
चिनियाँ राष्ट्रपति सी जिनपिङ र जापानका प्रधानमन्त्री किसिदा फुमियोले राष्ट्रपति रामचन्द्र पौडेललाई बधाई सन्देश पठाएका छन् । चिनियाँ राष्ट्रपति सीले नेपाल र चीन हिमाल र नदीले जोडिएका मित्रवत् छिमेकी भएको उल्लेख गर्दै सन् १९५५ मा कूटनीतिक सम्बन्ध स्थापना भएदेखि शान्तिपूर्ण सहअस्तित्व, मित्रता र पारस्परिक सहयोगको राम्रो उदाहरण प्रस्तुत हुँदै आएको लिखित सन्देशमा उल्लेख गरेका छन् ।
चिनियाँ राष्ट्रपति सीले नेपाल–चीन सम्बन्धको विकासलाई आफूले निकै महत्व दिएको बताएका छन् । उनले दुई देशबीचको परम्परागत मित्रतालाई अगाडि बढाउन, आपसी राजनीतिक विश्वासलाई सुदृढ गर्न, उच्च गुणस्तरको बेल्ट एन्ड रोड सहकार्यलाई अगाडि बढाउन र विस्तार गर्न राष्ट्रपति पौडेलसँग मिलेर काम गर्न इच्छुक रहेको बताएका छन् । सीले पठाएको चिठीमा विकास र समृद्धिका लागि चिरस्थायी मित्रतासहितको सहयोगको रणनीतिक साझेदारीलाई निरन्तर प्रवर्द्धन गर्न जनस्तरबीच सांस्कृतिक आदानप्रदानमा पनि जोड दिएका छन् ।
जापानका प्रधानमन्त्री किसिदा फुमियोले राष्ट्रपति पौडेललाई बधाई दिँदै नेपालसँग मिलेर काम गर्ने तत्परता व्यक्त गरेका छन् । राष्ट्रपति पौडेलको नेतृत्वमा दुई देशबीचको द्विपक्षीय सम्बन्ध र मित्रता प्रवर्द्धन हुने भन्दै जापानले सहकार्य गर्ने वचनबद्धता जनाएको छ । पौडेलको नेतृत्वमा नेपालमा सामाजिक र आर्थिक विकासमा प्रगति हुने पनि उनले विश्वास व्यक्त गरेका छन् ।