मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७९ फाल्गुण ८ सोमबार ११:४४:००
Read Time : < 1 मिनेट
अर्थ डिजिटल संस्करण

पाँच निर्माण व्यवसायी कम्पनी कालोसूचीमा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७९ फाल्गुण ८ सोमबार ११:४४:००

विभिन्न सार्वजनिक निकायका ठेक्का अलपत्र पार्ने पाँचवटा निर्माण व्यवसायी र आपूर्तिकर्ता कम्पनीलाई सार्वजनिक खरिद अनुगमन कार्यालयले कालोसूचीमा राखेको छ ।

खरिद अनुगमन कार्यालयले सोमबार एक सूचना जारी गर्दै ती कम्पनीलाई कालोसूचीमा राखिएको जनाएको हो । ‘विभिन्न निकायबाट लेखी आएबमोजिम सार्वजनिक खरिद ऐन, २०६३ अनुसार यी निर्माण व्यवसायी र आपूर्तिकर्ता कम्पनीलाई कालोसूचीमा राखिएको छ । कालोसूची अवधिभर यी कम्पनी सार्वजनिक निकायको कुनै पनि खरिद कार्यमा भाग लिन पाउने छैनन्,’ खरिद अनुगमन कार्यालयले सूचनामा भनेको छ ।

खरिद अनुगमन कार्यालयको गत बिहीबारको निर्णयअनुसार भरतपुर– ४ चितवनको इन्जिनियर्स कन्स्ट्रक्सन एन्ड माइन्ट क्राफ्ट प्रालिलाई एक वर्षका लागि कालोसूचीमा राखिएको छ । विकास श्रेष्ठ सञ्चालक रहेको यो कम्पनीले चितवनको इच्छाकामना गाउँपालिकाको ठेक्का अलपत्र पारेको थियो । चितवनको खैरहनी नगरपालिकाको सिफारिसमा जय गढीमाई निर्माण कन्स्ट्रक्सन प्रालिलाई पनि कालोसूचीमा राखिएको छ । सीताराम चौधरी मुख्य सञ्चालक रहेको यो कम्पनीलाई एक वर्षका लागि कालोसूचीमा राखिएको छ ।

करणकुमार मुडभरी सञ्चालक रहेको मुडभरी एन्ड जोशी कन्स्ट्रक्सन प्रालि दुई वर्षका लागि कालोसूचीमा परेको छ । यो कम्पनीले रसुवागढी हाइड्रोपावर कम्पनीसँग भएको ठेक्का सम्झौताअनुसार काम नगरेको खरिद अनुगमन कार्यालयले जनाएको  छ ।

त्यसैगरी, सुदूरपश्चिम विद्यालयअन्तर्गतको दुर्गालक्ष्मी बहुमुखी क्याम्पस कैलालीको काम अलपत्र पार्ने गुण निर्माण सेवालाई पनि कालोसूचीमा राखिएको छ । गुणराज पाठक सञ्चालक रहेको यो कम्पनीलाई एक वर्षका लागि कालोसूचीमा राखिएको हो ।  बारबर्दिया नगरपालिकाको कार्यालय बर्दियाले कल्पना कन्स्ट्रक्सन प्रालिलाई कालोसूचीमा राख्न सिफारिस गरेको उक्त कम्पनीलाई पनि एक वर्षका लागि कालोसूचीमा राखिएको खरिद अनुगमन कार्यालयले जनाएको छ ।