
नेपाल धितोपत्र बोर्डमा लामो समयदेखि रोकिएको बुक बिल्डिङ विधिलाई अघि बढाइने भएको छ । बोर्डबाट निर्णय नहुँदा अड्किएको बुक बिल्डिङ विधिलाई दुई महिनाभित्र टुंगोमा पुर्याउने तयारी थालिएको हो । बोर्डका अध्यक्ष रमेशकुमार हमालले लगानीकर्ताको सेयर भ्यालुलाई अन्याय हुन नदिने गरी दुई महिनाभित्र टुंगोमा पुर्याउने बताए । उनका अनुसार अघिल्लो साता नेपाल स्टक एक्सचेन्ज, सर्वाेत्तम सिमेन्ट, रिलायन्स स्पिनिङ मिल्स, सेयर निष्कासनको जिम्मा लिएका मर्चेन्ट बैंकर, योग्य संस्थागत लगानीकर्तासहितको बैठक राखेर बोर्डको बुक बिल्डिङ हेर्ने विभागलाई मौखिक निर्देशन दिइसकेको छ । बुक बिल्डिङ विधि लागूभएपछि नेपालको पुँजीबजारमा नयाँ आयाम थपिने उनको भनाइ छ । उनले भने, ‘यसमा हतार गरेरेभन्दा पनि अध्ययन गरेर अघि बढ्नुपर्छ, विगतका गल्तीबाट हामीले पाठ सिकेर दीर्घकालीन समाधान खोज्नुपर्छ ।’
दुई कम्पनी असारदेखि पाइपलाइनमा
धितोपत्र बोर्डको पाइपलाइनमा बुक बिल्डिङ विधिबाट आइपिओ निष्कासन गर्ने तयारीमा सर्वोत्तम सिमेन्ट र रिलायन्स स्निपिङ जुट मिल छन् । असारदेखि पाइपलाइनमा रहेका सर्वाेत्तम सिमेन्टले प्रतिकित्ता ५०१ देखि ७५१.१० रुपैयाँसम्ममा बुक बिल्डिङ प्रणालीबाट आइपिओ जारी गर्ने अनुमति मागेको छ । कम्पनीले २४ लाख कित्ता सेयर निष्कासन गर्न लागेको हो । त्यस्तै, रिलायन्स स्पिनिङ मिल्स लिमिटेडले प्रतिकित्ता ६०८ रुपैयाँदेखि ९१२ रूपैयाँसम्ममा बुक बिल्डिङ प्रणालीबाट आइपिओ जारी गर्न लागेको छ । कम्पनीले सात लाख ७० हजार ६ सय ४० कित्ता सेयर निष्कासन गर्न लागेको हो । यी दुवै कम्पनीको बिक्री प्रबन्धकतर्फको नेतृत्व ग्लोबल आइएमई क्यापिटलले गरिरहेको छ । दुवै कम्पनीको प्रक्रिया हाल बोर्ड र कम्पनीबीच आवश्यक कागजातको अध्ययन भइरहेको छ । कम्पनीले अन्तिम समिक्षापत्र र कागजात ९ चैतमा दुबै कम्पनीले बुझाएका छन् ।
सर्वोत्तम सिमेन्टको बिक्री प्रबन्धक ग्लोबल आइएमई बैंकका सिइओ पारसमणि ढकालले लामो समयदेखि अनिणर्य बनेको बुक बिल्डिङ विधि बोर्डसँगको छलफलसँगै पक्रिया अघि बढेको बताए । उनले भने, ‘बोर्डसँग राख्नुपर्ने कुरा राखेका छौँ । हामीले गर्नुपर्ने केही काममा जुटेका छौँ, अहिलेको अर्थतन्त्रअनुसारको सेयर मूल्यदेखि सबै कुरामा निष्कर्षमा पुग्न बाँकी छ ।’ नेपाल इन्भेष्टर्स फोरमका अध्यक्ष तुलसीराम ढकालले बुक बिल्डिङ पुँजीबजारका लागि मेरुदण्ड भएकाले जतिसक्दो छिटो कार्यन्वयनमा ल्याउनुपर्ने बताए । उनले भने, ‘अहिलेको पुँजीबजारलाई रियल सेक्टर पहिलो आवश्यकता छ, यसलाई अघि बढ्ने कुरा सकारात्मक भए पनि विगतका गल्तीबाट पाठ सिकेर बोर्डले प्रभावकारी बनाउनुपर्छ ।’ बोर्डले ०७३ सालमा बुक बिल्डिङ निर्देशिका जारी गरे पनि सात वर्षसम्म रियल सेक्टरका अपेक्षा गरेजति कम्पनीको आइपिओ आउन सकेको छैन ।