Skip This
एक कदम दूर
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ फाल्गुण २९ सोमबार
  • Saturday, 27 July, 2024
दीपक अधिकारी काठमाडौं
२o७९ फाल्गुण २९ सोमबार १४:१५:oo
Read Time : > 4 मिनेट
Read Time : > 4 मिनेट
दीपक अधिकारी, काठमाडौं
नयाँ पत्रिका
२o७९ फाल्गुण २९ सोमबार १४:१५:oo

नेपाली क्रिकेटमा अहिले जे भइरहेको छ, त्यो कुनै चमत्कारभन्दा कम छैन। उमेर समूहमा नेपालले पटकपटक यस्ता चमत्कार गरेको भान हुन्थ्यो। तर, सिनियर टिमबाट यस्तो चामत्कारिक परिणाम पहिलोपटक देखिँदै छ। आइसिसी पुरुष विश्वकप लिग- २ का पछिल्ला तीन सिरिजका ११ खेलमा नेपालले १० मा जित हासिल गरेको छ। यही प्रदर्शनको बलमा नेपाल लिगको चौथो स्थानमा उक्लिएको छ।अन्तिम खेलमा युएईलाई पन्छाउन सके नेपाल लिगको तेस्रो स्थानमा उक्लिनेछ । यो त्यो सफलता हो, जसले नेपाललाई आगामी वर्ष आयोजना हुने आइसिसी पुरुष विश्वकप पुग्ने ढोकासम्म लैजानेछ । 

आइसिसी पुरुष विश्वकप आगामी वर्ष भारतमा आयोजना हुँदैछ। सो विश्वकपमा १० राष्ट्र सहभागी हुनेछन्। ती देशहरूको छनोट ३२ राष्ट्रहरूको बीचबाट भइरहेको छ। ३२ राष्ट्रलाई तीन लिगमा विभाजन गरिएको छ। तिनलाई सुपर लिग, लिग २ र च्यालेन्ज लिग नाम दिइएको छ। सुपर लिगमा रहेका १३ राष्ट्रमध्ये सात राष्ट्र विश्वकपमका लागि छनोट भइसकेका छन्। लिग २ मा सात र च्यालेन्ज लिगमा १२ राष्ट्रलाई बाँडेर छनोट चलिरहेको छ। लिगको नतिजाको आधारमा सीधै छनोट वा प्लेअफबाट पनि पुनः त्यो प्रक्रियामा सहभागी हुन सक्छन्। 

यिनै प्रतियोगिताहरूमा गरिने प्रदर्शनका आधारमा राष्ट्रहरूको पदोन्नति वा रेलिगेशन पनि निर्धारण हुन्छ। आइसिसीले यस प्रकारको छनोट प्रक्रिया पहिलोपटक प्रयोगमा ल्याएको हो। आगामी विश्वकपका लागि सात राष्ट्र चयन भइसकेका छन्। आयोजक राष्ट्र भएकाले भारत सीधै छानिएको छ। सुपरलिगबाट अफगानिस्तान, अष्ट्रेलिया, बंगलादेश, इंग्ल्यान्ड, भारत, पाकिस्तान, र न्युजिल्यान्ड छनोट भइसकेका छन्। 

अब आगामी १८ जुनदेखि ९ जुलाइसम्म जिम्वाब्वेमा आयोजना हुने ग्लोबल क्वालिफायरबाट दुई राष्ट्र चयन हुनेछन्। यो ग्लोबल क्वालिफायरमा सुपर लिगका पुछारका पाँच राष्ट्र, लिग २ का शीर्ष तीन राष्ट्र तथा लिग २ का पुछारका चार राष्ट्र र च्यालेन्ज लिगका शीर्ष दुई राष्ट्रबीचको प्लेअफबाट छानिएका दुई गरी दश राष्ट्र प्रतिस्पर्धी हुन्छ। यी दशमध्ये उत्कृष्ट दुई राष्ट्र विश्वकपका लागि छानिनेछन्। 

जारी सिरिजको अन्तिम म्याचले नेपाललाई जिम्बावेमा आयोजना हुने सो छनोट प्रतियोगितामा पुर्‍याउनेछ । त्यसमा उत्कृष्ट प्रदर्शन गर्न सके विश्वकपको ढोका खुल्नेछ र नेपालले वर्षौँदेखि देखेको सपना साकार हुनेछ । 

पछिल्ला तीन सिरिजअघिसम्म नेपाल लिग– २ मा संघर्ष गरिरहेको थियो । लिगका २४ म्याच खेलिसक्दा नेपालसँग जम्मा १८ अंक थियो र नेपाल पुछारबाट दोस्रोमा थियो । गत भदौमा खेलिएको सिरिज पनि सोचेजस्तो राम्रो हुन सकेको थिएन । नेपालसामु बाँकी १२ खेलमा राम्रो नतिजा ल्याई एकदिवसीय मान्यता कायम राख्नु सबैभन्दा ठूलो चुनौती थियो । र, त्यो चुनौती पार लगाउन निकै मुस्किल देखिन्थ्यो । किनभने, बाँकी १२ मध्ये नेपालले लिग– २ को शीर्ष स्थानमा रहेको स्कटल्यान्ड र तेस्रो स्थानमा रहेको नामिबियासँग दुई–दुई गरी चार म्याच खेल्न बाँकी थियो । युएई र पपुवा न्युगिनीसँग चार–चार गरी आठ खेल बाँकी थियो । यी चारमध्ये तीन राष्ट्र स्कटल्यान्ड, नामिबिया र युएईबाट जित निकाल्नु निकै मुस्किल थियो । 

अर्कोतर्फ, पारस खड्काले क्रिकेटबाट सन्न्यास लिएपछि एकपछि अर्को गर्दै नेपाली क्रिकेटमा समस्या देखियो । नेपाल क्रिकेट संघ (क्यान) का पदाधिकारी र खेलाडीबीचको मनमुटाव छताछुल्ल भयो । प्रशिक्षकको अन्योल, पटकपटक कप्तान परिवर्तन, टिमभित्र देखिएको गुटबन्दीजस्ता कारणले खेलाडी र समर्थक निराश देखिन्थे । विश्वस्तरीय स्पिनर सन्दीप लामिछानेले नेपाली राष्ट्रिय टिमको कप्तानी सम्हालेपछि पनि परिणाम सोचेजस्तो आउन सकेन । 

सन्दीप लामिछाने नाबालिग बलात्कारजस्तो जघन्य अपराधमा पक्राउ परेपछि नेपाली क्रिकेटको भविष्यमाथि अनेक प्रश्न उठे । किनभने, सन्दीपपछि टिमको कमान रोहितकुमार पौडेलको हातमा आएको थियो । उमेर र राष्ट्रिय टिमको अनुभवमा टिमका अरू थुप्रै खेलाडीभन्दा पछि रहेका रोहितले नेपालका सामु रहेको ओडिआई मान्यता कायम राख्ने चुनौती पार लगाउने आशा धेरै कममा थियो । तर, ती तमाम आशंकाहरू अहिले गलत साबित भइसकेका छन् । 

पछिल्ला अविश्वसनीय नतिजा हेर्दा लाग्छ, नेपाली क्रिकेटका स्वर्णीम दिन अब टाढा छैन । नेपाली क्रिकेट यति सन्तुलित कहिल्यै थिएन । यति दृढ र संकल्पित कहिल्यै देखिएको थिएन । 

प्रशिक्षकमा मोन्टी देसाईको आगमनले धेरै सवालको जवाफ खोजिदिएको छ । असम्भव लागेका लक्ष्य पूरा भएका छन्, केही पूरा हुने सँघारमा छन् । राष्ट्रिय टिमका सदस्यहरूमा ठूलो बदलाव देखिएको छैन । एकाधबाहेक अधिकांश प्लेयर तिनै छन् । तर, तीन सिरिजअघि र अहिले यी खेलाडीको प्रदर्शनमा आकाश जमिनको अन्तर देखिएको छ । रन हान्न मात्र होइन, पछ्याउन पनि, विकेट लिन मात्र होइन, ठूलो स्कोर खडा गर्न पनि नेपाली क्रिकेटर सक्षम देखिएका छन् । ओपनिङ जोडी टिके टिम केही परसम्म जाने र सुरुवातमै ढले केही ओभरभित्रै अलआउट हुने इतिहासजस्तो बनेको छ । टिममा हरेकले आ–आफ्नो भूमिका निभाइरहेका छन् । हरेकको ब्याटबाट रन बनिरहेको छ । 

ओपनिङमा आसिफ शेखले आफूलाई पटकपटक अब्बल साबित गरेका छन् । अर्का ओपनर कुशल भुर्तेलले पावर प्लेको सदुपयोग गर्न मात्र होइन, आफ्नो इनिङलाई माइलस्टोनसम्म पुर्‍याउन सक्ने क्षमता देखाइसकेका छन् । मध्यक्रममा ज्ञानेन्द्रले मात्र काँध थाम्नुपर्ने अवस्था अन्त्य भएको छ । ज्ञानेन्द्रको ब्याटबाट रन नबन्दा पनि भीम सार्की, कुशल मल्ल, दीपेन्द्रसिंह ऐरी, गल्सन झा, आरिफ शेखले टिमलाई संकटबाट मुक्त गर्ने सामर्थ्य देखाएका छन् । 

सन्दीप लामिछाने, करण केसी, सन्दीप लामिछानेसमेत आवश्यक पर्दा टिकेर साझेदारी गरिरहेका छन् र तीव्र गतिमा रन बनाउनुपर्दा ठूला सट खेलिरहेका छन् । सबभन्दा सुखद कुरा त, कप्तानको भूमिकामा रहेका रोहितले पटकपटक टिमलाई ब्याटिङबाट सम्हालेका छन् । टस जितेपछिको निर्णय र बलरहरूको प्रयोगमा अब्बल साबित गरेर आफूलाई कुशल कप्तानको श्रेणीमा उभ्याएका छन् । 

यसैगरी, बलिङमा पनि टिमका सबैले उत्तिकै योगदान दिएका छन् । वर्ल्डक्लास स्पिनर सन्दीप जबर्जस्त फर्ममा छन् । उनी व्यक्तिगत रूपमा सबैभन्दा चाँडो एक सय विकेट लिने बलरको कीर्तिमान बनाउने सँघारमा छन् । ४० खेलमा ९८ विकेट लिइसकेका सन्दीपले युएईसँगको जारी सिरिजको अन्तिम खेलमा दुई विकेट लिए उनले यो कीर्तिमान आफ्नो नाममा लेखाउनेछन् । अफगानिस्तानका रसिद खानले ४४ म्याचबाट सर्वाधिक सय विकेटको कीर्तिमान बनाएका थिए । सन्दीपसामु ४१ म्याचमै रसिदलाई उछिन्ने मौका छ । 

ललितनारायण राजवंशीका रूपमा नेपालले अर्थोडक्स पाएको छ । सोमपाल कामी र करण केसीले मात्र होइन, विपक्षी ब्याटरलाई धराशायी बनाउने भूमिका कुशल मल्ल, दीपेन्द्रसिंह ऐरीले पनि पटकपटक निभाएका छन् । 

फिल्डिङमा पनि नेपाली टिमले लोभलाग्दो प्रदर्शन गरिरहेको छ । दीपेन्द्र र भीमले फिल्डिङमा ज्यान भरेका छन् । भीमलाई नेपाली टिमका जोन्टी रोट भन्न थालिएको छ । फिल्डमा दीपेन्द्रका मुभ निकै लोभलाग्दो देखिएको छ । यसरी तीनै क्षेत्रमा यतिवेला नेपाली टिमले आफूलाई अलग्गै स्तरमा प्रमाणित गरिरहेको छ । 

स्कटल्यान्ड र नामिबिया सम्मिलित सिरिज क्लिनस्विप गरेर नेपालले लिग २ मा त्यस्तो नतिजा ल्याउने पहिलो टिमका रूपमा आफूलाई उभ्यायो । नेपालपछि युएईमा भएको त्रिदेशीय सिरिजमा नेपालले युएईसँग दुई सय सात रनको सामान्य लक्ष्य पछ्याउन नसक्दा त्यो रेकर्ड दोहोरिन सकेन । यसपटक पुनः नेपालमै जारी सिरिजमा क्लिनस्विप गर्ने मौका नेपालसामु छ । नेपाल यसका लागि समर्थ पनि देखिएको छ । 

यस्तो लाग्छ, नेपाल टेस्ट मान्यता प्राप्त राष्ट्रहरूका चुनौती पनि सामना गर्न तयार भइसकेको छ । नेपाली क्रिकेटको यो अविश्वसनीय नतिजा हेर्दा लाग्छ, नेपाली क्रिकेटमा यस्ता स्वर्णीम दिनहरू यसअघि कहिल्यै आएका थिएनन् । नेपाली क्रिकेट यति सन्तुलित कहिल्यै देखिएको थिएन । यति दृढ र संकल्पित कहिल्यै पाइएको थिएन । केही महिनाअघिसम्म नेपाली क्रिकेट र क्रिकेटरमाथि उठ्ने एक–एक सवालको जवाफ मोन्टी देसाईको आगमनसँगै हरेक खेलाडीमा भरिएको आत्मविश्वासले दिइरहेको छ, पछिल्ला तीन सिरिजका नतिजाले दिइरहेको छ । लक्ष्य, अब एक कदम दूर छ ।