मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
शिल्पा कर्ण काठमाडौं
२०७९ फाल्गुण १६ मंगलबार १९:२५:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

पूर्वमन्त्री न्यौपाने र पूर्वराज्यमन्त्री गुरुङ भ्रष्टाचार मुद्दामा दोषी ठहर

Read Time : < 1 मिनेट
शिल्पा कर्ण, काठमाडौं
२०७९ फाल्गुण १६ मंगलबार १९:२५:००

विशेष अदालतले पूर्वमन्त्री बद्रीप्रसाद न्यौपाने र कांग्रेस सांसद तथा पूर्वराज्यमन्त्री टेकबहादुर गुरुङलाई भ्रष्टाचार मुद्दामा दोषी ठहर गरेको छ । 

विशेषले तत्कालीन महिला, बालबालिका तथा समाज कल्याणमन्त्री न्यौपाने र पूर्वराज्यमन्त्री तथा कांग्रेस सांसद टेकबहादुर गुरुङसहित नाै जनामाथि भ्रष्टाचार कसुर स्थापित गर्दै सजाय सुनाउने मिति तोकेको हो । 

२५ फागुनका लागि सजाय निर्धारणको फैसला सुनाउने मिति तोकिएको विशेषका प्रवक्ता दीपेन्द्रनाथ योगीले जानकारी दिए । 

गुरुङ पछिल्लोपटक भएको प्रतिनिधिसभा निर्वाचनमा मनाङबाट निर्वाचित सांसद् हुन् । उनलाई मेला सञ्चालकको हैसियतमा मुद्दा चलाइएको थियो ।

भृकुटीमण्डपस्थित समाज कल्याण परिषद्को ६० रोपनी जग्गा भाडामा लगाउँदा प्रचलित मापदण्ड र प्रक्रियाविपरीत क्रियाकलाप गरी सरकारलाई हानी नोक्सानी पुर्याएको अभियोग उनीहरूमाथि थियो । 

उक्त क्रममा ३१ करोड ५२ लाख रुपैयाँभन्दा बढीको भ्रष्टाचार भएको अख्तियारको अनुसन्धानले देखाएको थियो ।

समाज कल्याण परिषद्का तत्कालीन उपाध्यक्ष प्रमोद मेहता, कोषाध्यक्ष कुञ्जविहारीप्रसाद चौधरी, सदस्यसचिव रवीन्द्रकुमार यादव, सदस्यहरू मोहनराज शर्मा, मदनकुमारलाल कर्ण, हरि न्यौपानेमाथि पनि मुद्दा ठहर भएको छ । 

यसैगरी, सरकारी जग्गामा सञ्चालित फनपार्कका प्रमुख सञ्चालक रवीन्द्र गुरुङलाई पनि सजाय हुने भएको छ ।  अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २१ माघ २०७५ मा मुद्दा दायर गरेकोमा चार वर्षपछि फैसला आएको हो । 

विशेष अदालतका अध्यक्ष श्रीकान्त पौडेल तथा सदस्यद्वय शालिग्राम कोइराला र बलभद्र बाँस्तोेलाको इजलासले यस्तो फैसला गरेको हो । उक्त मुद्दामा ५ जनाले भने सफाइ पाएका छन् । 

प्रवक्ता योगीका अनुसार रत्नबहादुर गाहा, बलबहादुर स्वार, मदनप्रसाद रिजाल, प्रेमसिंह धामी र जगदेव चौधरीले सफाइ पाएका हुन् । गाहा परिषद्का तत्कालीन कोषाध्यक्ष, रिमाल तत्कालीन निर्देशक, स्वार उपनिर्देशक तथा चौधरी र धामी कानुनी सल्लाहकार हुन् ।