मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमाडौं
२०७९ चैत ५ आइतबार ११:११:००
Read Time : > 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

अर्थतन्त्रलाई चलायमान बनाउन एकल अंकको ब्याजदर : चेम्बर अध्यक्ष मल्ल

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ चैत ५ आइतबार ११:११:००

नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले अर्थतन्त्रलाई चलायमान बनाउन एकल अंकको ब्याजदर आवश्यक रहेको बताएका छन् । हाल कायम उच्च ब्याजदरले उद्योग–व्यवसाय एवं लगानी प्रभावित भएको भन्दै उनले एकल अंकको ब्याजदर कायम गर्नुपर्ने बताएका हुन् ।

तुलसीपुर चेम्बर अफ कमर्सको दोस्रो साधारणसभालाई शनिबार सम्बोधन गर्दै अध्यक्ष मल्लले अर्थतन्त्रलाई चलायमान बनाउन पनि एकल अंकको ब्याजदर आवश्यक रहेकोमा जोड दिए । अर्थतन्त्रको वर्तमान अवस्थालाई सुधार गर्न सरकार–निजी क्षेत्र मिलेर हातेमालो गर्नुपर्ने अध्यक्ष मल्लले बताए । ‘अर्थतन्त्रको आन्तरिक पाटो अहिले पनि जोखिमकै अवस्थामा छ, रोजगारी सिर्जना हुन सकेको छैन । उत्पादन हुन नसक्दा कृषिजन्य वस्तुहरूसमेत आयात गर्नुपर्ने अवस्था आउनु विडम्बना भएको छ,’ उनले भने, ‘ब्याजदर एकल अंकमा आउन सक्यो भने अर्थतन्त्र पुनः चलायमान हुन्छ ।’

आर्थिक स्थायित्व र व्यावसायिक वातावरण निर्माणका लागि ब्याजदरमा लकअप प्रणाली लागू गर्नुपर्ने अध्यक्ष मल्लको भनाइ थियो । ‘ब्याजदर अस्थिर हुँदा ऋणीहरू मर्कामा परेका छन्, लगानीको वातावरण सिर्जना हुन सकेको छैन,’ उनले भने, ‘उद्योग–व्यवसाय सञ्चालन, घरजग्गा, कृषिलगायत विभिन्न प्रयोजनमा ऋण लिने प्रक्रियामा सुरुवाती चरणमै निश्चित ब्याजदर कायम गर्ने र पछि फेरबदल नहुने हो भने वित्तीय क्षेत्रमा अस्थिरता आउँदैन ।’

उनले स्थानीय तहमा कृषि उत्पादन वृद्धि हुने गरी समन्वय गर्न जिल्ला चेम्बरलाई आग्रहसमेत गरे । स्थानीय तहमा उत्पादित वस्तुको बजारीकरणका लागि जिल्ला चेम्बरले समन्वयन गर्न सक्ने उनको भनाइ थियो । 

उक्त अवसारमा चेम्बर अफ कमर्स लुम्बिनी प्रदेशका उपाध्यक्ष श्रीधर महराले उद्योगी–व्यवसायीहरूले आर्थिक चपेटामा परेर बताए । उनले बैंक ब्याज तिर्न नसक्दा व्यवसायबाट पलायन हुनेदेखि आत्महत्या गर्नेसम्मको समस्या देखिएको औँल्याए । 

तुलसीपुर चेम्बर अफ कमर्सका अध्यक्ष टोपबहादुर घर्तीले सरकारले उद्यमी–व्यवसायीका समस्या समाधानमा ध्यान दिनुपर्ने बताए । तुलसीपुर उपमहानगरपालिकाका मेयर टीकाराम खड्काले कोरोना महामारीलगायत कारण मुलुकको अर्थतन्त्र कमजोर भएको बताए ।