बालिका मृत्यु प्रकरण : चिकित्सकविरुद्ध जिल्ला अदालतमा मुद्दा दर्ता

सोमबार, १३ चैत, २०७९
डिजिटल संस्करण

बालिका मृत्यु प्रकरणलाई लिएर हिमाल अस्पताल ज्ञानेश्वरमा २२ दिनदेखि धर्ना दिँदै आएका मृतकका आफन्तले आइतबार जिल्ला अदालत काठमाडौं मुद्दा दर्ता गरेका छन् । अस्पतालले लापरबाही गरेकाले मेडिकल लापरबाही दुष्कृतिअन्तर्गतको मुद्दा दर्ता भएको हो । आफन्तले उपचारमा संलग्न चिकित्सकलाई कारबाही र क्षतिपूर्ति माग गरेका छन् । 

प्रशासनिक र कानुनी बाटोबाट न्याय माग्न सुरु गरिएकाले अब अस्पतालमा धर्ना नदिइने मृतक बालिकाका बुबा गंगा गौतमले जानकारी दिए । ‘अस्पतालले हाम्रो कुरा सुन्दैसुनेन, उनीहरूको गल्ती लुकाउने गरी हामीले सहमति गर्न चाहन्नौँ,’ उनले भने, ‘बरु कानुनी रूपमा अघि बढ्छौँ,’ उनले भने । अस्पताल प्रशासनले आफूहरूका माग बेवास्ता गरेकाले अदालती प्रक्रिया सुरु गरिएको उनको भनाइ छ ।

मोरङ–पथरी घर भएकी २८ महिने बालिका प्रशंसा गौतमको उपचारका क्रममा २६ माघमा मृत्यु भएको थियो । चिकित्सकको लापरबाहीले मृत्यु भएको भन्दै बालिकाका आफन्त धर्नामा बस्दै आइरहेका थिए । गत २३ माघमा सामान्य रुघाखोकी र ज्वरो आएकी बालिकालाई उनका बुबा गंगा गौतमले उपचारका लागि हिमाल अस्पताल लगेका थिए ।

सुझावित समाचार