
खजुरास्थित ज्ञानोदय बहुमुखी पब्लिक क्याम्पसको स्ववियु निर्वाचनमा एमालेनिकट अनेरास्ववियुको प्यानलै विजयी भएको छ। सभापतिमा विनय यादव विजयी भएका छन्।
दुई सय २९ जना मतदाता रहेको क्याम्पसमा २ सय २२ मत खसेको थियो । यादवले १ सय १ मत प्राप्त गरे । यसैगरी अनेरास्ववियु क्रान्तिकारीका सरिफ खाँले ६१ मत र नेविसंघका हिमाल पंगालीले ४८ मत पाएको निर्वाचन समितिले जनाएको छ।
त्यसैगरी, सचिवमा अनेरास्ववियुका प्रेमप्रसाद पौडेल र कोषाध्यक्षमा विनिता पुनमगर विजयी भएका छन् । सदस्यमा पनि अनेरास्ववियुका सपना थापा क्षेत्री, मोहम्मद उसमान खान र निरुता थापा विजयी भएका छन्।
समानुपातिकतर्फ अनेरास्ववियुले एक सय ७, नेविसंघले ५७ र अनेरास्ववियु क्रान्तिकारीले ५४ मत पाए।
यसैबीच, नेपालगन्ज नर्सिङ क्याम्पसमा मिश्रित परिणाम आएको छ । सभापति र कोषाध्यक्ष र एक सदस्य नेपाल विद्यार्थी संघ–अखिल क्रान्तिकारी गठबन्धनले जितेको छ भने सचिव र दुई सदस्य एमालेनिकट अनेरास्ववियुले जितेको छ।
सभापतिमा गठबन्धनकी दीपिका सोनी र कोषाध्यक्षमा रेलुसा खत्री विजयी भए। सचिवमा अनेरास्ववियुकी देवार्चना अधिकारी विजयी भएको क्याम्पस प्रशासनले जनाएको छ।
सदस्यमा अनेरास्ववियुकी विनिता बेल्बाँसे, ईशा पौडेल र गठबन्धनकी रश्मि अधिकारी विजयी भए ।