मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
तस्बिर : ज्ञानेन्द्र कार्की/नयाँ पत्रिका
दीपक अधिकारी काठमाडाैं
२०७९ चैत २ बिहीबार १८:४०:००
Read Time : > 3 मिनेट
ब्लग डिजिटल संस्करण

गुल्सनको त्यो २० रन, जसले नेपाललाई दिलायो ऐतिहासिक उपलब्धि

Read Time : > 3 मिनेट
दीपक अधिकारी, काठमाडाैं
२०७९ चैत २ बिहीबार १८:४०:००

आइसिसी पुरुष विश्वकप डिभिजन लिग - २ को अन्तिम खेलमा नेपाल र युएई आमनेसामने थिए। एकदिवसीय मान्यता गुमाइसकेको र प्लेअफ खेल्न बाध्य बनिसकेको युएईका लागि नेपालविरुद्धको जित लिग– २ लाई जितका साथ बिदा गर्नु मात्र थियो। तर, नेपालका लागि युएईविरुद्धको जित एकदिवसीय क्रिकेटमा ऐतिहासिक फड्कोका लागि ढोका खोल्नुबराबर थियो। 

मैदानमा टसअघि नै हजारौँ समर्थक पुगिसकेका थिए। नेपालका लागि १२औँ खेलाडी मानिँदै आएका समर्थकको साथ नेपालको पक्षमा थियो। तर, अघिल्ला लगातारका १२ म्याचमा दाहिना बनेको टस, यसपटक पक्षमा देखिएन। अर्थात्, नेपालले टस हार्‍यो र पहिले फिल्डिङ गर्न बाध्य भयो। 

आजको पिच बलरहरूको फेवरमा थिएन। यद्यपि, लिग– २ का पछिल्ला तीन सिरिजमा उत्कृष्ट प्रदर्शन गरिरहेका नेपाली बलरले युएईका ब्याटरलाई बाँधेर राख्ने विश्वास थियो। तर, खेल सुरु भएलगत्तै त्यो विश्वास डगमगायो, जब युएई कप्तान मोहम्मद वसिमको ब्याटबाट सुरुदेखि नै रनको वर्षा हुन थाल्यो। रनको के, वसिमले छक्काकै वर्षा गरे। ४९ बलमा ६ छक्काको मद्दतले टिमलाई जबर्जस्त सुरुवात दिलाएर उनी सन्दीप लामिछानेको बलमा एलबिडल्बु भए। त्यसअघि नै ललितले तेस्रो ओभरमै आर्यन लाक्रालाई बोल्ड गरेका थिए। 

वसिम आउट भएपछि खेलमा नेपाली बलर हावी देखिए । थप २० रन बनाउँदा युएईले तेस्रो विकेट गुमायो। थप दश रन बनाएपछि चौथो विकेट खस्यो। त्यसपछि आएका रोहन मुस्तफालाई पनि दीपेन्द्रसिंह ऐरीले एलबिडब्लु धरापमा पारे। यस्तो लाग्दैथ्यो, खेल पूरै नेपालको पक्षमा छ, नेपाली बलर युएईका ब्याटरमाथि हाबी भइसकेका छन्। 

तर, जब क्रिजमा आसिफ खानको आगमन भयो, नेपाली दर्शकवृत्तमा बारम्बार ‘पिन ड्रप साइलेन्ड’को अवस्था बन्यो। किनभने, वसिमलाई पनि बिर्साएर आसिफले कीर्तिपुरस्थित त्रिवि खेलमैदानमा छक्काको वर्षा गराए। 

यस्तो वर्षा सायद त्रिवि खेलमैदानमा यसअघि कहिल्यै देखिएको थिएन। आसिफका अघिल्तिर कोही टिक्न सकेनन्, ग्लोबल स्टार भनिने सन्दीप लामिछानेसमेत। लामिछानेको अन्तिम ओभरमा २६ रन बन्यो।

आसिफले ४१ बलमा एक सय रन बनाएर सबैभन्दा तीव्रगतिमा शतक पूरा गर्ने संसारकै चौथो खेलाडीका रूपमा कीर्तिमान लेखाए। उनी एक सय एक रनमा अविजित रहे। 

अर्कोतर्फ, सुरुदेखि नै एउटा इन्ड सम्हालेर बसेका भ्रित्य अरविन्दले अन्तिम बलमा आउट हुनुपूर्व ९४ रनको योगदान दिए। 

पछिल्ला पाँच ओभरमा युएईले ८६ रन बनाएर आफ्नो स्कोर तीन सय १० पुर्‍याएपछि ग्लोबल क्वालिफायरमा छनोट हुने सपना धुमिल देखिन थाल्यो। किनभने, नेपालले कहिल्यै यति ठूलो रनको लक्ष्य पछ्याएर पार गरेको थिएन। 

अझ निराशा त त्यति वेला भयो जति वेला पहिलो ओभरको तेस्रो बलमै नेपालले आसिफ सेखलाई गुमाउन पुग्यो। दुई बल मात्र सामना गरेका आसिफ ठूलो सट प्रहार गर्ने चक्करमा विकेट किपरबाट स्टम्पिङ भए। 

ठूलो रन पछ्याउन विकेटमा टिकेर ‘इनिङ बिल्डअप’ गर्नुपर्नेमा ६ रनको अवस्थामा अनावश्यक सट हान्दा कुशल मल्ल क्याच आउट भए। कप्तान रोहितकुमार पौडेलले कुशल भुर्तेलसँग मिलेर इनिङ बढाउन खोजे। तर, सातौँ ओभरमा टिमको स्कोर ३७ रन भएका वेला क्याचआउट हुन पुगे। 

रोहित पेभेलियन फर्किएसँगै नेपाल खेलमा फर्किने आशा मर्दै गयो। अगाडि ठूलो लक्ष्य थियो। लामो इनिङ खेल्ने क्षमताका ब्याटर बाँकी थिएनन्। जो बाँकी थिए, ओडिआईको कम अनुभव रहेका खेलाडी थिए। 

तर, क्रिकेट अनिश्चितताको खेल हो भनेजस्तै भयो। भीम सार्कीसँग मिलेर कुशल भुर्तेलले टिमलाई अगाडि बढाउन खोजे। संकटपूर्ण अवस्थामा उनले अर्धशतक बनाए। तर, लगत्तै उनी आउट भए। 

उनी आउट भएपछि भीम सार्की र आरिफ सेखबीचको साझेदारीले जितको आधार तयार गर्‍यो। नवौँ ओडिआई खेलिरहेका भीमले आरिफसँग मिलेर ९१ रनको साझेदारी गरे। ६७ रन बनाएपछि रनको गति बढाउने प्रयासमा अधैर्य हुँदा उनी एलबिडल्बु आउट हुन पुगे। 

भीम गए पनि उनले देखाएको आशाले काम गर्‍यो। आरिफले सायद आफ्नो खेलजीवनकै सबैभन्दा महत्वपूर्ण दोस्रो साझेदारी गर्ने क्रममा गुल्सन झासँग अर्धशतकीय साझेदारी गरे। दुर्भाग्यवशः आरिफ पनि अर्धशतक बनाएलगत्तै आउट भए। 

आरिफ आउट हुँदासम्ममा युएई खेलमा पूरै हाबी देखिएको थियो। एकातिर रिक्वायर्ड रेट लगातार बढ्दै थियो, अर्कोतिर युएईका बलरले धिमा बलिङ गरेर दबाब बनाइरहेका थिए। पानी वा खराब प्रकाशको कारण खेल पूरा हुन नसके पनि डिएलएस मेथडबाट युएईले जित्ने सम्भावना बलियो नै थियो। 

तर, खेलमा गुल्सनले पासा पल्टाए। उनले एकै ओभरमा एक छक्का र तीन चौकासहित २० रन बटुलेपछि नेपाल खेलमा फर्कियो। रिक्वायर्ड रेट घट्दै गयो। अझ क्रिजमा नेपालका सबैभन्दा विस्फोटक ब्याटर र अझ फिनिसर दीपेन्द्रसिंह ऐरीको साथ थियो। यस्तोमा नेपालले पूरै ५० ओभर खेले जित्न सक्ने सम्भावना बढ्दै थियो। 

तर, युएईका खेलाडीले लगातार ढिलो बलिङ गर्दा त्यसको असर उनीहरूलाई नै पर्न गयो। निर्धारित समयअनुसार पाँच बजेभित्र खेल सकिनुपर्ने थियो। त्यो हुन नसक्दा आधा घण्टासम्म समय थप गर्न पाउने अधिकार अम्पायरलाई हुने भएकाले पाँच बजेपछि पनि खेल चलिरहेको थियो। 

पाँच बजेर ३७ मिनेट हुँदासम्म ४४ ओभरको खेल मात्र सकिएको थियो। मैदानमा प्रकाशको कमीका कारण ब्याटरहरूलाई असर हुने अवस्था बनेको थियो। त्यसैले नेपाली ब्याटर दीपेन्द्र र गुल्सनले अम्पायरलाई ब्याडलाइटको अपिल गरे। अम्पायर सहमत भए। क्रिजबाट अम्पायरले स्टम्प उखाले र मैदान छाडे। 

खेलमा एकाएक आएको परिस्थितिबारे अनभिज्ञ दर्शक के भयो भन्ने अन्योलमा थिए। रेफ्रीले मैदान छाड्नेबित्तिकै पेभलियनबाट नेपाली टिमका रिजर्भ खेलाडी मैदानभित्र दौडिए। नेपालीहरू आपसमा बधाई साट्न थाले। 

थप खेल हुन नसक्ने अवस्थामा डकवर्थ लुइस मेथडअनुसार नेपालले युएईलाई ९ रनले पराजित गरेको थियो। अन्योलमा रहेका दर्शकले यो थाहा पाउनेबित्तिकै खेलमैदानमा नेपाल–नेपाल गुन्जियो। 

यो जितसँगै नेपालले लिग– २ को तेस्रो स्थानमा उक्लियो र ग्लोबल क्वालिफायरका लागि सीधै छनोट भयो। हजारौँको संख्यामा उपस्थित दर्शक यो रोमाञ्चक खेलको साक्षी मात्र बनेनन्, यसपटक पनि नेपाललाई जिताउन पुनः १२औँ खेलाडीको रूपमा भूमिका निभाए। किनभने, प्रत्येक बलमा नेपाली दर्शकले नेपाली ब्याटरमा उत्साह भरेका थिए।

यो सामान्य जित थिएन। यो जितले नेपाली क्रिकेटमा नयाँ ढोका खोलेको छ। त्यसैले, यो जित नेपाली क्रिकेटलाई टेस्ट राष्ट्रको मान्यता दिलाउनेसम्मको सम्भावनासहितको नयाँ फड्को हो।