१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
द इकोनोमिस्ट
२०७९ फाल्गुण ९ मंगलबार १०:४०:००
Read Time : > 3 मिनेट
विश्व प्रिन्ट संस्करण

क्षमताभन्दा धेरै कैदी र हिंसा : ल्याटिन अमेरिकी जेलका विशेषता

वर्ल्ड प्रिजन ब्रिफका अनुसार ब्राजिल र बोलिभियाका जेलमा क्षमताभन्दा क्रमशः १४७ प्रतिशत र २६४ प्रतिशत बढी कैदीबन्दी छन्

Read Time : > 3 मिनेट
द इकोनोमिस्ट
२०७९ फाल्गुण ९ मंगलबार १०:४०:००

इक्वेडरको राजधानी क्विटोबाट ९० किलोमिटर दक्षिणमा अवस्थित एन्डियन सहर लाताकुंगा पदयात्राका लागि चर्चित छ । तर, बेर्ता गार्सिया यहाँ ज्वालामुखीहरू हेर्न आएकी होइनन् । लाताकुंगामा जेल पनि छ । सन् २०२१ मा यहाँको जेलमा भड्किएको हिंसामा २७ कैदीको ज्यान गएको थियो । यो त्यही जेल हो, जसमा लागुऔषधका गिरोहको नियन्त्रण छ ।

गार्सियाका ७४ वर्षे श्रीमान्लाई हिनामिनाको अभियोगमा दोषी ठहर गर्दै यही जेलमा पठाइयो । उनलाई क्यान्सर छ, तर क्षमताभन्दा बढी कैदी भएका कारण उनले भुइँमै सुत्नुपर्‍यो । यहाँ उनीमाथि निर्घात कुटपिट पनि भयो । तीन महिनापछि गार्सिया उनलाई कम कठोर जेलमा स्थानान्तरण गर्न सफल भइन् । त्यतिन्जेलसम्ममा जेलले उनमा असर देखाइसकेको थियो । ‘उनी धेरै कमजोर र बूढो देखिएका छन्,’ जेलबाट पतिको स्वास्थ्यसम्बन्धी फाइल लिएर फर्किएकी गार्सियाले भनिन् । 

यो महादेशका प्रतिएक लाख जनसंख्यामा ३७६ जना जेलमा छन्, जुन अन्य क्षेत्रको तुलनामा दुई गुणा बढी हो । यो दर संयुक्त राज्य अमेरिकामा अझ उच्च छ, जुन विश्वमै उच्च कैददरमध्ये एक हो । संयुक्त राज्य अमेरिकामा प्रतिएक लाखमा ६२९ व्यक्ति जेलमा छन् । उसलाई अहिले यहाँका अन्य देश पछ्याउँदै छन् । युनिभर्सिटी अफ लन्डनको वल्र्ड प्रिजन ब्रिफमा उल्लेख तथ्यांकअनुसार सन् २००० पछिको दुई दशकमा दक्षिण र मध्यअमेरिकामा कैदीबन्दीको संख्या क्रमशः ७७ र २०० प्रतिशतले वृद्धि भएको छ । 

ल्याटिन अमेरिकी जेलमा कोषको चरम अभाव छ । विश्वकै तेस्रो ठूलो कारागार रहेको ब्राजिलका सरकारी कारागारले सन् २०२१ मा एक कैदीबराबर औसतमा चार हजार अमेरिकी डलर खर्चिएका थिए । यो अमेरिकाको प्रतिकैदी औसत खर्चको दशांश मात्र हो । त्यसमाथि महामारीले स्थितिलाई थप बिगारेको छ । क्षमताभन्दा धेरै कैदी हुँदा जेलको हिंसामा बढोत्तरी भएको छ । सन् २०२० को डिसेम्बरयता इक्वेडरका जेलमा भएका ग्याङवारमा यहाँका चार सयभन्दा धेरै कैदीको मृत्यु भइसकेको छ । गत वर्षको जुन महिनामा कोलम्बियाको एउटा जेलमा भएको दंगामा ५३ कैदी मारिएका थिए ।

अपराध दर उच्च भएको यस क्षेत्रका नागरिक लामो समयदेखि सन्दिग्ध अपराधीप्रति निर्मम व्यवहार प्रदर्शन गर्ने नेताको पक्षमा छन् । यसको सबैभन्दा चरम उदाहरण एल साल्भाडोर भएको छ । ग्याङ (आपराधिक समूह)सँग जोडिएका हत्यामा वृद्धि भएपछि सन् २०२२ को मार्चमा राष्ट्रपति नाइब बुकेलेले साल्भाडोरमा आपत्कालै घोषणा गरे । अहिले करिब एक लाख अर्थात् दुई प्रतिशत वयस्क एलसाल्भाडोरियन जेलमा छन् । त्यसपछि यहाँ हत्यादर आधाले घटेको छ र बुकेलेको अनुमोदन दर यो क्षेत्रकै उच्च ९० प्रतिशतमा पुगेको छ ।

ल्याटिन अमेरिकी जेलमा कोषको चरम अभाव छ । विश्वकै तेस्रो ठूलो कारागार रहेको ब्राजिलका सरकारी कारागारले सन् २०२१ मा एक कैदीबराबर औसतमा चार हजार अमेरिकी डलर खर्चिएका थिए । यो अमेरिकाको प्रतिकैदी औसत खर्चको दशांश मात्र हो ।

तर समस्या के भने ल्याटिन अमेरिकी कारागारमा कैदीलाई सुधारको अवसर निकै कम उपलब्ध छ । आधाभन्दा कम कैदीको मात्रै काम वा शिक्षामा पहुँच छ । उपलब्ध कार्यक्रम पनि अनियमित र अल्पकालीन हुने गरेका छन् । सन् १९९० को दशकमा कैदीबन्दीको संख्या बढ्न थालेसँगै जेलहरूमा क्षमताभन्दा बढी कैदी थुप्रिन थालेका हुन् । यसबाट कारागारलाई राज्य प्रायोजित पुनः शिक्षाको थलोका रूपमा परिकल्पना गर्ने सुधारवादीहरू निराश भएको साओपाउलो विश्वविद्यालयका जियान सिल्भेस्ट्रे बताउँछन् । उनी अब त ‘झ्यालखाना भनेका अवाञ्छित तत्वहरू राख्ने ठाउँ मात्र हो’ जस्तो लाग्न थालेको बताउँछन् ।

केही देशले मात्रै अपराधमा पुनरावृत्तिको रेकर्ड राख्छन् । तर, मौजुदा तथ्यांक पनि निराशाजनक छन् । गत वर्ष प्रकाशित एक १४ वर्षे अध्ययनअनुसार लागुऔषध, हत्याहिंसा एवं चोरीमा दोषी प्रमाणित भएर जेल पुगेका ब्राजिलका नौ लाखभन्दा धेरै कैदीबन्दीमध्ये पाँच पूर्वकैदीमा एकजना जेलबाट छुटेको वर्ष दिनभित्रै र पाँच वर्षभित्र ४० प्रतिशत पूर्वकैदी अपराधमा संलग्न भएर पुनः जेल फर्किने गर्छन् । अमेरिकाका ४५ प्रतिशत पूर्वकैदी नयाँ अपराध वा प्यारोलको सर्त उल्लंघन गरेको कारण पाँच वर्षभित्रै पुनः जेल फर्किन्छन् ।

भिडभाडका कारण अधिकांश कारागार केवल खोर भएका छन् । वर्ल्ड प्रिजन ब्रिफको आकलनअनुसार ब्राजिल र बोलिभियाका जेल क्रमशः १४७ प्रतिशत र २६४ प्रतिशत क्षमतामा सञ्चालित छन् । कैदीबन्दी उपचार नपाएको गुनासो गर्छन् । विश्व स्वास्थ्य संगठनका अनुसार साल्भाडोरका जेलमा रहेका कैदीहरूलाई क्षयरोगको सम्भावना राष्ट्रिय औसतभन्दा ९९ गुणा बढी छ । खचाखच भएका कारण जेलमा अक्सर हिंंसा हुने गरेको छ ।

केही जेलमा सरकारी अधिकारीले कैदीबन्दीसँग मिलेर काम गर्छन् । बाँकी जेलमा कर्मचारीले बाहिरी परिधिमा मात्रै पहरा दिन्छन्, जेल पूरै कैदीबन्दीले चलाउँछन् । यसको चरम रूप भेनेजुयलाका प्रान्स (अपराधिक समुहका मुखिया वा ठूला गिरोह) वा किंगपिन्स (क्राइमलर्ड) हुन् । भेनेजुयलाका ४६ प्रतिशत जेल यिनैको नियन्त्रणमा चल्छन् ।

११ प्रतिशत जेल मात्रै सरकारी अधिकारीको नियन्त्रणमा छ । बाँकीमा मिश्रित नियन्त्रण रहेको भेनुलुयलियन प्रिजन अब्जरभेटरी बताउँछ । भेनेजुयलाकी जेलमन्त्री आइरिस भरेलाले राज्य एक्लैले जेलमा हुने हिंसा नियन्त्रण गर्न नसक्ने भनेर सन् २०१० को दशकमा लिएको नीतिको नतिजा हो यो । उनले जेलको जिम्मेवारी डिस्कोथेक, स्विमिङ पुल तथा चिडियाखाना निर्माणमा संलग्न प्रानेस (गिरोह)लाई सुम्पिइन् ।

इक्वेडरमा ६२ कैदीबराबर एक चौकीदार छन् । अमेरिकामा यो अनुपात ४–१४ कैदीबराबर एक चौकीदार रहेको छ । इक्वेडर सरकारका अनुसार एकतिहाइभन्दा बढी कैदी एउटै आपराधिक संगठनका छन् । कैदीको संख्या अधिक तर भुक्तानी कम भएका कारण यी चौकीदार अक्सर आफूले नियन्त्रण गर्नुपर्ने गिरोहमा सामेल हुन पुग्ने गरेका छन् । पछिल्ला वर्षमा इक्वेडर जेलमा रहेका आपराधिक समूहका नाइकेहरूले मच्चाउने हत्या–शृंखलाको चपेटा खेपिरहेको छ । सन् २०२२ को पहिलो आठ महिनाको हत्याको संख्या अघिल्लो वर्षको सोही अवधिको तुलनामा दोब्बर थियो । अनुसन्धाता रेनाटो रिभेरा हत्या गरेर शव पुलमा झुन्ड्याउने यो समूहको जन्म जेलमै भएकोे बताउँछन् ।

परिवर्तनको प्रयास 
केही देश यसमा परिवर्तनको प्रयास गरिरहेका छन् । वल्र्ड प्रिजन ब्रिफका अनुसार २५ ल्याटिन अमेरिकी देशमा ६ देशले सन् २०१८ यता कैदीको संख्या घटाएका छन् । इक्वेडरमा राष्ट्रपति गुइलेर्माे लासोले गतवर्ष पाँच हजार कैदीलाई मुक्त गर्ने र थप चौकीदार हायर गर्ने योजना सार्वजनिक गरे । उनको योजनाबाट केही कैदी नाखुस भए । नोभेम्बरमा गिरोहका नाइकेहरूलाई उच्च सुरक्षायुक्त जेलमा सार्दा इक्वेडरको दोस्रो ठूलो सहर गुयायाकुलका आपराधिक समूहले पेट्रोल स्टेसन, प्रहरी चौकी तथा अस्पतालहरूमा विस्फोटक पदार्थ फ्याँकेका थिए । त्यसमा परेर कम्तीमा पाँच प्रहरी अधिकारी र एक सर्वसाधारणको मृत्यु भयो । यस्तो हिंसाले समाजलाई कम खतरनाक कैदीहरूलाई किन मुक्त गर्न उचित हुन्छ भन्ने बुझाउन थप कठिन बनाउँछ ।