१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २४ सोमबार
  • Monday, 06 May, 2024
२o८१ बैशाख २४ सोमबार o७:४३:oo
Read Time : > 3 मिनेट
ad
ad
खेलकुद प्रिन्ट संस्करण

युएईको हारले नेपाललाई फाइदा

पपुवा न्युगिनीसँग ५६ रनले पराजित भएको युएईले बाँकी सबै खेल जित्दासमेत तेस्रो स्थानमा रहेको नामिबियासँग अंक बराबर गर्न नसक्ने

Read Time : > 3 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २४ सोमबार o७:४३:oo

आइसिसी पुरुष विश्वकप लिग–२ मा नेपाल २४ खेलसम्म पनि शीर्ष पाँच स्थानभित्र पर्ने सम्भावना निकै कम थियो । विश्वकप लिग–२ को सिरिजकै उत्तराद्र्धसम्म नेपाल १८ अंकका साथ पाँचौँ स्थानमा थियो । त्यसवेलासम्म युएई २९ अंकका साथ पाँचौँ स्थानमा बलियो देखिन्थ्यो । युएईले नेपालमाथि स्पष्ट ११ अंकको अग्रता लिएको थियो । विश्वकप लिग–२ अन्तर्गत अमेरिका र स्कटल्यान्डको भ्रमणमा दयनीय प्रदर्शन गरेको नेपालले नौ खेलपछि उल्टै तीन अंकको अग्रता लिने कसैले पनि सोचेकै थिएन । अब शीर्ष तीनमा नेपाल र नामिबियामध्ये एक पुग्नेछ । 

लिग–२ अन्तर्गत शुक्रबार पपुवा न्युगिनीसँग ५६ रनले पराजित भएपछि युएईको एकदिवसीय मान्यता धरापमा परेको छ । पपुवा न्युगिनीसँग लगातार तेस्रो खेलमा हार व्यहोरेको युएईको तेस्रो स्थानमा पुग्ने सबै बाटो बन्द भएको छ । गणितीय आधारमा समेत युएईको त्यो सम्भावना छैन । युएईले ३३ खेलबाट ३१ अंक बटुलेको छ । युएईले बाँकी तीन खेल जित्दा पनि तेस्रो स्थानमा रहेको नामिबियालाई उछिन्न सक्नेछैन । 

नामिबियाको ३९ अंक छ । युएईले आउने तीन खेलमा ६ अंक बटुल्दा पनि नामिबियासँग अंक बराबरी गर्न सक्दैन । अबको लक्ष्य भनेको युएईले केवल आफ्नो एकदिवसीय मान्यता रक्षा गर्न मात्र हो । एकाएक एकदिवसीय मान्यतासमेत जोगाउन मुस्किल परेको युएईका लागि आगामी दिनको प्रतिस्पर्धा त्यति सहज छैन । 

युएईको नेपालसँग दुई र पपुवा न्युगिनीसँग एक खेल खेल्न बाँकी छ । उत्कृष्ट फर्ममा रहेको नेपाललाई घरेलु भूमिमा हराउन मुस्किल छ । यद्यपि, युएईले आफ्नै भूमिमा दुई साताअघि नेपालमाथि जित निकालेको थियो । युएईले एकदिवसीय मान्यता रक्षा गर्न कम्तीमा दुई खेल जित्नुपर्छ । तर, यतिले पर्याप्त हुनेछैन । तीन खेल जित्दा युएईले अमेरिकासँग समान ३५ अंक बराबरी गर्नेछ । रनरेटका आधारमा युएई र अमेरिकाबीच एकदिवसीय प्रतिरक्षाको लडाइँ हुनेछ ।

पाँचौँ स्थानमा रनरेटसमेत बलियो बनाउन युएईले तीन खेलमा राम्रो नतिजा निकाल्नुपर्छ । सामान्य जितले युएईको एकदिवसीय मान्यता रक्षा हुँदै छ । पछिल्ला आठ खेलमा युएईको कमजोर ब्याटिङ प्रदर्शन हुनु नै कमजोर अवस्थामा पुगेको कप्तान मोहमुद वासिम मान्छन् । ‘हाम्रो मध्यक्रम चलिरहेको छैन, बलरले राम्रो गरिरहे पनि ब्याटिङमै समस्या छ,’ वासिमले भनेका छन्, ‘युएईले पछिल्ला समयमा खराब नतिजा व्यहोर्नुपछाडि यही मात्र एक कारण हो ।’ 

 एक जितको पर्खाइमा नेपाल
एक महिनाअघि मोन्टी देसाई नेपाली राष्ट्रिय क्रिकेट टोलीका प्रमुख प्रशिक्षक बने । मोन्टीको आगमनसँगै नेपाली टोलीमा एकाएक परिवर्तन आयो । वास्तवमै यतिवेला नेपाली टोली निकै बलियो बनिसक्यो । अहिले नेपाली खेलाडीलाई जितको बानी लागेको छ । रोहितकुमार पौडेलको कप्तानीमा नेपालले लगातार पाँच खेल जित्यो । पछिल्लो नौमध्ये आठ खेलबाट १६ अंक बटुलेको नेपाल अब आइसिसी एकदिवसीय विश्वकप छनोटको नजिक पुगेको छ । 

तीन खेलमा शतप्रतिशत जित निकाल्दा नेपालले नामिबियालाई तेस्रो स्थानबाट विस्थापित गर्नेछ । नेपालको एक हारले नामिबियाको तेस्रो स्थान सुरक्षित रहनेछ । 

नेपालको अबको पहिलो लक्ष्य नै एकदिवसीय मान्यता चार वर्षका लागि रक्षा गर्नु हो । त्यसपछि मात्र शीर्ष तीनमा रही अर्को वर्ष जिम्बावेमा हुने एकदिवसीय छनोट खेलमा स्थान बनाउनु हो । चौथो स्थानमा रहेको अमेरिकाले सबै ३६ खेल खेल्दै ३५ अंक बनाएको छ । आइतबार नेपालले युएईलाई हराउँदा नेपालले सन् २०२७ सम्मका लागि एकदिवसीय मान्यता रक्षा गर्नेछ ।

नेपालको जितले अमेरिका पाँचौँ स्थानमा पुग्नेछ । त्यसवेला अमेरिका र युएईबीच चार वर्ष कसले एकदिवसीय मान्यता पाउने भन्ने पक्षमा लडाइँ चल्नेछ । आफ्नो ३४औँ खेल गुमाउँदा नेपालको शीर्ष तीनको सम्भावना समाप्त हुनेछ । यस्तो अवस्थामा नामिबिया ३९ अंकका साथ एकदिवसीय छनोट खेलमा प्रवेश गर्नेछ । लगातार तीन जित निकाल्दा नेपालको ४० अंक हुनेछ । नेपाल शीर्ष तीनभित्र रही विश्वकप छनोटमा पुग्नेछ । यसै कारण पनि नेपालको नजरमा आउँदा तीन खेल महत्वपूर्ण हुनेछन् । 

विश्वकप लिग–२ को शीर्ष पाँच स्थानमा रहने राष्ट्रहरूले आ–आफ्ना एकदिवसीय मान्यता रक्षा गर्नेछन् । यद्यपि, एकदिवसीय मान्यता गुमाउने राष्ट्रहरूले अर्को एक अवसर प्राप्त गर्नेछन् । त्यो हो, प्ले अफ क्वालिफायर । प्लेअफ क्वालिफायर खेलमा शीर्ष चारभित्र रहने सके उनीहरूको एकदिवसीय मान्यता जोगिनेछ । अहिले प्लेअफ क्वालिफायरमा क्यानडा र जर्सी रहेका छन् । 

 युएई एक सय ९० रनमा अलआउट
विश्वकप लिग–२ अन्तर्गत एक सय ३६औँ खेलमा युएई पपुवा न्युगिनीसँग ५६ रनले पराजित भएको छ । शुक्रबार त्रिभुवन अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा पपुवा न्युगिनीले ५० ओभरमा नौ विकेट गुमाएर दुई सय ४६ रनको चुनौतीपूर्ण योगफल खडा गरेको थियो । प्रत्युत्तरमा युएई ४२.२ ओभरमा एक सय ९० रनमा समेटियो । पपुवा न्युगिनीले लगातार तेस्रो खेलमा युएईविरुद्ध ब्याटिङ र बलिङमा उत्कृष्ट प्रदर्शन गरिरहेको छ । 

लगातार तीन खेलमा युएईलाई निराश पार्ने क्रममा युएईका शीर्ष क्रमका ब्याट्सम्यानले अर्धशतकीय इनिङ्स खेले । ओपनर किपिन डोरिगा र हिरी हिरीले पहिलो विकेटका लागि १०.१ ओभरमा ७२ रनको साझेदारी गरे । हिरीले सेसे बाउसँग दोस्रो विकेटका लागि एक सय १२ रनको साझेदारी गर्दैै पपुवा न्युगिनीलाई ३१.३ ओभरमा १८४–२ को बलियो स्थितिमा राखे । मध्यक्रमका ब्याट्सम्यानले गतिलो रन बटुल्न नसक्दा पपुवा न्युगिनीले पछिका सात विकेट ६२ रनमा गुमाएको थियो । किपिनले ४४ बलमा आठ चौका र दुई छक्का प्रहार गरी ५५ रन बनाए । 

हिरीले ८५ बलमा पाँच चौका र चार छक्का प्रहार गरी ७७ रन जोडे । बाउले एक सय ६ बलमा १० चौकाको सहयोगमा सर्वाधिक ८१ रन बनाए । प्रत्युत्तरमा युएईका लागि आर्यन लार्का र कप्तान वासिमले मात्र पपुवा न्युगिनीका बलरविरुद्ध डटेर खेले । वासिमले २७ बलमा ४१ रन तथा लार्काले ७२ बलमा पाँच चौका र एक छक्का प्रहार गरी ५१ रन जोडे । 

 

ad
ad