मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ४ मंगलबार
  • Tuesday, 16 April, 2024
२०७९ चैत २५ शनिबार ०६:४२:००
Read Time : > 3 मिनेट
खेलकुद प्रिन्ट संस्करण

नेपालले टी–२० विश्वकप छनोट खेल्ने

Read Time : > 3 मिनेट
२०७९ चैत २५ शनिबार ०६:४२:००

एसियनको क्षेत्रीय छनोट प्रतियोगिताका शीर्ष दुई राष्ट्रले अर्को वर्ष अमेरिका र वेस्ट इन्डिजले आयोजना गर्ने टी–२० विश्वकप खेल्नेछन्

नेपाली राष्ट्रिय क्रिकेट पुरुष टोली आइसिसी एकदिवसीय विश्वकपको ग्लोबल छनोटको तयारीमा छ । जिम्बावेमा हुने ग्लोबल छनोटको शीर्ष दुई स्थानमा रहने राष्ट्र भारतमा आयोजना हुने एकदिवसीय विश्वकपमा छनोट हुनेछन् । नेपालको योजना नै टेस्ट मान्यताप्राप्त राष्ट्रहरूविरुद्ध बलियो चुनौती प्रस्तुत गर्दै विश्वकपको टिकट पक्का गर्ने पनि हो । एकदिवसीय ग्लोबल छनोटपछि नेपाल आइसिसीले आयोजना गर्ने अर्को महत्वपूर्ण क्रिकेटका लागि तयारीमा जुट्नेछ । 

आइसिसीले सन् २०२४ को टी–२० विश्वकप वेस्ट इन्डिज र अमेरिकालाई पहिलोपटक संयुक्त रूपमा आयोजना गर्न दिएको छ । सोही विश्वकपमा स्थान पक्का गर्न नेपालले एसियन छनोट खेल्न लागेको हो । आइसिसीले पहिलोपटक उत्तर अमेरिका क्षेत्रमा टी–२० विश्वकप आयोजना गर्न लागेको हो । यसपटक विश्वकपमा सर्वाधिक २० टोली हुनेछन् । 

एसियन क्षेत्रीय छनोटबाट दुई राष्ट्र
आइसिसीका अनुसार एसियन क्षेत्रीय छनोटबाट दुई राष्ट्र विश्वकपमा पुग्ने भनिएको छ । एसियन छनोट चरणको प्रतिस्पर्धामा नेपालसँगै ओमान, युएई, हङकङ, सिंगापुर र बहराइनले स्थान पक्का गरिसकेका छन् । यी ६ राष्ट्रहरूले एसियन छनोटको पहिलो चरणबाट आएका राष्ट्रविरुद्ध समूह चरणमा प्रतिस्पर्धा गर्नेछन् । एसियाको पहिलो चरणअन्तर्गत समूह ‘ए’मा कुवेत, माल्दिभ्स, कतार र साउदी अरेबिया रहेका छन् । यसैगरी, समूह ‘बी’मा भुटान, चीन, मलेसिया, म्यानमार र थाइल्यान्ड छन् । 

यी दुवै समूहका शीर्ष राष्ट्रले अन्तिम चरणको एसियन छनोट खेलमा भिड्नेछन् । आइसिसीले टी–२० विश्वकपको पहिलो चरणको छनोट खेल अगस्टमा राखेको छ । यो प्रतियोगितालगत्तै एसियन अन्तिम चरणको छनोट खेल हुनेछ । एसियन छनोटमा कुल आठ टोलीबीच प्रतिस्पर्धा हुनेछ । यसमा शीर्ष दुई टोलीले टी–२० विश्वकपमा स्थान बनाउनेछन् । नेपालले शीर्ष दुई स्थान हात पार्दा अर्को वर्ष अमेरिका र वेस्ट इन्डिजमा हुने विश्वकप खेल्नेछ । 

आइसिसीले अफ्रिकी महादेशबाट दुई टोलीको कोटा राखेको छ । इस्ट एसिया प्यासिफिकबाट केवल एक टोलीले विश्वकप खेल्ने पाउनेछ । फुटबलको वर्चस्व रहेको युरोपमा आइसिसी दुई राष्ट्रलाई कोटा छुट्याएको छ । यसरी आठ राष्ट्रले विभिन्न चरण पार गरी टी–२० विश्वकप खेल्नेछन् । 

नेपाल एकपटक विश्वकपमा 
नेपालको क्रिकेट इतिहासमा सन् २०१४ को विश्वकप ऐतिहासिक रह्यो । नेपालले पहिलोपटक टी–२० विश्वकप खेलेको त्यही नै थियो । बंगलादेशले आयोजना गरेको विश्वकपमा स्थान बनाउन नेपालले छनोट चरण पार गरेको थियो । विश्वकपअन्तर्गतको क्लालिफायर चरणमा नेपाल समूह ‘ए’मा रह्यो । यस समूहमा आयोजक बंगलादेश, नेपाल, अफगानिस्तान र हङकङ रह्यो । नेपाल समूह चरणमा दोस्रो स्थानमा रहँदा अर्को चरणमा प्रवेश गर्न सकेन । 

बंगलादेशले झिनो रनरेटमा नेपाललाई निराश पार्दै अर्को चरणमा स्थान बनाएको थियो । नेपाल र बंगलादेशले समान चार अंक बटुलेका थिए । नेपालले अफगानिस्तान र हङकङजस्ता बलिया राष्ट्रलाई हरायो । नेपालले हङकङलाई ८० रन र अफगानिस्तानमाथि नौ रनको रोमाञ्चक जित निकाल्यो । हङकङविरुद्ध शक्ति गौचनले नौ रन खर्चेर तीन विकेट लिएका थिए । अफगानिस्तानसँगको प्रतिस्पर्धामा नेपालका ओपनर सुवास खकुरेलले ५६ रनको अर्धशतकीय इनिङ्स खेले । 

लगातार चार संस्करणमा २० राष्ट्र
सन् २०२१ मा आइसिसीको कार्य समितीले टी–२० विश्वकपलाई बढी रोमाञ्चक र प्रतिस्पर्धात्मक बनाउन थप टोली राख्ने निर्णय ग¥यो । यस निर्णयअनुसार लगातार चार संस्करणसम्म २० राष्ट्रबीच आइसिसी टी–२० विश्वकप हुने भएको हो । सन् २०२४, ०२६, ०२८ र ०३० सम्मको टी–२० विश्वकपमा २० राष्ट्रबीच प्रतिस्पर्धा हुनेछ । खेलको संस्करणमा खासै परिवर्तन भएको छैन । सुरुवातमा समूह चरण हुनेछ । त्यसपछि नकआउट वा सुपर ऐटको अवधारणा लागू हुनेछ । आइसिसीले प्रत्येक विश्वकप संस्करणमा आयोजक र कार्य समितिको बैठकले खेलको अवधारणाको निर्णय गर्ने जनाएको छ । सन् २०२६ मा श्रीलंका र भारतले संयुक्त रूपमा विश्वकप आयोजना गर्नेछन् । त्यसपछि अस्ट्रेलिया र न्युजिल्यान्डले आयोजना गर्नेछन् । सन् २०३० टी–२० विश्वकपमा इंग्ल्यान्ड, वेल्स, स्कटल्यान्ड र आयरल्यान्डले आयोजना गर्न सक्छन् । सन् २०१२ को संस्करणमा १६ राष्ट्रबीच प्रतिस्पर्धा भएको थियो । आइसिसीले हरेकपटकको संस्करणमा शीर्ष आठ टोलीलाई सीधै स्थान दिएको छ । 

तीन राष्ट्र एकपटक विश्वकपमा
टी–२० विश्वकपमा तीन राष्ट्र समान एकपटक छनोट भएका छन् । नेपाल, केन्या र पपुवा न्युगिनीले एक–एकपटक विश्वकप खेले । सन् २००७ को पहिलो संस्करणमा केन्याले प्रतिस्पर्धा गरेको थियो । सन् २०१४ मा नेपाल र २०२१ को संस्करणमा पपुवा न्युगिनी विश्वकपमा पुगेका थिए । विश्वकपमा नामिबिया, युएई, हङकङ र ओमानले समान दुईपटक विश्वकप खेलेका छन् ।

एसोसिएट राष्ट्रतर्फ शीर्ष स्थानमा रहेको स्कटल्यान्ड र नेदरल्यान्डले पाँचपटक विश्वकपमा भाग लिएका छन् । टेस्ट मान्यताप्राप्त आयरल्यान्डले सातपटक, अफगानिस्तान र जिम्बावेले समान ६ पटक विश्वकपमा स्थान बनाएका छन् । इंग्ल्यान्ड, वेस्ट इन्डिज, भारत, अस्ट्रेलिया, श्रीलंका, पाकिस्तान, न्युजिल्यान्ड, दक्षिण अफ्रिका र बंगलादेशले सर्वाधिक आठपटक विश्वकपको अन्तिम स्थान सुरक्षित गरेका छन् । 

१२ राष्ट्र सीधै छनोट
आयोजकका रूपमा वेस्ट इन्डिज र अमेरिका छनोट भइसकेका छन् । गत वर्ष अक्टोबर–नोभेम्बरमा अस्ट्रेलियामा भएको टी–२० विश्वकपको शीर्ष आठ टोलीले सीधै अमेरिका र वेस्ट इन्डिजमा हुने प्रतिस्पर्धामा स्थान पक्का गरेका छन् । अस्ट्रेलिया, इंग्ल्यान्ड, भारत, नेदरल्यान्ड्स, न्युजिल्यान्ड, पाकिस्तान, दक्षिण अफ्रिका र श्रीलंका गत वर्षको टी–२० विश्वकपको शीर्ष आठ स्थानमा रहँदै स्थान सुरक्षित गरेका हुन् । त्यसपछि अफगानिस्तान र बंगलादेशले आइसिसीको वरीयता प्राप्त गर्दै विश्वकपमा स्थान पक्का गरेका हुन् । क्षेत्रीय छनोटबाट आठ टोली आउँदा विश्वकपमा यसपटक २० राष्ट्रबीच प्रतिस्पर्धा हुन लागेको हो । सन् २०२२ को १४ नोभेम्बरसम्मको आइसिसी टी–२० वरीयतामा शीर्ष १२ स्थानभित्र पर्दा अफगानिस्तान र बंगलादेशले अर्को वर्षको टी–२० विश्वकपमा स्थान पक्का गरेका हुन् । आयोजकका रूपमा अमेरिकाको यो पहिलो विश्वकप हुनेछ । अमेरिका यसअघिका संस्करणमा छनोट भएको थिएन ।