१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
२०७९ चैत ३ शुक्रबार ०७:१२:००
Read Time : > 2 मिनेट
अर्थ प्रिन्ट संस्करण

विद्युत् चुहावट नियन्त्रणमा लक्ष्यभन्दा बढी प्रगति

Read Time : > 2 मिनेट
२०७९ चैत ३ शुक्रबार ०७:१२:००

चालू आर्थिक वर्ष ०७९/८० मा विद्युत् चुहावट नियन्त्रणमा लक्ष्यभन्दा पनि बढी प्रगति भएको छ । नेपाल विद्युत् प्राधिकरणले चालू आवमा समग्र विद्युत् चुहावटलाई १४ प्रतिशत र वितरणतर्फको चुहावटलाई ८.५ प्रतिशतमा झार्ने लक्ष्य राखेको थियो । तर, माघ मसान्तसम्म आउँदा समग्र प्रणालीको चुहावट १२.५९ प्रतिशत र वितरणतर्फको चुहावट ७.९९ प्रतिशतमा झरेको छ ।

 चालू आवको माघसम्म वितरण प्रणालीमा पाँच अर्ब ७३ करोड २२ लाख युनिट विद्युत् प्राप्त भएको थियो । त्यसमा पाँच अर्ब २७ करोड ४१ लाख युनिट विद्युत् बिक्री भएको प्राधिकरणको भनाइ छ । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले गर्मीमा तराई क्षेत्रमा केही मात्रामा चुहावट बढे पनि पछिल्लो समय घट्दै गएको बताए । प्राविधिक र गैरप्राविधिक चुहावटका लागि चालिएका कदमलाई प्रभावकारी बनाउँदा विद्युत् चुहावटलाई तोकिएको लक्ष्यभन्दा तल झार्ने गरी काम भइरहेको उनको भनाइ छ । 

‘ग्राहकका घरमा राखिएका मिटर रिसिलिङ गर्ने, बक्यौता नतिर्ने तथा कालोसूचीमा रहेका ग्राहकको लाइन काट्ने, छड्के मिटर रिडिङ गर्ने, हुकिङलगायतबाट हुने विद्युत् चोरी नियन्त्रणका लागि नियमित अनुगमन तथा कारबाही गर्नेलगायतलाई देशैभरि अभियानकै रूपमा सञ्चालन गरिएको छ,’ उनले भने, ‘यस अवधिमा धेरै पुराना तथा ओभरलोड भएका कन्डक्टर तथा ट्रान्सफर्मर फेरिएका छन्, नयाँ सबस्टेसन निर्माण सम्पन्न भई सञ्चालनमा आएका छन्, सबस्टेसनको स्तरोन्नति गरिएको छ, औद्योगिक क्षेत्रमा विद्युत्् खपत बढेको छ, थ्री फेज मिटरको प्रयोगलाई प्रोत्साहन गरिएको छ, समग्रमा प्रसारण तथा वितरण प्रणालीमा गरिएको ठूलो लगानीको नतिजा चुहावट नियन्त्रणमा देखिएको छ ।’ 

प्रत्येक प्रादेशिक तथा प्रदेश डिभिजन कार्यालय र ती मातहतका वितरण केन्द्रहरूलाई चुहावट नियन्त्रणको लक्ष्य तोकिएको छ । लाइन सुधार तथा विस्तारका लागि पर्याप्त बजेटको व्यवस्था गरिएको छ ।प्राधिकरणका वितरण केन्द्रहरूले स्थानीय प्रशासनको सहयोगमा विद्युत् चोरी गर्नेलाई दैनिक रूपमा नियन्त्रणमा लिँदै कारबाही गर्दै आएका छन् । फलस्वरूप चुहावट घट्दै गएको घिसिङको भनाइ छ ।

 कुन प्रदेशमा कति चुहावट ?
प्राधिकरणका सातवटा प्रादेशिक कार्यालय र दुईवटा प्रदेश डिभिजन कार्यालयमातहतका वितरण केन्द्रहरूमध्ये सबैभन्दा बढी विद्युत् चुहावट रहेको मधेस प्रदेश प्रादेशिक कार्यालय, जनकपुरको चुहावट ११.७८ प्रतिशतमा झरेको छ ।प्रादेशिक कार्यालय जनकपुरमातहतका २३ वटा वितरण केन्द्रको गत वर्षको माघसम्मको समग्र विद्युत् चुहावट १२.३० प्रतिशत रहेकोमा यस वर्ष ११.७८ प्रतिशतमा झारेको छ । 

कोसी प्रादेशिक कार्यालय विराटनगरमातहतका २४ वटा वितरण केन्द्रको माघसम्मको समग्र विद्युत् चुहावट भने ८.१७ प्रतिशत रहेको छ । अघिल्लो वर्ष सोही अवधिमा यस्तो चुहावट १० प्रतिशत थियो । बागमती प्रदेशअन्तर्गत प्रदेश डिभिजन कार्यालय हेटौँडामातहतका ६ वटा वितरण केन्द्रहरूको चुहावट भने बढेको छ । गत वर्षको माघसम्म ४.६३ प्रतिशत रहेको त्यहाँको विद्युत् चुहावट अहिले भने ५.९९ प्रतिशत पुगेको हो । 

बागमती प्रदेश प्रादेशिक कार्यालय काठमाडौंमातहतका २० वटा वितरण केन्द्रहरूको समग्र विद्युत् चुहावट ६.२५ प्रतिशत रहेको छ । अघिल्लो वर्ष माघ मसान्तसम्म त्यहाँको विद्युत् चुहावट ९.३० प्रतिशत थियो । गण्डकी प्रदेशअन्तर्गत प्रादेशिक कार्यालय पोखरामातहतका १२ वटा वितरण केन्द्रहरूको पनि घटेको छ । गत वर्षको माघसम्म ८.०३ प्रतिशत रहेकोमा त्यहाँको विद्युत् चुहावट चालू आवको समीक्षा अवधिमा ७.२५ प्रतिशतमा झरेको छ । 

लुम्बिनी प्रदेशअन्तर्गत प्रादेशिक कार्यालय बुटवलमातहतका ११ वटा वितरण केन्द्रहरूको समग्र विद्युत् चुहावट ६.९६ प्रतिशत रहेको छ । गत आवको समीक्षा अवधिमा त्यहाँको विद्युत् चुहावट १०.१४ प्रतिशत थियो । लुम्बिनी प्रदेशअन्तर्गत प्रदेश डिभिजन कार्यालय नेपालगन्जमातहतका नौवटा वितरण केन्द्रहरूको चुहावट पनि घटेको छ । गत आवको माघसम्म ७.४१ प्रतिशत रहेको त्यहाँको चुहावट चालू आवको समीक्षा अवधिमा ५.०६ प्रतिशतमा झरेको छ । 

कर्णाली प्रदेशअन्तर्गत प्रादेशिक कार्यालय सुर्खेतमातहतका सातवटा वितरण केन्द्रको समग्र विद्युत् चुहावट सामान्य रूपमा बढेको छ । गत आवको समीक्षा अवधिमा १५.६९ प्रतिशत रहेको त्यहाँको चुहावट अहिले बढेर १५.७४ प्रतिशत पुगेको छ । सुदूरपश्चिम प्रदेशअन्तर्गत प्रादेशिक कार्यालय अत्तरियामातहत १२ वटा वितरण केन्द्रहरूको माघसम्मको समग्र विद्युत् चुहावट ७.१६ प्रतिशतमा झरेको छ । गत आवको समीक्षा अवधिमा चुहावट ७.२७ प्रतिशत थियो ।

प्राधिकरणको लक्ष्य
समग्र चुहावट : १४ प्रतिशत
वितरण चुहावट : ८.५ प्रतिशत
 माघसम्मको प्रगति 
समग्र चुहावट : १२.५९ प्रतिशत
वितरण चुहावट : ७.९९ प्रतिशत