मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
नयाँ पत्रिका काठमाडौं
२०७९ चैत १० शुक्रबार ०८:२३:००
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

वीरगन्जस्थित एकीकृत जाँचचौकी सञ्चालनको जिम्मा निजी क्षेत्रलाई

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ चैत १० शुक्रबार ०८:२३:००

नेपाल इन्टरमोडल यातायात विकास समितिले प्रमुख व्यापारिक नाका वीरगन्जस्थित एकीकृत जाँचचौकी (सुक्खा बन्दरगाह, जाँचचौकी र कन्टेनर फ्रेट स्टेसन) सञ्चालनको जिम्मा निजी क्षेत्रलाई दिएको छ ।

सुरुवातमा आफैँले व्यवस्थापन गर्दै आए पनि समितिले पछिल्लो समय अन्तर्राष्ट्रिय बोलपत्र आह्वान गरी कैलाश टर्मिनल जेभी (काठमाडौंको विन्ध्यवासिनी लजिस्टिक्स र भारतको टिआरएस लिफ्ट एन्ड सिफ्ट सर्भिसेसको संयुक्त उपक्रम)लाई एकीकृत जाँचचौकी सञ्चालनका लागि छनोट गरेको हो । 

बोलपत्र आह्वान गर्दा थप चार कम्पनी हाइवे एट्लास जेभी, प्रिस्टाइन इन्टरस्टेट जेभी, ट्रान्स नेपाल फ्रेट सर्भिस र एसएस टर्भिनल जेभीले समेत दरखास्त दिएका थिए । तर, सबैभन्दा बढी रकम कबोल गरेका आधारमा कैलाश टर्मिनल जेभी छनोट भएको समितिका उपनिर्देशक हरेकृष्ण मिश्रले जानकारी दिए । छनोट भएको कम्पनीले पाँच वर्षका लागि सबैभन्दा बढी एक अर्ब ८० करोड ९० लाख एक हजार दुई सय रुपैयाँ भाडाबापत समितिलाई बुझाउने गरी सम्झौता भएको छ । 

सम्झौतामा कैलाश टर्मिनलले आगामी १८ चैतदेखि एकीकृत जाँचचौकी सञ्चालन सुरु गर्ने उल्लेख छ । समितिले एकीकृत जाँचचौकीमा प्रवेश गर्ने भनी प्रक्षेपण गरेभन्दा बढी सवारीसाधनको आवतजावत भएको खण्डमा सम्झौतामा उल्लेख भएको दरमा कैलाश टर्मिनलले थप सवारीसाधनबापत हुन आउने अतिरिक्त रकमसमेत बुझाउनुपर्ने उल्लेख छ ।