मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
तेहरानको एक निजी विद्यालयका छात्राहरु । तस्बिर : इपिए
रासस बर्लिन
२०७९ फाल्गुण १९ शुक्रबार १८:३४:००
Read Time : > 1 मिनेट
विश्व डिजिटल संस्करण

जर्मनी र राष्ट्रसंघद्वारा इरानमा विषाक्त पदार्थको छानबिन गर्न माग

Read Time : > 1 मिनेट
रासस, बर्लिन
२०७९ फाल्गुण १९ शुक्रबार १८:३४:००

इरानमा सयौं छात्रालाई विषाक्त पदार्थ खुवाइएको घटनाको पूर्ण र पारदर्शी छानबिन गर्न जर्मनीका उच्च कूटनीतिज्ञले शुक्रबार गरेको आह्वानलाई संयुक्त राष्ट्रसंघले समर्थन गरेको छ ।

इरानी सरकारी अधिकारीका अनुसार विगत तीन महिनामा सयौँको सङ्ख्यामा छात्रामा श्वासप्रश्वाससम्बन्धी समस्या देखिएको छ र यो इस्लामिक गणतन्त्रमा छात्रा विद्यालय बन्द गर्न बाध्य पार्ने प्रयास हुन सक्छ । इरानकी विदेशमन्त्री एनालेना बेयरबोकले ट्वीटरमा लेखेकी छिन्, ‘इरानमा विद्यालयस्तरका छात्राहरूलाई विष खुवाइएको खबरले स्तब्ध बनाएको छ ।’

उत्तरपश्चिमी शहर अर्दाबिलमा सात र राजधानी तेहरानमा तीन गरी कम्तीमा १० वटा बालिका विद्यालयलाई निशाना बनाइएको छ । ‘तेहरान होस् वा अर्दाबिल, केटीहरू निर्धक्क भएर विद्यालय जान पाउनुपर्छ । यो उनीहरूको मानव अधिकार हो,’ बेयरबोकको भनाइ छ । 

उनले सबै घटनाको पूर्ण अनुसन्धान गर्न माग गरेकी छिन् । जेनेभामा शुक्रबार संयुक्त राष्ट्रसङ्घीय मानवअधिकार कार्यालयले पनि विषाक्तताको आरोपप्रति चिन्ता व्यक्त गरेको छ । राष्ट्रसङ्घीय मानवअधिकार कार्यालयकी प्रवक्ता रविना शमदासानीले भनिन्, ‘रहस्यमय परिस्थितिमा केटीहरूलाई जानीजानी निशाना बनाइएको भन्ने आरोपप्रति हामी निकै चिन्तित छौं ।’

‘संयुक्त राष्ट्रसङ्घको अधिकार कार्यालयले घटनाको कुनै पनि अनुसन्धान पारदर्शी होस् र दोषीलाई न्यायको कठघरामा ल्याउन निष्कर्ष सार्वजनिक गरियोस् भन्ने चाहेको छ,’ उनले भनिन् ।

यसैबीच विश्व स्वास्थ्य सङ्गठनकी प्रवक्ता मार्गरेट ह्यारिसले संयुक्त राष्ट्रसङ्घीय स्वास्थ्य निकायले राष्ट्रिय स्वास्थ्य अधिकारीहरू र चिकित्सा पेशेवरहरूसँग घटनाका बारेमा सम्पर्कमा रहेको र थप बुझ्नका लागि अन्य माध्यमहरू प्रयोग गरिरहेको बताएकी छिन्  ।

गत नोभेम्बरमा रहस्यमय विषाक्तताको प्रकोप सुरु भएयता करिब एक हजार २०० विद्यार्थीलाई श्वासप्रश्वासमा समस्या भएपछि अस्पतालमा उपचार गर्नुपर्ने अवस्था आएको एक इरानी सांसदले बुधबार बताएका थिए । विषाक्तताले देशभरि आक्रोशको लहरलाई उक्साएको छ । आलोचकहरूले विद्यालयहरूमा आक्रमणको बढ्दो सङ्ख्या देखिएको सन्दर्भमा आधिकारिक मौनताको निन्दा गरेका छन् ।

गत वर्ष सेप्टेम्बरमा २२ वर्षीया महसा अमिनीको मृत्युपछि सुरु भएको विरोध प्रदर्शनपछि जर्मनी र इरानबीचको सम्बन्ध तनावपूर्ण बनेको छ । तेहरानले प्रदर्शनमाथि गरेको रक्तपातपूर्ण दमन र सरकार विरोधी प्रदर्शनकारीलाई मृत्युदण्ड दिने कार्यको निन्दा गर्ने पश्चिमा आवाजमा बेयरबोक स्वयम् अग्रपङ्क्तिमा छिन् । 

यसैबीच, जर्मन–इरानी नागरिक जमशिद शर्माहदलाई मृत्युदण्डको सजाय सुनाइएपछि बर्लिनले पनि बदलामा यस्तै कदम चालेको छ । तेहरानले बिहीबार दुईजना जर्मन कूटनीतिज्ञलाई देश छोड्न आदेश दिएको थियो ।