मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० फाल्गुण १३ आइतबार
  • Sunday, 25 February, 2024
२०७९ चैत ६ सोमबार ०९:१४:००
Read Time : > 5 मिनेट
विश्व प्रिन्ट संस्करण

अमेरिकी आक्रमणको २० वर्ष : अझै दुखिरहेछ इराक

नमारिएका वा घाइते नभएका कुनै परिवार भेटिँदैनन् । यस्तोमा विगतलाई बिर्सन चाहेका इराकीले पनि अमेरिकी अतिक्रमणलाई बिर्सन सकेका छैनन् ।

Read Time : > 5 मिनेट
२०७९ चैत ६ सोमबार ०९:१४:००

मरुभूमिबीच अवस्थित फलुजा सहरको कोलाहलपूर्ण मुख्य सडकबाट केही पर कुनै समय फुटबल रंगशाला थियो । रंगशालाको निशानाका रूपमा गोलपोस्टको खिया लागेको खम्बा मात्र देखिन्छ । अहिले, सम्पूर्ण रंगशाला कब्रस्थान(चिहान)ले ढाकिएको छ । ‘यो सहिदहरूको चिहान हो’ ।

सन् २००४ देखि कब्रस्थानको हेरचाह गर्दै आएका ७० वर्षीय कामिल जसिम मोहम्मदले भने । अमेरिकी सेना र इराकी मिलिसियाबीचको युद्धमा मारिएकाहरूको अन्त्येष्टिको सन् २००५ देखि यो मैदान प्रयोग हुँदै आएको छ । ‘ यहाँ कति मानिस गाडिएका छन् भनेर मैले गणना गर्न छाडिसकेँ । तर, यहाँ हजारौँ सहिदका चिहान छन्,’ कामिलले भने । 

सोमबार अमेरिकी नेतृत्वमा इराकविरुद्ध आक्रमणको २०औँ वर्ष पुग्छ । र युद्धको घाउको रूपमा कामिलको रखवालीमा रहेको चिहानजस्ता अनेक निशाना देशमा यत्रतत्र देखिन्छ । हरेक परिवारका कोही न कोही या त मारिएका छन् या अपांगता भएका छन् । यस्तोमा विगतलाई बिर्सन चाहेका इराकीले पनि अमेरिकी अतिक्रमणलाई बिर्सन सकेका छैनन् ।

सन् २००१ सेप्टेम्बर ११ मा अमेरिकाका विभिन्न स्थानमा अल कायदाले आक्रमण गरेपछि अमेरिकाका तत्कालीन राष्ट्रपति जर्ज डब्लु बुसले ‘आतकंवादविरुद्ध युद्ध’ घोषणा गरेका थिए । सोही अभियानको एक हिस्साको रूपमा अमेरिकाले इराकमाथि आक्रमण ग¥यो । बुस र उनको सरकारका कैयौँ सदस्यले इराकका तत्कालीन राष्ट्रपति हुसेनले आमविनाशकारी हतियार निर्माण गरिरहेको आरोप लगाएका थिए । यद्यपि, आक्रमणपछि ती आरोप पुष्टि गर्ने कुनै प्रमाण फेला परेन । केही अमेरिकी अधिकारीले हुसैनको अल कायदासँग सम्बन्ध रहेको आरोप पनि लगाएका थिए जुन आरोप गुप्तचर निकायले पछि अस्वीकार गरे ।

अमेरिकी आक्रमणले इराक पूर्णतः बदलिन पुगेको छ । आज इराकलाई एकदमै फरक ठाउँ महसुस गर्न र देख्न सकिन्छ । अमेरिकाको आक्रमणपछि सद्दाम हुसेन अपदस्थ भए । उनको शासनमा भन्दा देश अहिले धेरै स्वतन्त्र छ र राजनीतिमा धेरै राजनीतिक दल संलग्न छ ।

देशमा अधिकांश मध्यपूर्वी मुलुकमा नदेखिने स्तरको स्वतन्त्र प्रेस सक्रिय छन् । यस मुलुकबारे अहिले बताउन सकिने सकारात्मक कुरा लगभग यत्ति नै हुन्छ । खाडीको खनिज स्रोतले धनी राष्ट्र भए पनि इराकमा अहिले अधिकांश मानिस न समृद्ध महसुस गर्छन् न सुरक्षित । जनता सरकारलाई भ्रष्टाचारमा डुबेको मान्छन् । इराकी युवा देशको आर्थिक भविष्य अन्धकार देख्छन् । प्राकृतिक स्रोतको धनी भए पनि देशको अधिकांश राजस्व भ्रष्टाचारका कारण आममानिससम्म नआई पुग्दैन । पूरा नगरी अलपत्र रहेका ठूलो आयोजनाको संख्या दिनप्रतिदित बढिरहेको छ । 

‘जीवनस्तर राम्रो छैन । लोडसेडिङ आमसमस्या देखिन्छ’, राजधानी बग्दादको एक मध्यमवर्गीय बस्तीका बासिन्दा मोहम्मद हसनले बताए । इन्टरनेटको लाइन बिछ्याउने काम गर्ने ३७ वर्षीय सञ्चार इन्जिनियर तीन छोराछोरीका पिता हुन् । उनी प्रतिमहिना ६२० अमेरिकी डलर तलब थाप्छन् । ‘महिनाको अन्तिमतिर सामान्य खर्च पु¥याउन धौधौ हुन्छ, मैले यो देशमा सुन्दर भविष्य देख्न छाडेको छु,’ हसनले अगाडि थप्दै भने,’ अवस्था सा¥है दुःख लाग्दो छ । इराकीहरू सद्दामबाट छुटकारा पाउन चाहन्थे । उनी गए, तर स्रोतले धनी भए पनि हामीले जे आशा गरेका थियौँ त्यो प्राप्त गर्न सकेनौँ ।’ 

सन् २००३ मार्च २० मा सुरु भएको अमेरिकी आक्रमण सन् २०११ मा अमेरिकी फौज बाहिरिएसँगै अन्त्य भयो । तर, अमेरिकी सेनाको बहिर्गमनपछि पनि इराक गृहयुद्ध, विद्रोह र एकपछि अर्को उथलपुथलमा फसिरह्यो । एकपछि अर्को द्वन्द्वको लहरले सिर्जित राजनीतिक गतिरोधका कारण देश कहिल्यै पूर्ण रूपमा स्थिर हुन सकेन । देशका दुई प्रमुख सहर मोसुल र फलुजाको अधिकांश भाग ध्वस्त भएका छन्, र क्षति मध्य र उत्तरी इराकका लगभग सबै प्रमुख सहरहरूमा देखिन्छ । द्वन्द्वमा कुनै सदस्य नगुमाएका परिवार भेट्टाउन गाह्रो छ ।

अमेरिकी सेना, अल कायदा, इराकी विद्रोही वा इस्लामिक स्टेट आतंकवादी समूहको हातबाट करिब २,००,००० नागरिक मारिएको ब्राउन विश्वविद्यालयको ‘कस्ट अफ वार’(युद्धको लागत) परियोजना देखाउँछ । इराकी सेना र प्रहरी बलका कम्तीमा ४५,००० सदस्य र ३५,००० इराकी विद्रोहीले पनि ज्यान गुमाए भने लाखौँ अपांग शरीर लिएर बाँचिरहेका छन् । इराक युद्धमा अमेरिकाले भने करिब ४,६०० सेना र ३,६५० अमेरिकी कन्ट्र्याक्टर गुमायो । शारीरिक र मानसिक घाउ लिएर बाँचेको संख्या त्योभन्दा निकै धेरै छ ।

धेरै स्वतन्त्रता, थोरै रोजगारी
इराकको साढे चार करोड जनसंख्याको लगभग आधा जनसंख्या सन् २००० पछि जन्मिएको थियो । तिनले हुसेनको कठोर र क्रुर शासन भोगेनन्, तर तिनले आफ्नो जीवनको अधिकांश समय हिंसा र निराशा मात्र अनुभव गरे । ‘सद्दाम हुसेन हाम्रो समयका हिटलर थिए । उनी हामीले भोगेका सबैभन्दा क्रुर अधिनायक र तानाशाह थिए । जब उनी गए, निर्वाचन हुन थाल्यो । खुला राजनीतिक अभ्यास देखियो र मिडियाको भिड देखियो । यी कुरा इराकमा धेरै लामो समयसम्म देखिएको थिएन,’ सन् २०१८ देखि सन् २०२२ बीचमा इराकका राष्ट्रपति रहेका बरहम सालिहले भने । इराक मात्र होइन, मध्यपूर्वमै खुला राजनीतिक र प्रेस स्वतन्त्रता दुर्लभ छन्, जहाँका अधिकांश देशमा निरंकुश शासन छ । मिडिया स्वतन्त्रता र व्यक्तिगत अधिकारमाथि व्यापक दमन छ । 

तर, बेरोजगारी व्याप्त भएको ठाउँमा मिडिया स्वतन्त्रता र खुला राजनीतिले त्यति महत्व पाउँदोरहेनछ । विश्व बैंक र अन्तर्राष्ट्रिय श्रम संगठनका अनुसार बेरोजगारी व्याप्त हुँदा इराकले देशमा प्रगति भएको महसुस गर्दैनन् । सोही दुई संस्थाले देशका तीनमध्ये एकभन्दा बढी युवा बेरोजगार भएको तथ्यांक सार्वजनिक गरेका छन् ।

निजी क्षेत्र राम्ररी नफस्टाएकाले तिनमा रोजगारीको सम्भावना न्यून छ । यसको अर्थ अधिकांश इराकी रोजगारीका लागि सरकारी पदको पर पर्छन् । तर, उच्च जनसंख्या वृद्धि भोगिरहेको यस मुलुकका लागि सरकारी संस्थानले मात्र पर्याप्त रोजगारी दिलाउन सकिरहेका छैनन् । इराकको योजना मन्त्रालयका अनुसार करिब एकचौथाई इराकीहरू गरिबीको रेखामुनि छन् । तर, भएका सीमित सरकारी रोजगारीका लागि व्यापक अनियमितता हुने देखाएको छ । केही हजार कमाइ हुने सरकारी पदका लागि लाखौँ रकम लेनदेन हुन्छ । ट्रान्सपरेन्सी इन्टरनेसनलले आफ्नो भ्रष्टाचार सूचकांकमा १८० देशहरूमध्ये इराकलाई १५७औँ स्थानमा राखेको छ ।

इराकी राजनीतिक विश्लेषक र अमेरिकी अनुसन्धान संस्था सेन्चुरी फाउन्डेसनका गैरआवासीय फेलो सजाद जियादका अनुसार इराकका हरेक पार्टी देशको शक्ति र स्रोत जतिसक्दो लुट्ने प्रयास गरेझैँ गर्छन् । भ्रष्टाचार यति हदसम्म संस्थागत भएको छ कि पार्टीले मन्त्री पद मात्र बाँडफाँट गर्दैनन्, सरकारी पदका तल्लो तहसम्म बाँडफाँड गर्छन् । यी पद तिनका समर्थकहरूलाई पुरस्कृत गर्न वा राजनीतिक फाइदाका लागि प्रयोग गर्छन् । ‘यसले राज्य चलाउन धेरै कठिन बनाइरहेको छ, किनकि कोही पनि जवाफदेही छैनन् । भ्रष्टाचारको छानबिन गर्ने मानिस नै राजनीतिक बाँडफाँटका आधारमा नियुक्त भएका हुन् । तिनको मुद्दा हेर्नेदेखि तिनलाई पक्राउ गर्ने पनि पनि दलबाट चुनिएका हुन्छन् । यस्तोमा तिमी मेरो भ्रष्टाचारलाई नदेखेजस्तो गर म तिम्रोलाई नदेखेजस्तो गर्छु भनेजस्तो हुन्छ,’ जियादले भने । 

कहिलेकाहीँ अपराध छोप्न नसक्नेस्तरको भएपछि बाहिर आउँछन् । पछिल्लो समय एक त्यस्तै घटनामा राजस्व कार्यलयबाट २.५ अर्ब डलर चोरी भयो । त्यति नै रकम देशबाट बाहिर गएको देखिएको छ । घटनामा सुरुमा एकजना व्यक्तिको नाम मात्र मुछिएको थियो । तर, अहिले १० जनालाई पक्राउ पुर्जी जारी गरिएको छ, जसमध्ये दुईजना तत्कालीन प्रधानमन्त्रीको कार्यालयका अधिकारी मुस्तफा अल–काधिमी पनि छन् ।

अल–काधिमीलगायत पक्राउ पुर्जी जारी गरिएका अधिकांश देश बाहिर छन् र आफूमाथि लागेको आरोप दृढतापूर्वक अस्वीकार गरिरहेका छन् । समाचार सञ्चारमाध्यमले उक्त घटनालाई ‘शताब्दीको चोरी’ नाम दिएका छन् । तर, भ्रष्टाचारविरोधी संस्थाका न्यायाधीश धिया जाफरले भने यो प्रकरणकै स्तरका अरू पनि घटना हुन सक्ने, तर तिनीहरू बाहिर नआएको विश्वास गर्छन् । तर, पछिल्लो घटनामा भने कारोबारका कागजातको सबुत बाहिरिएपछि अपराध लुक्न सकेन । 

इराकीहरूका लागि सबैभन्दा कठिन काम सरकारी जागिर पाउनु हो । यसका लागि मन्त्रालय वा राजनीतिक दलका शीर्ष पदमा आसीन कोही न कोहीलाई चिन्नुपर्छ । चिनेर काम हुँदैन, तिनलाई ठूलो रकम दिनुपर्छ । भ्रष्टाचारविरोधी अधिकारी र संसद् सदस्यका अनुसार पछिल्ला यो अभ्यास व्यापक बढेको छ र फरक पदका लागि फरक मूल्य कायम गरिएको छ । बग्दादको विपन्न सदर बस्तीमा रहेको विशाल अस्पतालमा काम गर्ने ३० वर्षीय रेडियोलोजी प्राविधिक जैनाब जसिम जायरेले धेरै वर्षअघि सो पदमा छिन् । उनले काम सुरु गर्दा सरकारी पदका लागि मूल्य तोकिने कुरा आमअभ्यास बनिसकेको थिएन । तर, उनका विद्यार्थीले उनले गरेजस्तो रोजगारी पाउन ३० हजार डलरसम्म तिरिरहेको उनले सुनेकी छिन् । 

दुई स्थिरता : असुरक्षा र अस्थिरता
जनताले सरकारसँग गर्ने सबैभन्दा आधारभूत माग अर्थात् सुरक्षाको ग्यारेन्टी पनि इराकका सबै ठाउँमा पाइँदैन । सुरक्षा स्थानमा निर्भर गर्दछ । बग्दादको उत्तर–पूर्वमा फैलिएको, ठूलो मात्रामा ग्रामीण प्रान्त, दियालामा, साम्प्रदायिक लडाइँ अझै छिटपुट चलिरहेकै छ । एक साताअघि मात्रै आठजनाको ज्यान गएको थियो र जनवरीदेखि हालसम्म साम्प्रदायिक हत्यामा ४० जनाभन्दा मारिसकेका छन् । इराकी सुरक्षा अधिकारीहरूका अनुसार इस्लामिक स्टेटको सुरक्षा खतरा अहिले उल्लेख्य रूपमा कम भएको छ । डिसेम्बरमा अमेरिकी सैन्य कमान्डरले गरेको विश्लेषणले ‘इराकमा जेलभित्र २०,००० भन्दा बढी आइएस नेता र लडाकु रहेको’ पत्ता लगाएको थियो । अर्थात् आइएस अहिले ‘हिरासतमा रहेको सेना’मा बदलिएको छ ।

फलुजाको चिहानको एक कुनामा धाही परिवारका २७ सदस्यको चिहान छ । सन् २००६ अप्रिल ६ को भीषण लडाइँको क्रममा अमेरिका युद्धक विमानले तिनको पारिवारिक घरमा हवाइ आक्रमण गर्दा त्यति ठूलो हताहती भएको थियो । एउटा सानो चिहानमा तीनवटा नाम छन्, जुन चिहान सो बम आक्रमणमा मारिएका तीन शिशुको हो । त्यस आक्रमणमा बचेका परिवारका एक शिशु–सदस्य अहिले २३ वर्ष पुगिसकेका छन् । वालिद दही नामले चिनिने ती शिशु भग्नावशेषमा जिउँदै फेला परेका छन् ।

उनको नजिकका आमाबाबु, तीन भाइ र एक बहिनीको शव फेला परेको थियो । सो घटनाको छापका रूपमा उनको एउटा आँखा छैन र उनको खुट्टामा अझै एक छर्रा छ । ‘अमेरिकीहरूप्रति मेरो धारणा नकारात्मक छ, किनकि यदि कसैले आएर मेरो परिवारलाई मार्छ र मसँग कुनै प्रतिरोध गर्ने कुनै शक्ति छैन भने तीप्रति घृणा नै आउँछ,’ २३ वर्षीया वालिदले भने,’ पक्कै पनि बाँच्नेले कुनै तरिकाले जीवनलाई अगाडि बढाउनुपर्छ, तर मैले मेरो परिवार गुमाए र म यसबाट नराम्ररी प्रभावित भएँ । कहिलेकाहीँ बरु म पनि मरेको उनीहरूसँगै मरेको भए हुन्थ्यो भन्ने सोच आउँछ ।’
(द न्युयोर्क टाइम्सका लागि एलिसा जे रुबिनको रिपोर्टिङ)