गर्छौँ ।’ उनका अनुसार आइतबार ४० जनाले फोन गरेर समस्या र गुनासो राखेका थिए । 

मेयरमा निर्वाचित भएलगत्तै बालेन्द्र साहले सुरु गरेको कल सेन्टर अचेल प्रभावविहीन बन्दै गइरहेको छ । थोरै फोन आउने र दिउँसोको समयमा मात्रै गुनासो र समस्या सुनुवाइ हुने हुँदा कल सेन्टर प्रभावकारी हुन सकेको छैन । हाल महानगरको कल सेन्टरमा कार्यालय समयमा मात्रै फोन उठ्ने गर्छ । यसअघि असोजसम्म चौबिसै घन्टा फोन उठाउने भए पनि त्यसयता भने कार्यालय समयमा मात्रै कल रिसिभ हुने गरेको छ । यसअघि रातिको समयमा स्वास्थ्यका कर्मचारी बस्ने भएकाले त्यतिवेला कल रेस्पोन्स भएको थियो । तर, त्यसयता भने महानगरले कल उठाउन छुट्टै कर्मचारी राखेको छैन । जसकारण कार्यालय समयबाहेक अन्य समयमा कल सेन्टरमा आएको फोन उठ्दैन ।