Skip This
तनहुँ जलविद्युत् आयोजनाको अनुगमन : तोकिएकै समयमा सम्पन्न गर्न निर्देशन
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ चैत ९ बिहीबार
  • Saturday, 27 July, 2024
२o७९ चैत ९ बिहीबार १o:५२:oo
Read Time : > 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

तनहुँ जलविद्युत् आयोजनाको अनुगमन : तोकिएकै समयमा सम्पन्न गर्न निर्देशन

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o७९ चैत ९ बिहीबार १o:५२:oo

एसियाली विकास बैंक र नेपाल विद्युत् प्राधिकरणको उच्चस्तरीय टोलीले तनहुँमा निर्माणाधीन १४० मेगावाटजडित क्षमताको तनहुँ जलविद्युत् आयोजनाको स्थलगत अनुगमन गरेको छ । एडिबीको नेपाल आवासीय नियोगका निर्देशक आर्नो कुस्वा, प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलगायतको उच्चस्तरीय टोलीले सोमबार र मंगलबार आयोजनाका बाँध, भूमिगत विद्युत्गृह, मुख्य सुरुङलगायतका संरचनाको निर्माण कार्यको अनुगमन गरेको हो । 

टोलीले आयोजनाको प्याकेज– १ (बाँध तथा हेडवक्र्स), दोस्रो प्याकेज– २ (विद्युत्गृह, मुख्य सुरुङ तथा सम्बन्धित उपकरण) र तेस्रो प्याकेज (दमौली–भरतपुर २२० केभी प्रसारण लाइन) निर्माणमा संलग्न आयोजना व्यवस्थापन, निर्माण व्यवसायी, परामर्शदातासँग छलफल गरी निर्माण प्रगति, निर्माणमा देखिएका समस्यालगायतका विषयमा विस्तृत रूपमा छलफल गरेको थियो । निर्माणमा देखिएका समस्या समाधान गर्न आफ्नोतर्फबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाउँदै टोलीले आयोजनालाई तोकिएकै समयमा सम्पन्न गर्न निर्देशन दिएको छ । आयोजनाको समग्र निर्माण ०८३ जेठभित्र सक्ने लक्ष्य राखिएको छ ।

आयोजनाको सहुलितपूर्ण ऋण प्रवाह गरेको एडिबीको नेपाल आवासीय नियोग निर्देशक कुस्वाले आयोजनालाई तोकिएकै समयमा सम्पन्न गर्नुपर्ने बताए । उनले भने, ‘मुख्य रूपमा प्याकेज– १ को निर्माण महत्वपूर्ण तथा चुनौतीपूर्ण देखिएकाले निर्माण विधिमा ध्यान दिई उपकरण तथा जनशक्ति थप गर्नुपर्ने आवश्यकता देखिन्छ ।’ 

प्राधिकरणका कार्यकारी निर्देशक एवं आयोजनाको प्रवद्र्धक तनहुँ हाइड्रोपावर लिमिटेडका अध्यक्ष घिसिङले आयोजनाको निर्माण सम्पन्न गर्न हाल तय गरिएको तालिका नै अन्तिम भएकाले सोही लक्ष्यलाई पूरा गर्ने गरी काम गर्न निर्देशन दिए । उनले भने, ‘बाँध निर्माणका लागि नदी फर्काउने तथा स्लोप कटान चुनौतीपूर्ण देखिन्छ, यसका लागि दक्ष जनशक्ति र उपकण थप गरी कामलाई तीव्रताका साथ अगाडि बढाउनुपर्छ, आयोजनका तर्फबाट गर्नुपर्ने सहयोग र सहजीकरणमा हामी सधैँ तयार छौँ ।’ 

तनहुँ हाइड्रोपावरका प्रबन्ध सञ्चालक किरणकुमार श्रेष्ठले निर्माण कार्यमा भइरहेको प्रगतिबारे जानकारी गराएका थिए । आयोजनाको प्याकेज– १ अन्तर्गत १४० मिटर अग्लो बाँध निर्माण कार्य सोङ दा कर्पोरेसन, भियतनाम–कालिका कन्सट्रक्सन प्रालि, नेपाल जेभीले गरिरहेको छ । जसअन्तर्गत अहिले मुख्य बाँध निर्माणका लागि नदी फर्काउनका लागि आवश्यक दुईवटा डाइभर्सन सुरुङ, बाँधको दायाँ–बायाँतर्फबाट स्लोप कटानलगायतका निर्माण कार्य भइरहेका छन् । ५३८.५ मिटर लम्बाइको डाइभर्सन सुरुङ– १ र ६२२.५ मिटर लम्बाइ भएको डाइभर्सन सुरुङ– २ को वारपार गरी (ब्रेकथ्रु) कंक्रिट लाइनिङको काम भइरहेको छ । 

प्योकेज– २ अन्तर्गत सिनो हाइड्रो कर्पोरेसन, चीनले भूमिगत विद्युत्गृह, मुख्य सुरुङ, र हाइड्रो मेकानिकल तथा इलेक्ट्रो–मेकानिकल उपकरण आपूर्ति, जडान तथा सञ्चालनलगायतका कार्य गरिरहेको छ । विद्युत्गृह खन्ने कार्य सम्पन्न गरी कंक्रिटिङ कार्य गरिरहेको छ । टेलरेस सुरुङ निर्माण अन्तिम चरणमा छ । पेनस्टक पाइप जडान तथा सर्ज टयांक निर्माण कार्य जारी रहेको छ । १४५६ मिटर मुख्य सुरुङमध्ये ७९० मिटर खन्ने कार्य सम्पन्न भएको छ । 

प्याकेज– ३ अन्तर्गत केइसी इन्टरनेसनल, भारतले दमौलीबाट चितवनको भरतपुरसम्म २२० केभीको ३६ किलोमिटर डबल सर्किट प्रसारण लाइन निर्माण कार्य गरिरहेको छ । प्रसारण लाइनका ९४ वटा टावरमध्ये ५१ वटा टावरको जग हालिएको छ । साथै, ३२ वटा टावर जडान कार्य, ०.९८८३ किमि तार तान्ने र आठवटा टावरको जग संरक्षण कार्य सम्पन्न भएको छ । एक स्थानमा टावर जडान, दुई स्थानमा संरक्षण कार्य र ६ स्थानमा जग हाल्ने कार्य भइरहेका छन् । 

आयोजनाको कुल लागत (प्रसारण लाइन, ग्रामीण विद्युतीकरण तथा निर्माण अवधिको व्याजसमेत) ५० करोड ५० लाख अमेरिकी डलरका लागि एडिबीले १५ करोड, जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका)ले १८ करोड ४० लाख, युरोपियन लगानी बैंकले आठ करोड ५० लाख र नेपाल सरकार/नेपाल विद्युत् प्राधिकरणले आठ करोड ६० लाख डलर व्यहोर्ने गरी वित्तीय व्यवस्थापन गरिएको छ ।