मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
२०७९ चैत ३ शुक्रबार ०७:०४:००
Read Time : > 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

६ महिनामा प्राधिकरणको नाफा झन्डै ११ अर्ब

अघिल्लो वर्षको तुलनामा चालू आवको ६ महिनामा प्राधिकरणको नाफा १० प्रतिशत घट्यो

Read Time : > 1 मिनेट
२०७९ चैत ३ शुक्रबार ०७:०४:००

चालू आर्थिक वर्षको पहिलो ६ महिनामा नेपाल विद्युत् प्राधिकरणले करअघिको नाफा १० अर्ब ९१ करोड ५९ लाख हुने अनुमान गरेको छ । समीक्षा अवधिमा प्राधिकरणको कुल आम्दानी ५८ अर्ब ५७ करोड ५३ लाख र कुल खर्च ४७ अर्ब ६५ करोड ९३ लाख भएको प्राधिकरण लेखा विभागका निर्देशक समीरप्रसाद पोखरेलले बताए । तर, अघिल्लो वर्षको सोही अवधिको तुलनामा प्राधिकरणको नाफा १० प्रतिशतले घटेको छ । गत आवको सोही अवधिको तुलनामा यो वर्ष प्राधिकरणको नाफा एक अर्ब २० करोड ५३ लाख कम हो ।

चालू आवकै पहिलो त्रैमाससम्म प्राधिकरणको नाफा आठ अर्ब ५० करोड थियो । तर, त्यसपछि तीन महिनामा दुई अर्ब ४१ करोड मात्रै नाफा थपिएको छ । प्राधिकरणले विभिन्न आयोजनाहरूमा सेयर तथा ऋण लगानी बढाएका कारण नाफा घटेको हुन सक्ने प्राधिकरणका प्रवक्ता सुरेश भट्टराईले बताए । समीक्षा अवधिमा प्राधिकरणले विभिन्न जलविद्युत् तथा वितरण आयोजनाहरूमा १५ अर्ब २२ करोड १४ लाखबराबरको सेयर तथा ऋण लगानी गरेको छ । यस्तै, कात्तिकदेखि चैतसम्म सुक्खा यामका कारण विद्युत् उत्पादन कम हुन्छ । यही समयमा भारतबाट पनि महँगोमा बिजुली खरिद गर्नुपर्छ ।  

गत आवको पुससम्ममा ३७ करोड ९८ लाख १२ हजार युनिट विद्युत् दुई अर्ब ५७ करोडमा खरिद गरिएको थियो । यो वर्ष २९ करोड ३८ लाख ६ हजार युनिट विद्युत् आयात गरिएको छ । तर, त्यसबापत तीन अर्ब ९० करोड ७३ लाख रुपैयाँ भुक्तानी गर्नुपरेको छ । यसरी यो वर्ष भारतबाट खरिद गरिने विद्युत्को लागत बढेको छ ।

प्राधिकरणको तथ्यांकअुसार समीक्षा अवधिमा कुल आम्दानी २२ प्रतिशत बढेको छ । गत आवको पुस मसान्तसम्म ४७ अर्ब ९७ करोड ६७ लाख रहेको प्राधिकरणको आम्दानी यस वर्ष ५८ अर्ब ५७ करोड ५३ लाख पुगेको छ । प्राधिकरणले पुस मसान्तसम्म निजी क्षेत्रका आयोजनाबाट २२ अर्ब ८५ करोड १७ लाखबराबरको चार अर्ब ५९ करोड पाँच लाख युनिट विद्युत् खरिद गरेको छ । प्राधिकरणले यो अवधिमा विद्युत् बिक्री गरेर भने ४१ अर्ब १६ करोड ३२ लाख रुपैयाँ आम्दानी गरेको छ । 

विभिन्न आयोजनामा लगानी बढेकाले नाफा घटेको हुन सक्छ 
सुरेश भट्टराई, प्रवक्ता,नेपाल विद्युत् प्राधिकरण  

प्राधिकरणले विभिन्न आयोजनाहरूमा सेयर तथा ऋण लगानी बढाएका कारण नाफा घटेको हुन सक्छ ।

समीक्षा अवधिमा प्राधिकरणले विभिन्न जलविद्युत् तथा वितरण आयोजनाहरूमा १५ अर्ब २२ करोड १४ लाखबराबरको सेयर तथा ऋण लगानी गरेको छ ।

कात्तिकदेखि चैतसम्म सुक्खा यामका कारण विद्युत् उत्पादन कम हुन्छ । यही समयमा भारतबाट पनि महँगोमा बिजुली खरिद गर्नुपर्छ ।