
नर्वेली फरवार्ड अर्लिङ ब्राउट हालान्डको कीर्तिमानी ह्याट्रिकसँगै इंग्लिस क्लब म्यानचेस्टर सिटीले युइएफए च्याम्पियन्स लिगको अन्तिम आठमा स्थान सुरक्षित गरेको छ ।
सिटीको घरेलु मैदान इतिहाद स्टेडियममा गएराति सम्पन्न प्रि–क्वार्टरफाइनलको दोस्रो लेगमा हालान्ड एक्लैले पाँच गोल गरेपछि सिटीले जर्मन क्लब आरबी लाइप्जिगमाथि ७–० (समग्रमा ८–१) को ऐतिहासिक जित हासिल गर्याे । यसअघि लाइप्जिगको घरेलु मैदानमा भएको पहिलो लेग १–१ गोलको बराबरीमा सकिएको थियो ।
सिटीलाई एकपक्षीय जित दिलाउने क्रममा हालान्डसँगै इल्केए गुन्डोगान र केभिन डी ब्रुएनाले पनि १–१ गोल गरे ।
हालान्डले २२औँ मिनेटमा पेनाल्टीमार्फत गोल गर्दै गोलको खाता खोलेका थिए । उनले २४औँ मिनेटमा दोस्रो र पहिलो हाफको इन्जुरी समयमा ह्याट्रिक पूरा गरे । ५३ र ५७औँ मिनेटमा थप दुई गोल गर्दै उनले मेसी र एड्रियानोको बराबरी गरे ।
गएराति एकैखेलमा पाँच गोल गरेसँगै हाल्यान्ड च्याम्पियन्स लिगमा सर्वाधिक चाँडो ३३ गाेल पूरा गर्ने र एकै खेलमा पाँच गोल गर्ने कम उमेरमा खेलाडी बनेका छन् । यो उपलब्धि यसअघि अर्जेन्टिनी फर्वार्ड लियोनल मेसी र ब्राजिलियन लिजेन्ड लुइज एन्ड्रिएनोको नाममा थियो ।
च्याम्पियन्स लिग खेलमा सन् २०१२ मा बायर लेभरकुसेनविरुद्ध बार्सिलोनाका लियोनल मेसी र सन् २०१४ मा बोरिसोभविरुद्ध साख्तर डोनेट्स्कका लुइज एड्रियानोले पाँच–पाँच गोल गरेका थिए ।
२२ वर्षीय हालान्डले जारी सिजनमा सिटीका लागि ३९ गोल गरिसकेका छन् । उनले एकै सिजन सिटीका लागि सबैभन्दा धेरै गोल गर्ने ९४ वर्ष पुरानो कीर्तिमान पनि तोडेका छन् । यसअघि यो रेकर्ड टमी जोन्सनको नाममा थियो ।