मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
द इकोनोमिस्ट
२०७९ चैत २२ बुधबार ०९:१८:००
Read Time : > 1 मिनेट
विश्व प्रिन्ट संस्करण

किन देश छोड्दै छ श्रीलंकाको मध्यम वर्ग ?

Read Time : > 1 मिनेट
द इकोनोमिस्ट
२०७९ चैत २२ बुधबार ०९:१८:००

देशभित्र भविष्य नदेख्दा श्रीलंकाका दक्ष कामदार बिदेसिन बाध्य भएका छन् 

गत वर्ष श्रीलंकामा आर्थिक संकट उत्कर्षमा पुगेको वेला इन्धन र खाना पकाउने ग्यास डिपो र अध्यागमन विभागमा उस्तै लाइन लागेका थिए । सन् २०२२ मा अहिले सम्मकै उच्च संख्यामा करिब आठ लाख ७५ हजार राहदानी जारी भए । कोलम्बोको अध्यागमनमा लागेको त्यो भिड महामारीमा रोकिएर महामारी थामिएपछि बाहिर जान लागेका मानिसहरूको भिड थिएन । अभाव, महँगी, उच्चदरको मुद्रास्फीति र अनिश्चितताको पीडाबाट भाग्न खोजिरहेका आमकामदारहरूको भिड थियो ।

सरकारी तथ्यांकअनुसार सन् २०२२ मा श्रीलंकाबाट देशका दुई करोड २० लाख जनसंख्यामध्ये तीन लाख मानिस रोजगारीका लागि बिदेसिए । उनीहरूमध्ये अधिकांश न्यून एवं अर्धदक्ष कामदार थिए । चालू वर्षको जनवरीदेखि मार्च महिनासम्ममा थप ७३ हजारले देश छोडेका छन् । पलायन हुने लाइनमा अब मध्यम वर्गका दक्ष पेसाकर्मीहरू पंक्तिबद्ध हुन थालेका छन् । 

थुप्रै उद्योगका प्रमुखहरू आफूहरूले कर्मचारी गुमाइरहेको बताउँछन् । लामो अनुभव र प्रशिक्षणबाट तयार हुने म्यानेजरहरूसमेत काम छोडेर बिदेसिन थालेका छन् । कम्पनीहरू विशेष गरी आइटी र अन्य माग भएका पेसामा २० देखि ३५ वर्ष उमेर समूहका कर्मचारीहरूमा आउने–जानेक्रम सामान्य मान्छन् । तर, अहिले ४० र ५० को दशकमा हिँडिरहेका अनुभवी कर्मचारीहरूले समेत काम छाड्न थालेका छन् । 

श्रीलंकाको दीर्घ संकटले उनीहरूलाई देश छोड्न प्रेरित गरिरहेको छ । गत फेब्रुअरीमा मुद्रास्फीति दर ५०.६ प्रतिशत थियो । कर बढिरहेको छ, तर ज्यालामा वृद्धि एकदमै छैन । गत जनवरीबाट राष्ट्रपति रनिल विक्रमासिंघेले आयकर वृद्धि गरेका छन् । अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ)ले श्रीलंकाको ‘आय कर विश्वकै कम रहेको’ भनेपछि उनले आइएमएफको चासेलाई सम्बोधन गर्न कर वृद्धि गरेका हुन् ।

त्यसपछि आइएमएफले गत हप्ता मात्रै श्रीलंकाका लागि २ अर्ब ९० करोड अमेरिकी डलरको प्याकेज स्वीकृत गरेको छ । उच्चतम कर ३६ प्रतिशत रहेको छ, जुन अझै न्यून नै हो । विपक्षी नेसनल पिपुल्स पावर पार्टीले कर वृद्धिले श्रीलंकामा ‘इतिहासकै ठूलो ब्रेन ड्रेन (प्रतिभा पलायन)’ निम्त्याउने खतरा सिर्जना गरेको बताउँछ । उसको अनुमान सही साबित हुन सक्छ ।

वर्षे एअर ट्राफिक कन्ट्रोलर रजिता सेनेभिरत्ने आफूलाई पनि मध्यपूर्वबाट प्रस्ताव आएको बताउँछन् । उनी विदेशी भर्ती एजेन्टहरूले सामाजिक सञ्जालबाट श्रीलंकन युवा पेसाकर्मीहरूलाई भर्ती गरिरहेको बताउँछन् । गत महिना एअर ट्राफिक कन्ट्रोलर युनियनले थप चार–पाँचजनाले जागिर छोडे भने एअर ट्रफिक कन्ट्रोलको काममै समस्या आउने चेतावनी दिएको थियो ।

आइटी क्षेत्रबाट पनि हजारौँ युवा कामदार पलायन भएका छन् । श्रीलंकाको सबैभन्दा तीव्रगतिमा वृद्धि भइरहको उद्योगमध्येको एक आइटी क्षेत्र समस्यामा पर्न थालेको छ । गत वर्षको जनवरीदेखि अगस्टसम्ममा ४७७ सहित कैयाैँ सय चिकित्सक पलायन भएका छन् । निरन्तरको श्रम बहिर्गमनले ग्रामीण अस्पतालहरूलाई निकम्मा बनाउन सक्छ । 

तर पनि, विदेशी मुद्राको सबैभन्दा ठूलो स्रोत रेमिट्यान्स बढ्ने आशामा श्रीलंका सार्वजनिक क्षेत्रको ज्याला कस्दै बहिर्गमनलाई प्रोत्साहित गरिरहेको छ । पलायन भइरहेका डाक्टरहरूले सार्वजनिक क्षेत्रका कामदारहरूका लागि गत जुनबाट सुरु गरिएको सुविधाको फाइदा उठाइरहेका छन्, जसअनुसार उनीहरूले विदेशमा काम पाएर मासिक १०० देखि ५०० डलर रेमिट्यान्स पठाउँदा पाँच वर्षसम्म बेतलबी बिदा पाउनेछन् ।

वैदेशिक रोजगारमन्त्री मनुसा नानायाकारा श्रीलंकन कामदारहरूलाई विदेश पठाउने विभिन्न योजनाको परीक्षण गरिरहेका छन् । उनको कार्यालयले सामाजिक सञ्जालबाट विदेशी सरकारका लागि रोजगारीका विज्ञापन खोल्ने गर्छ । उसले ‘राता यामु’ र ‘लेट्स गो एब्रोड’ नामको एउटा ह्वाट्सएम ग्रुप र युट्युब च्यानलमार्फत सरकारी रोजगार एजेन्सीमार्फत जान सकिने रोजगारीहरूको प्रचार–प्रसार गरिरहेको छ ।