मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ फाल्गुण ३० मंगलबार
  • Tuesday, 07 January, 2025
सोमबार जिल्ला प्रशासन कार्यालय सिराहा पुगेका आयोगका प्रतिनिधिसँग छलफल गर्दै दलित अधिकारकर्मी । जिल्ला प्रहरी कार्यालय र जिल्ला सरकारी वकिलको कार्यालयले जाहेरी लिन नमानेपछि दलित अधिकारकर्मी आयोगका प्रतिनिधि भेट्न जिल्ला प्रशासन कार्यालय पुगेका थिए ।
२o७९ फाल्गुण ३० मंगलबार o६:२६:oo
Read Time : > 1 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

भगवानपुर घटनाको छानबिन गर्न समिति गठन : मानव अधिकार आयोगले सिडिओ र जिल्ला प्रहरी प्रमुखसँग गर्‍यो सोधपुछ

प्रहरीले उजुरी दर्ता गरेन

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o७९ फाल्गुण ३० मंगलबार o६:२६:oo

मृत्यु संस्कारको भोजमा जातीय क्लस्टरअनुसार प्लेकार्ड र ब्यानर राखेर जातीय छुवाछुत गरिएको घटनामा संलग्नलाई कारबाही गर्न चौतर्फी दबाब परेपछि जिल्ला प्रशासन कार्यालय सिराहाले सोमबार तीन सदस्यीय छानबिन समिति गठन गरेको छ । 

एमालेका सिराहा जिल्ला सचिवसमेत रहेका भगवानपुर गाउँपालिका अध्यक्ष उग्रनारायण यादवकी आमाको १३औँ पुन्यतिथिमा २२ फागुनमा आयोजित भोजमा जातीय छुवाछुत गरिएको घटनाको छानबिन गर्न जिल्ला प्रशासन कार्यालय सिराहाको नेतृत्वमा जिल्ला प्रहरी कार्यालय र राष्ट्रिय अनुसन्धान कार्यालयका प्रतिनिधि रहेको छानबिन समिति गठन गरिएको हो ।

समितिले आगामी १ चैतभित्र घटनाको सत्यतथ्य छानबिन गरी प्रतिवेदन बुझाएपछि थप प्रक्रिया अगाडि बढाइने प्रमुख जिल्ला अधिकारी भोजराज खतिवडाले जानकारी दिए । समितिले घटनासँग जोडिएका सम्पूर्ण पक्षसँग भेटघाट, कुराकानीसहित स्थलगत अध्ययन, अनुसन्धान गरी प्रतिवेदन बुझाउन दिइएको समयसीमाभित्र नभ्याइए एक–दुई दिन थप गरेर भए पनि सत्यतथ्य यकिन गरी थप प्रक्रिया अगाडि बढाइने उनको भनाइ छ ।

राष्ट्रिय मानव अधिकार आयोगको जनकपुरस्थित मधेस प्रदेश कार्यालयको टोलीले भगवानपुर घटनाको विषयमा अनुसन्धानको क्रममा सोमबार जिल्ला सदरमुकाम सिराहामा सरोकारवालाहरूसँग कुराकानीसहित प्रमुख जिल्ला अधिकारी र जिल्ला प्रहरी प्रमुखसँग सोधपुछ गरेको छ । 

प्रहरीले उजुरी दर्ता गरेन
संयुक्त दलित मोर्चाले सोमबार मृत्यु संस्कारको भोजमा दलित समुदायलाई छुवाछुत गरी भोज खुवाइएको भन्दै जिल्ला प्रहरी कार्यालयमा लिएर गएको उजुरी प्रहरीले फिर्ता गरिदिएको छ । घटनामा संलग्न व्यक्तिहरूलाई कानुनी कारबाहीका लागि जिल्ला प्रहरी प्रमुखसमक्ष दिइएको जाहेर दरखास्त फिर्ता गरेपछि सरकारी वकिल कार्यालय पुगेको, तर त्यहाँ पनि दर्ता नभएपछि आयोगको टोलीसँग छलफल गरी फर्किएको मोर्चाका संयोजक शिवकुमार महराले बताए । 

प्रहरी उपरीक्षक लिम्बूले भोजमा सामेल भई छुवाछुत गरिएका पीडितहरू प्रमाणसहित जाहेरी ल्याए मात्र दर्ता गर्ने, जिल्लाका अन्य ठाउँका दलित अगुवाले ल्याएको जाहेरी दर्ता हुँदैन भनी सम्झाएर फिर्ता पठाएको बताए । ‘राष्ट्रिय मानव अधिकार आयोग, राष्ट्रिय दलित आयोगले अनुसन्धान गर्दै छ, स्थानीय प्रशासनले पनि अनुसन्धान थालेको छ,’ उनले भने, ‘प्रतिवेदन आएपछि सत्यतथ्य यकिन हुने र भोजमा अपमानित भएका भनिएका पीडित आए जाहेरी दर्ता गर्छौँ ।’