
नेपाली राष्ट्रिय फुटबल टोलीका कप्तान किरण चेम्जोङले छोटो समयको तयारी चुनौतीपूर्ण भएको बताएका छन्।
उनले यो चुनाैती स्वीकार गरेर घरेलु मैदानमा आयोजना हुन लागेको प्रधानमन्त्री कप त्रिदेशीय फुटबल प्रतियोगिता खेल्ने बताएका छन्।
अखिल नेपाल फुटबल संघ (एन्फा) ले मंगलबार आयोजना गरेको खेलअघिको पत्रकार सम्मेलनमा कप्तान किरणले तयारी छोटो समय भएको र चुनौतीपूर्ण रहेको बताएका हुन्।
भर्खरै मात्र घोषणा भएको टोलीमा खेलाडीहरू सबै फिट रहेको र बुधबार लाओससँग हुने खेलका लागि टोली तयार भएको प्रतिक्रिया दिए।
कप्तान किरणले प्रशिक्षक र टिम नयाँ भएको भए पनि एकअर्कालाई विश्वास गरेर अगाडि बढ्ने बताए। यस्तै, यसै प्रतियोगिताबाट डेब्यु गर्न लागेका नवनियुक्त मुख्य प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनिसले आफूले राम्रो टोली निर्माण गरेको बताए।
तीन दिनको तयारी गर्दा टोलीमा अधिकांश युवा खेलाडी समेटिएको उनले बताए। लिगको दौरानमा खेलाडीको प्रदर्शनलाई नियाल्दै टोली निर्माण गरेको र यो टोलीले राम्रो नतिजा दिलाउने बताए।
एनिसले विपक्षी टिमको गुण आफूले देखेको र आफ्नो टिमको गुणसमेत जानकारी भएको बताउँदै सुखद् नतिजाका लागि खेल्ने बताए। पहिलो खेलमा नेपालले बुधबार लाओससँग खेल्दै छ।
यस्तै, लाओसका प्रशिक्षक माइकल बेसले लिग चलिरहेको दौरानबाट टिम बनाएर प्रतियोगिताका लागि आएको भन्दै घरेलु टोलीविरुद्ध राम्रो खेल्ने बताए। उनले भविष्यका लागि टिम बनाइरहेको भन्दै हाललाई लिगको गर्दा तयारी अपेक्षाअनुसारको गर्न नसकेको बताए।
लाओसका कप्तान सौकाफोन भोङ्चियाङ्खामले प्रतियोगिताका लागि पहिलोपटक नेपाल आउँदा खुसी लागेको बताउँदै प्रतियोगिताका लागि उत्साहित रहेको बताए। उनले प्रतियोगितामा लाओसको फुटबल खेल देखाउने बताए।
यता पछिल्लो संस्करणको एसियाली खेलकुदपछि पहिलोपटक अन्तर्राष्ट्रिय भ्रमण गरेको भुटानका प्रशिक्षक पेमाले टोली प्रतियोगिताको तयारी राम्रो गरेको बताए।
उनले युवा खेलाडी समेटिएको भन्दै टोली सबै हिसाबले सक्षम भएको र शतप्रतिशत दिएर खेल्ने विश्वास व्यक्त गरे। भुटानी कप्तान चेन्चो ग्याल्सेनले नेपालमा आयोजना हुन लागेको प्रतियोगिताका लागि आफू उत्साहित रहेको बताए।
पछिल्लोपटक दक्षिण एसियाली खेलकुदमा नेपाली दर्शकले दिएको साथमा आफू खुसी भएको र यहाँ हुन लागेको प्रतियोगिताका लागि उत्साहित रहेको चेन्चोले बताए।
सिंगल राउन्ड रोबिन पद्धतिमा हुने प्रतियोगितामा शीर्ष दुई टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन्। नेपालले चैत आठमा लाओस तथा चैत १४ मा भुटानको सामना गर्नेछ। चैत ११ गते भुटान र लाओस भिड्नेछन् । नेपालले नवनियुक्त मुख्य प्रशिक्षक भिन्सेन्जो अल्बार्टो एनासीको प्रशिक्षणमा पहिलो प्रतियोगिता खेल्न लागेको हो।