१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २४ सोमबार
  • Monday, 06 May, 2024
२o८१ बैशाख २४ सोमबार १३:४६:oo
Read Time : > 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

सुत्केरी र नवजात शिशु मृत्यु प्रकरण : दुई दिनसम्म शव उठेन, स्थानीय आन्दोलित 

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २४ सोमबार १३:४६:oo

कैलालीको मालाखेती अस्पतालमा प्रसूतिका क्रममा महिला र नवजात शिशुको मृत्यु भएको दोस्रो दिनसम्म शव उठाइएको छैन। 

स्वास्थ्यकर्मीको लापरबाहीले आमा र शिशुको मृत्यु भएको दाबी गर्दै मृतकका आफन्त आन्दोलित भएका छन् । उनीहरूले घटनाको निष्पक्ष छानबिनको माग गरेका छन् । छानबिन समिति गठन नभएसम्म शव नउठाउने आफन्तको अडान छ।

सुरक्षित प्रसूतिका लागि अस्पताल भर्ना भएकी गोदावरी नगरपालिका– २ बस्ने २८ वर्षीया लक्ष्मी भट्टराई र उनको नवजात शिशुको सोमबार बिहान मृत्यु भएको थियो । चिकित्सकले पेटबाट शिशु निकालेको केहीबेरपछि दुवैजनाको मृत्यु भएको हो। 

लक्ष्मीका श्रीमान् शिवराज भट्टराईले छानबिन समिति गठन नभएकाले शव नउठाएको बताए । सोमबार राति भएको छलफलमा छानबिन समिति गठन गर्ने सहमति भएको उनले बताएका छन् । मृतकका आफन्त र स्थानीय चिकित्सकको लापरबाहीबारे छानबिन गरी दोषीलाई कारबाही र क्षतिपूर्तिको माग गर्दै अहिले सडकमा उत्रिएका छन् । आन्दोलनमा उत्रिएका स्थानीयले राजमार्ग बन्द गरेपछि र प्रहरी सुचारु गराउन खोजेपछि केहीबेर तनावको स्थिति सिर्जना भएको छ। 

मृतककी बहिनी धर्मा भट्टराईका अनुसार यही १८ चैतमा सुत्केरी हुने मिति थियो । चिकित्सकले दिएको मितिको एक सातासम्म पनि बेथा नलागेपछि आफन्तले सामान्य अवस्थामै लक्ष्मीलाई आइतबार मालाखेती अस्पताल पुर्‍याएका थिए । धर्माका अनुसार अस्पताल भर्ना गरेर स्वास्थ्यकर्मीले यौनांगमा सुत्केरी बेथा लाग्ने औषधि राखेका थिए, रातिसम्म पनि लक्ष्मीको स्वास्थ्य अवस्था सामान्य थियो। 

‘राति ३ बजेतिर अप्ठ्यारो सुरु भयो । सास फेर्न गाह्राे भएपछि बिहान ६ बजे अक्सिजन चढाइयो,’ अस्पतालमा कुरुवा बसेकी धर्माले भनिन्, ‘हामीले त्यतिवेलै बिरामीलाई अप्ठ्यारो हो भने सेती अस्पताल लैजान्छौँ भन्यौँ, तर नर्सले सामान्य समस्या हो, बच्चाको अवस्था पनि सामान्य छ भने।’  

बिहान ८ बजे डाक्टरले पेटबाट बच्चा निकाले थिए । निकालेको केही मिनेटमै बच्चाको मृत्यु भएको थियो । आफन्तका अनुसार सेती अस्पतालमा लैजान्छौँ भन्दा डाक्टरले पनि सुरुमा केही हुन्न, नआत्तिनु भनेर आश्वस्त पारेका थिए । ‘सुरुमा डाक्टरले पनि सामान्य अवस्था छ भनेका थिए, पछि केस जटिल भएको भन्दै धनगढी पठाउनुपर्‍याे भने,’ धर्माले भनिन्, ‘बच्चा निकालेर टाँका लगाउने वेला पनि दिदीले दुख्यो भनिरहेकी थिई ।’ धनगढी लैजान एम्बुलेन्समा राख्दासम्म लक्ष्मीको मृत्यु भइसकेको थियो ।

उपचारमा संलग्न चिकित्सकले भने लक्ष्मीको स्वास्थ्य अवस्था एक्कासि गम्भीर बनेको र प्रयास गर्दा पनि बचाउन नसकेको बताएका छन् । मालाखेती अस्पतालका प्रमुख डाक्टर अन्वेश कोइरालाले सामान्य अवस्थामा रहेको प्रसूतिको एक्कासि मृत्यु हुने अवस्था आएको बताए । पेटबाट बच्चा निकाल्नेबित्तिकै आकस्मिक रूपमा जटिल समस्या आएको उनले बताए। 

पाठेघरको पानी फोक्सोमा जाँदा एक्कासि स्वास्थ्य जटिल बनेको देखिएको डाक्टर कोइरालाले बताए। ‘पेटबाट बच्चा निकालेको एकछिनमै आमाको अवस्था नाजुक बन्यो,’ उनले भने, ‘पाठेघरको पानी फोक्सोमा गएका कारण मृत्यु भएको देखिन्छ, यकिन कारण भने पोस्टमार्टम रिपोर्ट आएपछि थाहा होला।’ 

डा. कोइरालाका अनुसार पेटबाट निकालेको करिब १० मिनेटसम्म बच्चाको मुटु चलेको थियो । ‘डाक्टरको लापरबाहीले घटना भएको होइन, उपचारमा लापरबाही भए–नभएको अनुसन्धानले पनि देखाउला,’ उनले भने, ‘हामीले कोसिस गरेको हो । सामान्य अवस्थाको बिरामी झ्याप्पै ‘कोल्याप्स’ हुने अवस्था आयो ।’ आफूसहित चारजना डाक्टरको टोलीले बिरामीलाई बचाउने प्रयास गरेको उनले बताए । लक्ष्मीले दोस्रो सन्तानको जन्म दिन लागेकी थिइन् । मालाखेती १५ शय्याको अस्पताल हो।

ad
ad